• १२ पुस २०८१, शुक्रबार

हैटीलाई नेपालबाट नियाल्दा

blog

सैनिक मुख्यालयको जनसम्पर्क निर्देशनालयबाट फोन आयो, ‘म क्याप्टेन बुद्ध थेबे । मिसन भ्रमणमा जाने पत्रकारको टोलीमा तपाईं पनि पर्नुभाछ, कृपया सक्दो छिटो पासपोर्ट सङ्कलन गराइदिनुहोस् न है ।’ मैले सोधेँ– कुन मिसन हो नि ? सायद लेबननका लागि हो कि ? ‘मिसन डेलिगेट्स’मा परिएछ भन्ने भो, खुसी लाग्यो । बरू एक दुईवटा अरू कुरा थिए, जो मिसनको ‘एक्साइटमेन्ट’ लाई ओभरटेक गर्न खोज्ने । 

पहिलो कारण– विश्वविद्यालयमा थेसिसका लागि भाइबाको समय तोकिएको थियो, भाइबाबिना थेसिस अपूरो, थेसिसबिना डिग्री अधुरो । अनि दोस्रो कारण– हाम्रो पहिलो सन्तानका लागि श्रीमती आस्थाले बच्चा जन्माएको भर्खर दुई महिना हुँदै थियो । 

पासपोर्ट बुझाउन सेनाको मुख्यालय गएको थिएँ प्रवक्ता रमीन्द्र क्षत्रीसँग गफगाफ हुँदाहुँदै एक विकल्पको कुरा आयो, ‘अन्यथा नठान्ने भए मे महिनाको पहिलो साता जाने गरी हैटी मिसन रोज्न पनि सक्नुहुन्छ । मलाई त खोजेझैँ भयो, अनि कत्ति पनि विलम्ब नगरी लेबनन छोडी हैटी रोजेँ । यो सन् २०१२ अप्रिलको कुरा हो । नजिकको लेबनन छोडी टाढाको हैटी रोज्नुमा मेरा लागि दुई–तीन हप्तापछिको सजिलो समय त हो नै, त्यसको अलावा अरू दुई सन्दर्भ पनि थिए ।

सन् २०१० जनवरीमा ल्याटिन अमेरिकी देश हैटीमा सात रेक्टर स्केलभन्दा माथिको शक्तिशाली भूकम्प गयो । हैटीको ‘भूकम्प विपत्ति’ खबर विश्वभर फैलियो । बीबीसी, सीएनएन, अलजजिराजस्ता विश्वव्यापी कभरेज गर्न सक्ने टेलिभिजनको भिडियो साभार गरेर भए पनि नेपाली टेलिभिजन च्यानलहरूले समाचार बनाए । त्यतिखेर म एभिन्युज टेलिभिजनमार्फत पत्रकारिता गर्थें । एभिन्युजले पनि हैटी कभरेज आफ्ना हिसाबले गरेको थियो । सामान्य ज्ञानका रूपमा हैटीलाई सुन्नु जान्नु एउटा कुरा थियो, हैटीबारे अलि ज्यादा जानकारी र चासो चाहिँ भूकम्प केन्द्रित समाचारमा घोत्लिँदा भयो ।

ओझेल परिसकेको थियो, २०१० को अक्टोबरमा फेरि एउटा कोक्याउने खबरले ‘हैटी’ बिझायो । भूकम्पले गर्दा झन्डै साढे तीन लाख मानिसले ज्यान गुमाउनु र अरू लाखौँ जनता घरबारविहीन हुनुको पीडामाझ फेरि हैजाको अर्को महामारी थपियो । पीडा यो अर्थमा अझ पेचिलो बन्यो कि हैटीमा हैजा फैलिनुको दोष नेपाली शान्ति सेनामाथि लाग्यो । आरोप लाग्नुको दुःखान्त पनि कस्तो भने त्यही वर्ष जाजरकोटलगायतका जिल्लामा झाडापखालाबाट केही मान्छेको मृत्यु भएको थियो र रोग नियन्त्रणमा अलि विलम्ब पनि ।

