• १९ कात्तिक २०८१, सोमबार

मरुभूमीकरणबाट जोगिन चुनौती

blog

प्रत्येक वर्ष जुन १७ लाई ‘विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको दिवस’का रूपमा संसारभरि मनाइन्छ । विश्व जगत्ले मरुभूमीकरण तथा खडेरीविरुद्ध जुध्न एकताको सन्देश दिने गर्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९४ को महासम्मेलनले जुन १७ लाई यो दिवसका रूपमा मनाउन सुरु गरेको हो ।

जसको उद्देश्य बिग्रँदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौती कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हो । यसले विश्वका मरुभूमीकरण हुने अवस्थामा रहेका जोखिमयुक्त क्षेत्रलाई बढी ध्यान दिन खोजेको छ, जहाँ धेरै कमजोर अवस्थाका मानिस बसोबास गर्छन् । 

१७ जुन २०२१ को नारा ‘बिग्रेको जमिनलाई स्वस्थ्य जमिनमा बदलौँ’ भन्ने थियो भने यस वर्षको नारा ‘खडेरीविरुद्ध जुध्न जागरुक बनौँ’ भन्ने तय गरिएको छ । मानव जाति र पारिस्थितिकीय प्रणालीमा पर्ने खतरनाक परिणामको सामना गर्न छिट्टै काममा जुटौँ भन्ने यसको उद्देश्य छ । सन् १९९४ को महासम्मेलनले राष्ट्रसङ्घअन्तर्गतका राष्ट्र, त्यसका सरकार र 

सङ्गठनलाई पृथ्वीको मरुभूमीकरणलाई न्यूनीकरण गर्न र पारिस्थितिकीय प्रणालीको संरक्षणमा बढावा दिन, सम्मेलनमा जाहेर गरेका प्रतिबद्धता कार्यान्वयन गरी जनचेतना फैलाउने काममा जोड दिन आग्रह गरेको थियो ।

दिवस मनाउनुको मूल ध्येय धर्तीमा भएका जीवित वनस्पति र प्राणी जगत्को संरक्षणबाट मानव जगत्का लागि बस्न योग्य र सुन्दर पृथ्वी बनाउने उद्देश्य हो । महासम्मेलनका सहभागी राष्ट्रका सदस्यले भूमिको पुनस्र्थापनाद्वारा माटोको उत्पादकत्व वृद्धि गर्न तथा सुक्खा खडेरीबाट जोगिन वृक्षरोपण जस्ता कार्यक्रममा जोड दिनुपर्छ ।

जमिनलाई मरुभूमीकरण हुनबाट रोक्न समन्वयको जरुरी पर्छ । राष्ट्रसङ्घको यसलाई हेर्ने सचिवालय, महासम्मेलनका सहभागी राष्ट्रका सदस्य तथा सरोकारवालाले सचेतनका कार्यक्रम चलाउँदै त्यसलाई व्यावहारिकतामा परिणत गरी सत्यको नजिक पुग्न कोसिस गरिरहेको देखिन्छ ।

मरुभूमीकरण तथा खडेरी भनेको वर्षात् नहुनु मात्र होइन जलवायु परिवर्तनको असर र मानव क्रियाकलापबाट जमिनको उर्वरा शक्तिमा ह्रास आउनु पनि हो । उत्पादनशील जमिन क्रमशः अनुत्पादक बन्दै जाने प्रक्रिया नै मरुभूमीकरणको अवस्था हो । उर्वर भूमिको जङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुक्खा खडेरीले आक्रान्त पारी उक्त भूमि बाँझोमा परिणत हुने कारण नै जमिन मरुभूमीकरण हुने अवस्था हो । जुन विश्वमा बढ्दो पारिस्थितिकीय-वातावरणीय समस्याका रूपमा देखापरेको छ ।

दिगो विकासका लागि मरुभूमीकरण र सुक्खा खडेरीबाट सिर्जित समस्या विकासोन्मुख तथा विकसित राष्ट्रका लागि ठूलो चुनौतीका रूपमा खडा भएको छ । प्रत्येक वर्ष विश्वका पाँच करोड पाँच लाख मानिस मरुभूमीकरण तथा सुक्खा खडेरीबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने सन् २००० देखि सुक्खा खडेरीका सङ्ख्या र अवधि २९ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

सन् १९०० र २०१९ का बीचमा विश्वका दुई अर्ब ७० करोड मानिस यसबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने एक करोड १७ लाख मानिसको मृत्यु भएको छ । तथ्यहरूले के देखाउँछन् भने सन् २०४० सम्ममा हामीमध्ये धेरैभन्दा धेरै मानिस तथा प्राणी पिउनेपानीको अभावबाट ग्रसित भएका हुनेछौँ भने प्रत्येक चार बालबालिकामध्ये एक जना यसबाट प्रताडित हुनेछन् भनी अनुमान गरिएको छ । सन् २०५० सम्ममा विश्वका तीनचौथाइ जनसङ्ख्यालाई यसले असर पु-याउनेछ भनी पूर्वानुमान गरिएको छ ।

