• ४ असार २०८२, बुधबार

मेलम्ची र लार्चाले बगाए अस्थायी पुल

blog

मेलम्चीको बाढीले बगाएको मेलम्ची नगरपालिका–११ को अस्थायी पुल ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, असार ४ गते  । सोमबार राति मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२, लार्चाको अस्थायी पुल (ह्युमपाइप) बगाएको छ । 

फट्टेको अस्थायी पुल बगाएपछि मेलम्चीबाट दुवौचार र पाल्चोकतर्फ जाने सडक अवरुद्ध भएको छ । बाह्रबिसे–तातोपानी नाका सडकसमेत अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर कार्कीका अनुसार केही दिनदेखि परेको वर्षाका कारण मेलम्चीको बाढीले सोमबार राति फट्टेको अस्थायी पुल बगाएको थियो । ह्युमपाइप बगाएपछि मेलम्ची नगरपालिका–७, ८, हेलम्बु गाउँपालिका–२ र ३ र पाँचपोखरी थाङ्पाल गापा–१ र २ नम्बर वडाका स्थानीयलाई प्रत्यक्ष असर पुगेको छ । 

इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर कार्कीले असार २ गते राति भोटेकोशी नदी उर्लेर आएपछि लार्चाको ह्युमपाइप बगाएको जानकारी दिनुभयो । ह्युमपाइप 

बगाएपछि तातोपानी नाका जोड्ने सडकसँग सम्बन्ध टुटेको इप्रकाले जनाएको छ । बर्सातले भोटेकोशी नदीको बहाब बढिरहेको छ । लार्चामा बेलिबिज्र हाल्ने काम भइरहेकाले केही दिनमा सम्पन्न हुने बताइएको छ । 

बाढीले ह्युमपाइप बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालवाहक कन्टेनर नाका क्षेत्र नै रोकिएका छन् । गत वर्ष असोज ११ र १२ गते आएको भोटेकोशी नदीको बाढीले लार्चाको बेलिब्रिज बगाएको थियो । सडक विभाग, गाउँपालिका, स्थानीय जलविद्युत् आयोजनासँग समन्वय गरेर सडक खुलाउने काम भइरहेको राईले जानकारी दिनुभयो ।