• १५ असार २०८१, शनिबार

नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनुहुँदैन : सांसद ज्ञवाली

blog

काठमाडौं, असार १ गते । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका सांसद ज्ञवालीले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एमपीपी) सम्झौताको विषयले ध्यानाकर्षण भएको भन्दै कसको अन्डरमा, कसको ब्यानर र कसको कमान्डमा नेपाली सेना यो ढङ्गबाट अगाडि बढिरहेको वा बढाइएको भनी प्रश्न गर्नुभएको हो ।

सांसद ज्ञवालीले यस विषयमा सरकारले संसदलाई जानकारी दिन पनि माग गर्नुभएको छ । ‘‘यति गम्भीरतापूर्वक यो विषयमा कुरा उठिरहेको छ । यसबारेमा सरकारले जवाफ नदिने ? यस्तो गम्भीर विषयमा दलहरुबीच छलफल हुनुपर्दैन ? दलहरुको सरोकारलाई सम्बोधन गर्नुपर्दैन ?’’ उहाँले भन्नुभयो ।

प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उहाँको भनाइ छ । नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको थियाे तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको उहाँले आरोप लगाउनुभयो ।

‘‘कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि बढाउन खोजिँदैछ ?,’’ उहाँले भन्नुभयो, ‘‘नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’’