अनि शान्ति मिसनका लागि सहभागी हुने नेपाली सेनाको पल्टन प्रत्येक छ–छ महिनामा फेरबदल भइरहने । यही ‘सेन्स’लाई आधार बनाएर पश्चिमा जनस्वास्थ्य विशेषज्ञले एक खालको नजिर पेस गरेछन्, ‘हैटीमा हैजाको विपत् दक्षिण एसियाली भू–भागका मान्छेको दिसाबाट फैलिएको हो ।’

यत्ति भएपछि अरू के चाहियो ? जाजरकोटमा झाडापखाला र हैटीमा हैजा ‘बाघ कराउनु र बाख्रो हराउनु’ जस्तै भयो । विदेशीले गर्दा हैजा फैलियो भन्ने रोषका कारण ‘हैटी’ आन्दोलनमा जल्न थाल्यो । आन्दोलनको निशाना बने नेपाली शान्ति सेना । त्यो घटनाले मलाई अलि नमिठो गरी छोयो ।

म एभिन्युज टेलिभिजनमा ‘खबरभित्रको खबर’ कार्यक्रम निर्माताका रूपमा कार्यरत थिएँ, न्युज रूममा सिनियरहरूसँग ‘हैटी हैजा’बारे अलग्गै एक दुईवटा ‘खबरभित्रको खबर’ बनाउने सल्लाह गरेँ । त्यस बेलाका सेनापति छत्रमानसिंह गुरुङ र सैनिक प्रवक्ता रमीन्द्र क्षत्रीसँग औपचारिक, अनौपचारिक कुरा गरेँ । 

संयोगले त्यसबेला हैटीका लागि युनिसेफको कन्ट्री डाइरेक्टरमा अनिल रघुवंशी रहेछन् । उनीसँग पहिलेदेखि नै चिनजान भएका कारण ‘हैटीको हैजा’ बारे नेपाली सेनाको आधिकारिक धारणामाथि ‘क्रस चेक’ गर्न र नेपाली शान्ति सेनामाथिको आरोप यथार्थ नभई अफवाह मात्र रैछ भनी रिपोर्ट बनाउन र बजाउन कुनै द्विविधा भएन ।

हैटी र हैजाबारे जोड्नै पर्ने अर्को एउटा प्रसङ्ग नजोडिकन हैजाको दुखान्त पूरा हँुदैन । माथि भनिएझै पश्चिमा जनस्वास्थ्यविद् आर.एस. हेनड्रिकसेनको टोलीले सन् २०११ मा अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजीले प्रकाशित गर्ने विश्वकै चर्चित मध्येको जर्नल ‘एम्बियो’ मा एउटा अनुसन्धानात्मक लेख लेख्दै भन्यो सन् २०१० मा हैटीमा फैलिएको हैजा सम्बन्धमा यसको मुख्य स्रोत नेपाली शान्ति सेना हो । त्यसैगरी फ्रेन्च जनस्वास्थ्यविद् आर.आर. फेरीचको टोलीले सन् २०११ नोभेम्बरमा अमेरिकाकै अर्को प्रतिष्ठित अनुसन्धान संस्था सिडिएसबाट प्रकाशित हुने इमर्जिङ्ग इन्फेक्सियस डिजिज नामको जर्नलमा लेख प्रकाशित गर्दै नेपाली पल्टन र नेपाललाई नै दोषी देखायो । 

यी अलग–अलग जर्नलहरूमा प्रकाशित लेखहरूमाथि तथ्य र तर्कसहित प्रश्न गर्न सक्ने मान्छे नेपालबाट एकजना मात्र निस्किए । उनी हुन डा. शेरबहादुर पुन । भर्खर मात्र विदेशबाट आफ्नो चिकित्साशास्त्रमा एम.डी सकाएर नेपाल फर्की शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौँमा काम थालेका डा. पुनले संयोगवश आफ्नो थप अनुसन्धानको विषय पनि हैजालाई नै छनोट गरेका रहेछन् । 

