• २ माघ २०८२, शुक्रबार

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने

blog

काठमाडौँ, माघ २ गते ।ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि यही माघ ३ गते काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले युवालाई ट्राफिक जनचेतना फैलाउनका लागि साङ्गीतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा नेपालका चर्चित गायक जोन चाम्लिङ राईको सहभागीता रहने प्रवक्ता सुवेदीले बताउनुभयो ।

ट्राफिक कार्यालयले ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ गत पुस २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह भोलि समापन हुँदैछ । ट्राफिक सप्ताहको समापन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख उपस्थितीमा गरिने कार्यक्रम रहेको प्रवक्ता सुवेदीले बताउनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै एक हप्ताभित्र गरेका कामलाई वृत्तचित्रमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्ष भविश्वर शर्माले युवामा ट्राफिक जनचेतना फैलाउनका लागि यस्ता जनचेतनामुलक कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले उक्त कार्यक्रममा सहभागी जनाउन ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीलाई आग्रह समेत गर्नुभयो । रासस