मरुभूमीकरणको अवस्था सुक्खाग्रस्त क्षेत्रफलमा विस्तार हुने नभएर त्यस्ता क्षेत्र जसले विश्वका एकतिहाइ हिस्सा ओगटेको छ । त्यहाँको जनसङ्ख्यामा वृद्धि, गरिबी, राजनीतिक अस्थिरता, जमिनको अनुचित प्रयोग, वन विनाश, अति चरिचरन अनुचित सिँचाइका कारण जमिनको उत्पादकत्व घट्दो अवस्थामा पुगेको छ जसले कार्बन उत्सर्जन बढाउँछ भने जैविक विविधतामा ह्रास ल्याउँछ ।

त्यसैले उक्त महासम्मेलनले विश्वका सम्पूर्ण राष्ट्रलाई जमिन महŒवपूर्ण सीमित प्राकृतिक स्रोत-पुँजी हो, यसलाई वृद्धि गर्न सम्भव छैन, त्यसकारण प्रत्येक व्यक्ति यसको भागीदार भएको हुन्छ । आफ्नो भविष्य जोगाउन यसको उर्वराशक्तिमा भएको क्षयीकरणलाई पुनर्जीवित गरी पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाका लागि आ–आफ्नो स्थानबाट लागौँ भनी आह्वान गरेको छ । 

सुक्खा, खडेरी र मरुभूमीकरणका कारणले मानवतामाथि नै सङ्कट उत्पन्न भएको अर्थमा बुझ्दा यसलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । सुक्खा, खडेरी र मरुभूमीकरणसम्बन्धी महासम्मेलनले पनि यसले निम्त्याएका र अझै निम्त्याउन सक्ने नकारात्मक असर र क्षति सकेसम्म कम गर्दै अनुकूलतामा ढाल्ने केही आपत्कालीन तयारी गर्नै पर्छ ।

सन् २०२० को अन्त्यतिर सोमालियामा भएको भयङ्कर खडेरीलाई नियालेर हेर्ने हो भने त्यसले अतिकम विकसित र विकासोन्मुख नेपाल जस्ता देशलाई पनि सोझो वा घुमाउरो तरिकाले प्रभाव पारिराखेको हुन्छ ।

राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले अति सुक्खाप्रभावित देशमा बढी ध्यान पु-याउनुपर्दा नेपाल जस्तो देशले पनि यथोचित लाभ लिन नसक्ने स्थिति उत्पन्न हुन गएको यथार्थ हाम्रोसामु छ । अरू देशले भोगेका गम्भीर घटनाबाट हाम्रो देशले पनि समयमै पाठ सिक्न जरुरी छ । यसका लागि व्यापक जनचेतना, स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको पूर्वतयारीको आवश्यकता हुन्छ । यी सबै कार्य गर्न राजनीतिक इच्छाशक्ति राज्य सञ्चालन गर्ने र गर्न चाहने सबै दलमा हुनैपर्छ ।

नेपालले पनि यो दिवसलाई विभिन्न सङ्घसंस्था, सङ्गठनको सहकार्यमा विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । प्राकृतिक स्रोतको दिगो सदुपयोग गर्दै वातावरण संरक्षण गर्नुपर्छ । प्रकृतिसँग हाम्रो नजिकको सम्बन्ध हुन्छ ।

यसको संरक्षण नगर्दा विपत् सामना गर्नुपर्छ । हाम्रो जिम्मेवारी के हो भन्ने जनचेतना जगाउन कलेज र विद्यालय तहमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन, सरसफाइ तथा वृक्षरोपण पनि हुँदै आएको छ । जसले प्रकृति संरक्षणमा सकारात्मक भूमिका निर्वाह गर्छ । 

नेपालले नारा तय गर्दा ‘हिमालको रक्षा गरौँ र वातावरण संरक्षण गरौँ’ भन्नेमा जोड दिएको हुन्छ किनकि नेपाललाई चिनाउने विश्वको शिर सगरमाथादेखि अन्य हिमशृङ्खलाले पृथ्वीको वातावरण बिग्रँदा यसमाथि कस्तो असर परेको छ भन्ने सङ्केत दिइसकेको छ ।

नेपालमा लामो खडेरी पर्छ, जसले गर्दा वनमा डढेलो लाग्नुका साथै बस्तीमा हुने आगलागीले बर्सेनि लाखौँ धनजनको क्षति भएको छ । जसले कार्बन उत्सर्जनमा बढावा दिएको छ । जनचेतना अभावमा वन अतिक्रमण र खोरिया फँडानी गर्ने क्रम रोकिएको छैन ।

हाम्रा जमिन बाँझोमा परिणत हुँदै छन्, हामी हरेक वस्तुमा परनिर्भर हुँदै गइरहेका छौँ । यसले हामीलाई कुन दिशातिर लैजाँदै छ मनन गर्न जरुरी छ । राम्रो पारिस्थितिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढावा दिन सक्छ । जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न सहयोग गर्छ । जैविक विविधता विनाश हुनबाट जोगाउँछ । यस चुनौतीको सामना गर्न सबै सरोकारवालाको ध्यान समयमै जान जरुरी छ ।

हाम्रो उन्नति, प्रगति र सन्ततिको उज्ज्वल भविष्यका लागि सीमित प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो । अनि मात्र विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको दिवस मनाएको सार्थक पनि हुनेछ । आजको दिनले हामी सबैलाई सतर्क भएर अघि बढ्न अभिप्रेरित गरोस् । 

Author

मथुरा खनाल