• १२ असार २०८२, बिहिबार

पचास प्रतिशतले घट्यो सुन आयात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १२ गते । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा सुनको आयात ५० प्रतिशतले घटेको छ । निरन्तर सुनको मूल्य बढेका कारण स्थानीय बजारमा माग कम हुँदा आयातमा कमी आएको हो । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ (साउन–जेठ) सम्म १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपियाँ बराबरको एक हजार ३८९ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपियाँ बराबरको दुई हजार ६५१ केजी सुन आयात भएको थियो । 

यस वर्ष सुन आयात घट्दा सुनबाट सङ्कलन हुने राजस्वमा समेत कमी आई एक अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपियाँ सङ्कलन भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा सुन आयात गरेर तीन अर्ब ६४ करोड ८३ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्रचार्यले सुनको मूल्यवृद्धिसँगै आन्तरिक बजारमा माग घट्दा सुनको आयातमा कमी भएको जानकारी दिनुभयो ।

नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला आठ हजार रुपियाँले सस्तो हुँदा धेरै नेपालीले भारतमा गएर सुन खरिद गर्ने गरेकाले पनि स्थानीय बजारमा खपत घट्दै गएको उहाँको भनाइ छ । निरन्तर मूल्य बढ्दै गएपछि ग्राहक पुराना गहना बेच्न आउने र त्यसैमा थपेर नयाँ लैजाने गरेकाले पनि माग बढ्न नसकेको उहाँको भनाइ छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३५ प्रतिशतले बढेको छ । जस कारणले सुनको आयातमा समेत कमी आएको हो । सुन आयातमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ ।  विभिन्न वाणिज्य बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने गरेका छन् । पछिल्लो समय मूल्य बढ्दा सुनको खपत नहुँदा बैङ्कमा सुन मौज्दात रहेको बताइएको छ । 

यसैबिच स्थानीय बजारमा बुधबार तोलामा एक हजार पाँच सय रुपियाँले घटेर एक लाख ९२ हजार रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । मङ्गलबार तोलामा एक लाख ९३ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।  

यसैबिच चाँदीको मूल्यसमेत तोलामा २० रुपियाँले घटेर दुई हजार १४० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।