हेनड्रिकसेन र फेरिचको टोलीले लेखेका अलग अलग लेखलाई खण्डन गर्दै हैटीमा भेटिएका हैजाका किटाणुका आनुवंशिक संरचना बङ्गलादेश र भारतमा पनि पाइने भएकोले नेपाल मुख्य स्रोत नभएर हैटीमा फैलिएको हैजाको उद्गमस्थल नेपालको सट्टा दक्षिण एसिया हुन सक्छ भनेर डा. पुनले एक छोटो लेख सन् २०११ मा प्रकाशन गर्नुभयो । 

पुनले यस्तै तर्कसहित लेखेका प्रतिवादपूर्ण छोटा आलेखहरूले हैटीमा नेपाली सेनामाथि लागेको व्यर्थको दाग मेटाउन र हैटीको हैजा महामारीमा कुनै पनि कोणबाट नेपाल कनेक्सन छैन है भन्ने प्रमाणित गर्न निकै ठूलो मद्दत ग-यो । ४ मे, २०१२ को साँझ पाँच बजे एयर युरोपाको भीमकाय हवाईजहाजमा बसिसक्दा हैटीलाई कैद गर्ने तप्काहरू मानसपटलमा तयार भइसकेका थिए ।

सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको एउटा टापु अहिले हैटीको नामले चिनिन्छ । सत्रौँ शताब्दीको अन्त्यतिर स्पेनको उपनिवेशबाट हैटीको भू–भाग फ्रान्सको उपनिवेशमा पुग्यो । फ्रान्सले हैटीलाई आफ्नो कब्जामा लिएपछि अफ्रिकन मूलका झन्डै पाँच लाख ‘दासहरू’लाई हैटीमा ल्यायो । सय वर्षभन्दा लामो फ्रेन्च उपनिवेशलाई तोड्दै हैटीले सन् १८०४ मा स्वतन्त्रता प्राप्त गरे पनि सन् १८०७ देखि गृहयुद्ध सुरु भयो ।

उपनिवेशबाट मुक्त हुने विश्वको पहिलो राष्ट्र, स्वतन्त्रताको यस्तो सौभाग्य पाएको हैटीले त्यसको भरपुर उपयोग गर्न कहिल्यै सकेन । सन् १८३८ मा फ्रान्सले आफ्नो पूर्व उपनिवेश हैटीलाई अन्तर्राष्ट्रिय मान्यता दियो । सन् १८६२ मा संयुक्त राज्य अमेरिकाले हैटीलाई कूटनीतिक मान्यता दियो ।

सन् १९१५ देख १९३७ सम्म अमेरिकी सेनाले हैटीमाथि गरेको निगरानीले हैटीको सार्वभौमसत्तालाई खलल पारेको मनोविज्ञान नागरिकमा अझै हटेको रहेनछ । सन् १९५७ मा फ्रान्सकोइस डुमालियरले सत्ता ‘कु’ गरेपछि हैटीमा तानाशाही सुरु भयो र एकपछि अर्को गर्दै सत्ता हत्याउने खेल चलिरह्यो । सन् २००४ मा हैटीको उपनिवेश मुक्तिको दुई सय वर्ष पूरा हुन लाग्दा स्थिति निकै भयावह बनिसकेको थियो ।

राजनीतिक अस्थिरताले पिल्सिएको हैटीमा समुद्री आँधी र प्राकृतिक प्रकोप अर्को विडम्बना रहेछ । प्रकोपले सबैभन्दा भयावह स्थिति चाहिँ सन् २०१०, जनवरीको महाभूकम्प र त्यसलगत्तै २०१० नोभेम्बरमा फैलिएको हैजा बन्यो । 

छिमेकी देशहरूले समृद्धिको लय समाउँदै क्यारेवियन काखमा रमाउने कोसिस गरिरहँदा हैटी भने अझै पनि जर्जर जीवन बाँचेको छ । सामरिक चासोबाट अमेरिकाले हैटीलाई प्रयोग गर्नु हैटीको दुर्भाग्य रहेछ । यो दुर्भाग्यलाई बढावा दिन बारम्बारको आन्तरिक द्वन्द्वले ठूलो भूमिका खेल्यो ।

