• ९ असार २०८२, सोमबार

स्वदेशमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न पूर्वमन्त्री चौधरीको जोड

blog

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगबती चौधरी ।

काठमाडौँ, असार ९ गते । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगवती चौधरीले स्वदेशमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै उहाँले आग्रह गर्नुभएको हो । 

समितिमा सोमबार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैँक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । सो अवसरमा बोल्दै उहाँले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताउनभयो । अवैधानिकरुपमा व्यापार व्यवसाय गर्नेमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको उहाँको भनाई थियो । 

उहाँले डायमन्डमा लगाइएको विलासिता कर हटाउनुपर्ने बताउनुभयो । “यदि व्यवसायी लगानीकर्ता सबैलाई फस्टाउनु छ भने यसै टाइट गर्ने हो भने झनै समस्या आउँछ । अहिलेको अवस्था त यति नैराश्यता छ । हाम्रो मार्केट, अर्थतन्त्र यति तल झरिसकेको छ,” उहाँले भन्नुभयो,“यो तरिकाले झनै तल खस्किन्छ । डायमन्डमा लग्जरी कर जुन छ त्यसलाई हटाउनुपर्छ । आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर बढाउनु परेमा मारमा उनीहरू नै पर्दछन् । हामी उद्योगधन्दा फस्टाउन चाहन्छौँ, यहीँ व्यवसाय गर्न दिने हो भने टाइट नगरौँ ।’ आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर वृद्धि गरे उपभोक्ता मारमा पर्ने उनको भनाई थियो । रासस