समाजवाद पछिल्लो विश्व राजनीतिको प्रमुख शब्द बनेको छ । हाम्रोमा पनि सरकारलगायत प्रत्येक दलबाट समाजवादी आचरणको देश निर्माणमा पहल गर्ने दाबा आउँछ । संविधानमा समेत समाजवाद उन्मुख भनेर उल्लेखित छ ।
राजनीतिक नेतृत्वहरू, विश्वविद्यालयका शैक्षिक तथा राजनीतिक बहस पैरवी अनि वादविवाददेखि सार्वजनिक खपतका अधिकांश वक्तव्यवाजीमा समाजवाद शब्दको प्रचलन बढेको छ । यद्यपि समाजवादको प्रस्ट खाका अनि आमनागरिकले बुझ्ने ठोस मार्गचित्र र योजनाहरू खासै देखाइएका छैनन् ।
केही प्रचलन यस्ता हुन्छन् जसलाई सिद्धान्तका हिसाबमा पछि उपयुक्त र परिस्कृत शब्द दिए पनि अभ्यासचाहिँ सदियौँदेखि चलिआएको हुन्छ । आजकाल उद्यमशीलता शब्द निकै प्रचलनमा छ तर जतिखेर उक्त शब्द नै प्रयोगमा थिएन त्यसबखत पनि समाजमा उद्यमशीलताका विभिन्न अभ्यास र आयामहरू थिए । वाणिज्य आचरण (विजिनेस इथिक्स) शब्दको प्रयोग नहुँदा चाहिँ वाणिज्य गतिविधि पूरै आचरण र नैतिकता बिहीन थिएन । तसर्थ समाजवादलाई पनि अवधारणात्मक र अभ्यास गरी दुई शिराबाट विवेचना गर्नुपर्दछ ।
अवधारणा
शब्दहरूको विनिर्माणसम्बन्धी अध्ययनको तरिका ‘इटिमोलोजी’को आधारमा समाजवाद शब्द प्राचीन ल्याटिन शब्द ‘सोसिया’ बाट आएको देखिन्छ । उक्त मूल शब्दको अर्थ हरेक स्रोतसाधन र सामथ्र्यलाई सबैको समान भलाइमा वितरण गर्नु भन्ने लाग्दछ । समाजवाद नै भनेर चाहिँ लेखक पेरे लेरग्ंसले सन् १८३२ मा लेखेको पाइन्छ । त्यसपछि समाजवादको विकासले तीनवटा कालखण्ड पार गरेको देखिन्छ ।
सन् १८३२ बाट लगभग एक सय १३ वर्ष १९४५ सम्म समाजवादको प्रारम्भिक चरणमा समाजवाद शब्द मात्रै थियो । राजनीति, अर्थव्यवस्था, समाज, न्यायलगायतका हरेक क्षेत्रमा समाजवादी रूपान्तरण गर्नुपर्ने बौद्धिक विलासिता र वुद्धिविलास हुन्थ्यो तर कुनै स्पष्ट खाका चाहिँ कसैसँग थिएन ।
समाजवादको दोस्रो कालखण्ड १९९० सम्म मानिन्छ । यो चरणमा भएका सबै संरचना र अवधारणाहरूको बर्खिलाप गर्ने, यथास्थितिलाई उन्मूलन गर्ने, विकल्पबिना नै वर्तमानलाई भत्काउने मान्यताले समाजलाई बन्धक बनायो । नरसंहार र आततायी विध्वंसलाई समाजवाद भन्ने भ्रम र भुलभुलैयामा दोस्रो चरण सकियो ।
समाजवादको आधुनिक चरण स्वरूप १९९० पछि विकल्प र मार्गचित्रसहितको अवधारणा विकास भई अभ्याससमेत हुन थालेको छ । यसले नयाँ समाज र संस्कार निर्माणको उपाय सुझाउँछ । लेखक जेरिमी गिलर्वटको पुस्तक ‘सोसियलिजम फर ट्वान्टी फस्ट सेञ्चुरी’ यस प्रयोजनमा राम्रो सन्दर्भ सामग्रीको रूपमा स्थापित बन्दैछ । विभिन्न ठोस अभ्यास र कार्यनीतिसमेत प्रतिपादन भएका छन् ।
अभ्यास र कार्यनीति
अभ्यासका हिसाबले समाजवादका दुईवटा चरणहरू प्रधान देखिन्छन् । पौराणिक समाजवाद चाहिँ बौद्ध दर्शन र बौद्ध सभ्यताका समाजहरूमा अभ्यास भएको पाइन्छ । बुद्धका सिद्धान्त विशेषगरी ‘बिनय पिटक’ र ‘जकता कथाहरू’ भित्रका सन्देशमार्फत समाजको नयाँ पुनर्संरचना र पुनर्निर्माण भएको थियो भन्ने लेखिएको देखिन्छ ।