राजनीतिक अस्थिरताले हैटीलाई गाँज्दै लैजाँदा भ्रष्टाचारले पनि नेटो काट्यो । राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुरूप अमेरिका, क्युबा, भेनेजुयला, ब्राजिललगायतका देशलाई काखी च्याप्दा हैटीको राष्ट्रियता सधैँ कमजोर बन्यो, जसको फाइदा छिमेकीले उठाए । 

राजनीतिक अस्थिरता र द्वन्द्वका चरणमा कहिलेकाहीँ नेपाललाई पनि हैटीको दाँजोमा राखेर हेर्ने चेष्टा हामीले सुनेकै हो । नेपाली समाजको चेतनास्तर, समाजको बनोट र गठिलोपन हैटीसँग तुलनै हुँदैन । नेपाली समाज कुनै पनि सक्षम देशको दाँजोमा कमजोर छैन । 

छिमेकमा सम्पन्न देश छन्, अन्तर्राष्ट्रिय सहयोगको ओइरो छ, सामरिक हिसाबले सयौँ किलोमिटर भू–भाग समुद्रसँग जोडिएको छ । समुद्रले नजोडे पनि प्राकृतिक रूपमा त नेपाल पनि सम्पन्न छ तर किन समृद्धि चुम्न सकेको छैन हैटी र नेपालले ? कारण राजनीतिक अस्थिरता र विभिन्न कारण छन् । 

अहिलेको राजधानी पोर्ट औ प्रिन्सदेखि पुरानो राजधानी क्यापहाइसनसम्म पुग्न झन्डै दुई सय पचास किलोमिटरको सडक यात्रा गरियो होला । यति लामो दुरी तय गर्दा बाटोभरि कहीँ कतै पनि खुसीयालीसहितको गृहस्थी झल्काउने बस्ती देखिएन । यसो निर्वाह चल्ने गरी ठडिएका बस्ती छन् ।

बस्तीले ओगटेको खेत, बारी, ढिक, कान्लाहरू बाँझिएका छन् । इतिहास सुन्दा पत्यार लाग्दैन, हिजो जुनेली मकै एसियासम्म निर्यात गर्ने मुलुक यही हो ? उखु र चिया उत्पादनमा अब्बल भूमि यही हो ? सदाबहार उष्णताको वरदान पाएको भूमिमा कृषिको कुरा इतिहास मात्र बनेको छ ।

हैटी दुखान्तको पछिल्लो घटना, सन् २०२१ जुलाइ ७ मा हैटीका बहालवाला राष्ट्रपति जोभेनल मोइसेको आफ्नै निवासमा गोली हानी हत्या गरियो । समाचारमा आएअनुसार हत्यारा विदेशी थिए । कुनै देशको राष्ट्रपतिका लागि बन्दोबस्त गरिएको सरकारी सुरक्षा संयन्त्र छिचोलेर विदेशीले हत्या मच्चाउन सक्छ भने कल्पना गरौँ त हैटीको आन्तरिक सुरक्षा कस्तो छ ? 

हेलो हैटी, भूगोलको कुनै पूर्वी कुनाबाट जम्मा जम्मी दुई साता घुम्न आएको मनुवाले सारा चिज खत्तम मात्र देखेछ भन्ने नठान्नु है । लावादी र ज्याक्मेलजस्ता समुद्री तटको सुन्दरता, जेन ज्याक्युज स्तुपाको कलात्मकता, सिटाडेल किल्लाको वैभवपूर्ण इतिहास । अनि उर्वरता लुकेको तिम्रो प्राकृतिक छाती ।

त्यहाँ देखेका हरेक सुन्दर चीज आन्द्र महासागरको गहिराइभन्दा पनि अझ गहिरो गरी मनमा बसेका छन् । छिमेकी त हामीले पनि ‘भव्य’ नै पाएका छौँ । छिमेक बलशाली भएर के गर्नु ? अभिभावकहरू ‘लबस्तरो’ भइँदिँदा ‘आफ्नै बगलीको खट्टे पनि मितसँग मागेर खानुपर्ने’ जस्तै अफ्ट्यारोमा चल्नुपर्दो रहेछ । 

Author

सुभाषचन्द्र पोखरेल