• ५ साउन २०८१, शनिबार

स्वास्थ्य राज्यमन्त्री वलीको विवाद

प्रदेश सरकार र प्रहरीबाट अनुसन्धान

blog

घोराही समाचारदाता

घोराही, असार २ गते लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको विवादमा प्रदेश सरकार र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान थालेका छन् । मङ्गलबार स्वास्थ्य राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कनिवासी २७ वर्षीया मीना भण्डारी बस्नेत र छोरी एलिजा बस्नेतलाई अभद्र व्यवहार गरेको आरोपमा पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । 

प्रदेश सरकारले पनि घटनाको छानबिनका लागि समिति गठन गरेको छ । “प्रदेश सरकारसँगै जिल्लामा हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ,” प्रहरी प्रमुख काफ्लेले भन्नुभयो, “घटनाको तथ्य अनुसन्धानले बताउनेछ ।” 

बुधबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले समेत घटनाको छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा कार्यदल गठन गरेको छ । समितिका सदस्यमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनुभएको छ । 

“दाङमा घटना भएकाले प्रहरीले स्वाभाविक रूपमा आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको छ । हामीभन्दा माथि नै प्रदेश सरकारका मन्त्रीकै नेतृत्वमा छानबिन कार्यदल गठन भइसकेको छ,” प्रहरी प्रमुख काफ्लेले भन्नुभयो, “छानबिन समितिको प्रतिवेदन आउँदासम्म पर्खनुको विकल्प छैन ।” 

स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेश सभाको बैठकसमेत स्थगित हुन पुगेको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री वली प्रकरणबारे सरकारले प्रदेश सभा बैठकमा जवाफ नदिँदासम्म बैठक चल्न नदिने नेकपा एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो । बैठक प्रारम्भ भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।

सभामुख पूर्ण घर्तीले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेश सभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्री वलीले मङ्गलबार बिहान तुलसीपुर–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा गएर श्रीमती मीना भण्डारी बस्नेत र छोरी एलिजालाई गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै पीडित भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको छ । वली २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद निर्वाचित हुनुभएको थियो । वली नेकपा एमालेका स्वर्गीय प्रदेश सभा सदस्य उत्तर वलीकी श्रीमती हुनुहुन्छ ।