• ७ जेठ २०८१, सोमबार

बाँदर धपाउने काम पेचिलो

blog

बाबुराम शर्मा 

चरीकोट, असार २ गते । बाँदरबाट आतङ्कित बनेका दोलखाको भीमेश्वर नगरपालिका– ४ र ५ का किसानलाई निर्वाचनका बेला दिएको बाँदर धपाइदिने प्रतिबद्धता निर्वाचित भएपछि जनप्रतिनिधिलाई असहज बनेको छ । 

यी वडाका अधिकांश क्षेत्रमा स्थानीयवासीलाई दुःख दिँदै आएका बाँदरलाई धपाउन यन्त्रले पनि काम नगरेपछि बाँदर धपाइदिने प्रतिबद्धता निर्वाचित जनप्रतिनिधिलाई असहज बनेको वडा नम्बर ४ का वडाध्यक्ष तारानाथ चौलागाईंले गुनासो पोख्नुभयो । उहाँका अनुसार यो काम सरकारले जिम्मा लिनुपर्ने भन्दै स्थानीयवासस्ले संयुक्त आवाज उठाएका छन् । कार्यपालिकाको अहिले भएका तीनवटा बैठकको मूल विषय नै बाँदर धपाउनेबारे जोडदारसँग उठेको छ । चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी बाँदर आतङ्क नियन्त्रण गर्ने सहमति भएको छ । 

वडा नम्बर ५ का वडाध्यक्ष वासु श्रेष्ठले भन्नुभयो, “निर्वाचित हुनेबित्तिकै बाँदर नियन्त्रण गरिदिन किसानको जोडदार माग आएको छ । किसानले भनेका छन्, बरु हामीलाई विकास चाहिँदैन, बाँदर धपाइदिए खेतीको काम हामी मन लगाएर गर्छौं र खानलाई अन्नको समस्या हुँदैन ।”

गत सालको गोरखापत्र दैनिकमा ‘बाँदर धपाइदिने दललाई मात्र भोट दिने’ शीर्षकमा प्रकाशित समाचारको प्रभावले नयाँ जनप्रतिनिधिले चासो राखेको जानकारी दिँदै पीडित किसान चन्द्रकुमारी बुढाथोकीले भन्नुभयो, “बाँदरका सबै समस्या सदाका लागि न्यूनीकरण गर्ने घोषणापत्र लिएर आउने दललाई मात्र भोट दिन गाउँको सहमति भएको थियो ।” 

आफ्नो भएको थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरको बथान आएर नष्ट पार्ने समस्याले भोको हुनुपर्ने चिन्ता बढेको भन्दै उहाँले भन्नुभयो, “बारीमा लगाएको अन्नबाली भिœयाउन पाइँदैन । बाँदरबाट बाली जोगाउन मुस्किल पर्छ । दिनहुँ गोठालो लाग्दा अरू काम गर्न पाइँदैन । निकै समस्या परेको छ ।” 

खेतबारीबाट धपायो, घरमा आउने र पकाएको भातको कसौँडी नै लिएर जाने गरेको छ । भात खाएर कसौँडी छोडेर हिँड्छ । पहिला मकै खाने गरेको बाँदरले अहिले आलु, केराउ, बकुल्ला, प्याज, लसुनसमेत पनि बाँकी नराखेको गाउँलेको गुनासो छ । पहिलाका जनप्रतिनिधिले दिएको बाँदर भाग्ने बन्दुकजस्तो पड्किने मेसिन दिए पनि सधैँका लागि दुःख हटेन । नगरपालिकाले दिएको मेसिनले काम नगरेको उहाँको भनाइ छ । 

बन्दुकजस्तो मेसिन वडावासी सबैका निम्ति भन्दै नगरपालिकाले दिएको थियो । पहिले पहिले त्यो मेसिन पड्काएको ठूलो आवाज सुनेर बाँदर भाग्थे । अहिले त बाँदर चलाख भएका हुन् कि, भाग्नै छाडे, बुढाथोकीले भन्नुभयो ।

अर्का पीडित उमेश घतानीले भन्नुभयो, “पहिलेका जनप्रतिनिधिको कार्यकाल आशा देखाउँदैमा बित्यो । हाम्रा लागि जल्लोबल्दो समस्या बनेको बाँदर भगाउने जनप्रतिनिधि चुन्यौँ भन्ने लागेको छ । यो एक जनाको मात्र समस्या होइन, पूरै गाउँको समस्या हो । बाँदर नधपाउञ्जेल गाउँ पूरै एक हुन्छौँ । घचघच्याइरहन्छौँ ।”

यहाँ पाँच वर्षअघिसम्म बाँदरको समस्या थिएन । त्यतिबेला निकै कम सङ्ख्यामा बाँदर रहेका थिए र  जङ्गलमै रहन्थे । अहिले बाँदरको सङ्ख्या ह्वात्तै बढेको छ । बर्सेनि बढ्दै जाँदा किसानको हैरानी पनि बढ्दो छ । बाँदर आतङ्क हटे किसान उत्साहित भएर खेतीमा लाग्ने र अन्न उत्पादन पनि सहज हुने गाउँवासी बताउँछन् ।