पछिल्लो पटक आर्थिक हिसाबले अत्यन्त सशक्त गति लिएका केही देश छन् । अर्थविश्लेषकहरू जापान, चीन, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया, सिङ्गापुर, हङकङजस्ता देशहरूको आर्थिक प्रगति बाघको हिँडाइजस्तो धेरै उफ्रने खालको भन्दै ती देशहरूलाई ‘टाइगर इकोनोमी’ भन्छन् ।
अझ भियतनाम, कोरिया, चीन र ताईवानको विकासलाई त बाघको गतिले सही मापन नगर्ने भन्दै ड्रागन लम्किएजस्तो विकास भनेर ‘ड्रागन इकोनोमी’ को संज्ञा दिन्छन् । त्यसरी दु्रत विकसित देशहरू अधिकांश बौद्ध धर्मालम्बी भएकाले बौद्ध र्दशन र त्यति खेरका बौद्ध सभ्यताको अनुशरण पनि एक कारण हो भन्नेमा अन्तर्राष्ट्रिय जगत्का थुप्रै अध्येता अनि शोधार्थीहरू सहमत हुँदैछन् । ‘सर्मन’, ‘सर्वोदय’, ‘धम्मप्रशासन’, ‘चक्रवर्ती राजा’, ‘दशविधा राजधर्म’ जस्ता बौद्ध दर्शनभित्रको अभ्यासले समाजवाद विभूषित समाज निर्माण गरेको थियो ।
अहिले यसको अधिकतम उत्कृष्ट र अनुपम अभ्यासचाहिँ चीनले गरेको भनिन्छ । ऊ स्वयंले आफूलाई समाजवादी लक्ष्यमा अभिप्रेरित भनेको छ । अरू देशले पनि चीन समाजवादको उत्कर्षमा पुगेको भनेर दाबा गर्ने गर्छन् । फरिद जकारियाको ‘पोस्ट अमेरिकन वल्ड’ पुस्तकमार्पmत पहिल्यै यस्तो भविष्यवाणी आएको थियो ।
रोष दुषीको पुस्तक ‘द लङ्ग गेम, गे्रट स्ट्राटेजी टु डिस्प्लेस अमेरिकन वल्ड अर्डर’ले पनि यसलाई पुष्टि गर्दछ । चीन सरकारले दुई शताब्दी सपना, अर्ध शताब्दी रणनीति तथा ३० वर्षे कार्ययोजना बनाएरै समाजवादका लागि काम गर्दैछ । उक्त समाजवादी सोचमा मुख्यतया तलका दस वटा सूचकाङ्कलाई निर्णायक मानिएको देखिन्छ ।
एक, प्रतिव्यक्ति क्रय क्षमतामा आधारित र मापन हुने स्वनिर्भर आर्थिक विकास समाजवादको पहिलो सर्त हुन्छ । हामी विप्रेषण तथा वैदेशिक सहयोगलाई मुख्य आर्थिक चरित्र बनाएर धानिएका छौँ । संसारभरका लगभग दुई सय ३२ मिलियन वैदेशिक कामदारबीच नेपाली पनि अधिक छन् ।
ताजकिस्थान र गणतन्त्र किरगीजपछि नेपाल विप्प्रेषणमा आधरित तेस्रो ठूलो देश हो । हाम्रा उर्वर ४० लाख शक्ति अरूको देश समृद्ध बनाउन अहोरात्र विवेक, पसिना अनि श्रम खर्चदैछन् । अर्कोतिर १९५४ मा प्रतिव्यक्ति १५.६ अमेरिकी डलर नजिक रहेको वैदेशिक सहायता प्रतिव्यक्ति झन्डै तीन सय डलर बनेर बजेटको ठूलो हिस्सा ओगट्छ ।
समाजवादी लक्ष्यका लागि दुवै वटा छोडी हामीले आफ्नै सम्भावनाका आधारमा आर्थिक विकास खोज्नुपर्छ । व्यावसायिक कर्जा सुनिश्चित गर्नुपर्छ, कृषिको औद्योगिकीकरण गर्नुपर्छ । रोजगारी वितरणमा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ ।
