• १४ वैशाख २०८१, शुक्रबार

जिल्ला समन्वय समिति मनाङको प्रमुखमा घले

blog

जिल्ला समन्वय समिति मनाङमा निर्वाचितहरु । तस्बिरः बेलिना थापा

लमजुङ, असार ३ गते । जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा (एमाले)का चिनबहादुर घले निर्वाचित हुनुभएको छ ।

बिहीबार भएको निर्वाचनबाट प्रमुखमा चामे गाउँपालिका १ का घले निर्वाचित हुनुभएको हो । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नासों गाउँपालिका ३ का सुरेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । जिल्लास्थित राजनीतिक दलबीच भएको सहमति अनुसार बिहीबार मनोनयन पत्र दर्ता भएको थियो । सबै पदमा एकल उमेदवारी परेको थियो ।

खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मिनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेका लक्ष्मी गुरुङ, एमालेका सुस्मिता सिन्चौरी र कांग्रेसका राधा बराल विश्वकर्मा निर्वाचित भएका छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् ।

सबै पदमा एकल उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयो । उहाँका अनुसार बिहीबार नै नाम घोषणा गरिएको छ । खनालबाट जिल्ला समन्वय समिति प्रमुख चिनबहादुर घलेले सपथ ग्रहण गर्नुभएको छ ।

जिल्लास्थित सांसद, पूर्व सांसद, राजनीतिक दलका नेताहरुबीच भएको सहमति अनुसार नै मनोनयन दर्ता भएको प्रमुखमा निर्वाचित चिनबहादुर घलेले बताउनुभएको छ । बुधबार गोलाप्रथाबाट प्रमुख र उपप्रमुखको नाम छानिएको हो । नाम छान्दा उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्रबहादुर घलेको नाम परेको थियो । गठबन्धन दलबीच पुन छलफलपछि मनोनयन दर्ताको क्रममा भने सुरेन्द्र गुरुङको दर्ता भएको हो । जेठ ३१ गते मंगलबार जिल्ला सभाको बैठक बसी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, महिला सदस्य, अल्पसंख्यक तथा दलित सहित अन्य ३ सदस्य गरी जम्मा ९ सदस्यीय समन्वय समितिको संख्या निर्धारण गर्ने निर्णय भएको थियो । 

बुधबार जिल्ला समन्वय समिति मनाङको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा सदस्यहरुको निर्वाचन गराउने सम्बन्धमा संघीय सांसद पोल्देन छोपाङ गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ तथा यसअघिका समन्वय प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख राजनैतिक दलका व्यक्तिको रोहबरमा गोलाप्रथाबाट मनोनयनका छिनाफानो लगाउने निर्णय गरी सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका थिए । निर्णय अनुसार गोलाप्रथा गर्दा अध्यक्ष तान्ने प्रतिनिधिले ३ सदस्य तथा उपाध्यक्ष तान्ने प्रतिनिधिले ४ सदस्य पाउने निर्णय भएको थियो । सोही अनुसार नेकपा एमालेले प्रमुख र ३ सदस्य र गठबन्धन दलले उपाध्यक्ष र ४ सदस्य पाएका हुन् ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।