• ८ असार २०८२, आइतबार

दुई पालिकाले आफ्नै भवन बनाउँदै

blog

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवन । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार ८ गते  । सिन्धुली जिल्लामा दुई वटा स्थानीय तहले आफ्नो प्रशासकीय भवन धमाधम बनाइरहेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये गोलन्जोर र घ्याङलेख गाउँपालिकाले भवन निर्माणका लागि सङ्घीय सरकारबाट सहयोग प्राप्त गरेपछि आफ्नोसमेत लगानी गरी भवन निर्माण कार्य अघि बढाएका हुन् । बाँकी सात वटा पालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिसकेका छन् । 

भाडाको घरबाट दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आएको गोलन्जोर गाउँपालिकाले कुल छ करोड ११ लाख ११ हजार रुपियाँ (भ्याटबाहेक) को लागतमा चारतले ३८ कोठाको उक्त भवन निर्माण भइरहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले नेपाल सरकार स्थानीय पूर्वाधार कार्यालयको ६० प्रतिशत र बाँकी ४० प्रतिशत गाउँपालिकाले बेहोर्ने गरी भवन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । उक्त भवन निर्माणका लागि पाइनस कन्स्ट्रक्सन प्रालि बानेश्वरले दुई वर्षमा सक्ने गरी २०८० भदौ १२ गते ठेक्का सम्झौता गरेको छ । उहाँले भन्नुभयो, “ठेकेदारले काम रफ्तारमा गरे पनि सङ्घीय सरकारबाट आउनुपर्ने बजेट नआएपछि काममा ढिलासुस्ती आएको छ ।”

“सङ्घीय सरकारले साढे चार करोड रुपियाँ पठाउनुपर्ने छ तर अहिलेसम्म करिब ८२ लाख रुपियाँ मात्रै आएको छ,” अध्यक्ष बरालले भन्नुभयो, “पुरस्कार खाने गरी ठेकेदारले रफ्तारमा काम गरेको देखिन्थ्यो । गएको वैशाखमा नै काम सकिन्थ्यो । सङ्घीय सरकारले पठाउनुपर्ने पैसा बेलैमा नपठाएपछि काममा ढिलासुस्ती भएको छ ।”

त्यस्तै घ्याङलेख गाउँपालिकाको पनि झन्डै तीन वर्षदेखि प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माण हालसम्म ४५ प्रतिशत सकिएको छ । सङ्घीय सरकारको तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपियाँ र गाउँपालिकाको दुई करोड २५ लाख ३० हजार ४३८ रुपियाँ गरी कुल पाँच करोड ६३ लाख २६ हजार ९५ रुपियाँको लागतमा उक्त भवन निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । 

प्रमुख प्रशासनिक भवन निर्माण नहुँदा अहिले दुई वटा भवनबाट सेवा प्रवाह गरेको र साना कोठा भएका कारण सेवा प्रवाहमा कठिन भएको छ । गाउँपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएको थियो । अहिले २ नम्बर वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाइएको छ । विषयगत शाखा भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको छ । 

भवन निर्माणका लागि १८ महिनामा सक्ने गरी पिपी ईश्वरी जेभी मन्थली रामेछापले २०७९ भदौ ३१ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो । त्यसपछि दुई पटक छ÷छ महिना म्याद थप गर्दा पनि ४५ प्रतिशत मात्रै भवन निर्माण सकिएको गाउँपालिकाले जनाएको छ । भवनको दुई महिनाअघि ढलान सकिएको र अब गारो लगाउने काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक फागुन महिनामा चैतबाट लागु हुने गरी छ महिनाका लागि म्याद थपेको र अब भवन निर्माणको म्याद २०८२ भदौसम्म रहेको छ । 

फिक्कल गाउँपालिकाको पनि झन्डै छ करोड रुपियाँ निर्माण लागतमा प्रमुख प्रशासकीय भवन निर्माण भएको र उद्घाटन गरी सेवा प्रवाह सुरु गर्न बाँकी रहेको जनाएको छ । दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तीनपाटन गाउँपालिकाले प्रशासनिक नयाँ भवन निर्माण गरेको जनाएका छन् । कमलामाई नगरपालिकाकोे भने पहिलेदेखि नै आफ्नै प्रशासनिक भवन रहेको जनाएको छ ।