व्यावसायिक सोच र रोजगारी अभिमुखीकरण गरिनुपर्छ । पर्यटनलगायत अन्य सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्छ । स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्छ । श्रमको सम्मान गर्नुपर्छ । विभिन्न प्रकारका कलकारखानाहरू तीव्र गतिमा खोल्नुपर्छ । बहुमूल्य खनिजको उत्खनन् र उपभोगमा जोड दिनुपर्छ ।
स्वनिर्भर आथिक विकास र समृद्धिको पूर्णतया स्वदेशी सङ्कथन निर्माण तथा अभ्यास हुनुपर्छ । समाजका अरू धनी व्यक्तिको सम्पत्ति जोडेर प्रतिव्यक्ति आय होइन कि व्यक्तिसँग भएको सम्पत्तिको क्रय क्षमता हेरेर आर्थिक सूचकाङ्क मापन गर्नुपर्छ ।
दोस्रो, नागरिक एकता र प्रधानता हो । हामीमा नागरिकबीच विभाजन र टकराव उच्च छ । विभिन्न बहानामा आफू÷आफू लडेर विध्वंस र विनाश उन्मुख बन्नुहँुदैन । नेतृत्वले पनि विदेशमा गएर बसेका, अर्काको विकासलाई सघाएकालाई बढी प्राथमिकतामा अनि देशलाई माया गर्दै सकेको योगदान गरेर यही बसेकाहरूमाथि प्रायोजित उपेक्षामा राख्नु हँुदैन ।
तेस्रो, हेरक गतिविधिमा वैज्ञानिक प्रगतिशीलता अनुसारको परिवर्तन र चौथो, आममानव समाजमा सकारात्मक मनोविज्ञान निर्माण गर्नुपर्छ । अहिले यी दुवै पक्षमा उच्च ऋणात्मक अवस्था देखिन्छ । निराशा र नकारात्मकताको रेखा चुलिँदो छ । पाँच, नेतृत्वदेखि नागरिकसम्म सबैमा उच्च नैतिक आचरण र सबल सोचको निर्माण गर्न सक्नुपर्छ ।
छैटौँ, देशलाई आन्तरिक रूपमा सुदृढ र बाह्य रूपमा सम्मानित बनाउन प्रस्ट कार्ययोजनाहरू पस्कँदै त्यसको सशक्त अनुसरण हुनुपर्छ । केवल भाषणवाजीमा भएको कौशललाई उत्पादनमा केन्द्रित गर्नुपर्छ । सात, नागरिकलाई गुणस्तरीय जीवनयापनको वातावरण बनाइदिनुपर्छ ।
भौतिक सुविधा तथा नेतृत्वको आत्मीयता अभिवृद्धिको सूचकाङ्कले यसको प्रत्याभूति गर्दछ । आठ, सबै नागरिक तथा पेसा अनि व्यावसायकर्मीहरूमा आफ्नो कर्ममार्पmत देश निर्माणको जिम्मेवारी बोध हुनुपर्छ । काम आफ्नो तथा परिवारको जीवनयापन अनि फाइदाका लागि मात्र नभएर देशको विकासप्रति लक्षित बन्नुपर्छ ।
नौ, आम नेतृत्व र उच्चपदस्थदेखि स्थानीय तहसम्मका नेतामा दर्शन र जीवनको सामीप्यता हुनुपर्छ । तर यस आशयमा हाम्रो नेतृत्वमाथि नागरिक आकर्षण कम हुँदैछ । दस, व्यक्तिगत स्वच्छन्दताको सट्टा सामूहिक तथा सामाजिक भलाइलाई हरेक क्रियाकलापको केन्द्रमा राख्नुपर्छ ।
यी दसै वटा पक्षको केन्द्रमा चाहिँ विज्ञता केन्द्रित र निर्देशित राजनीति रहन्छ । ड्यानियल बेलको ‘द चाइना मोडल’ नामक पुस्तकमा यस्ता स्वरूपहरूको सविस्तार वर्णन छ । विज्ञहरूबीचको घनिभूत छलफल अनि सत्संगबाट योजना निर्माण हुनुपर्छ र राजनीतिले त्यसलाई निर्भयताका साथ लागू गर्ने आट गर्नुपर्छ । समाजवादलाई सजाउने भए दस परिसूचकलाई लक्ष्य मानेर विज्ञता केन्द्रित राजनीतिको अभ्यास सुरु हुनुपर्छ ।