• १५ असार २०८१, शनिबार

सुनसान बन्दै गएको नाढीमन ताल

blog

सर्लाही समाचारदाता

सर्लाही,असार १ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय सुनसान देखिन थालेको छ । २०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालिन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरू ह्वात्तै बढेका भए पनि पछिल्लो केही समययता सुनसान देखिएको हो ।

चन्द्रनगर गाउँपालिकाको मातहतमा आएको त्यस तालमा अवलोकनका लागि अचेल मानिसहरू जान छोडिसकेका छन् । बिग्रिएर लामो समय थन्काइएका बोट केही साताअघि सञ्चालनमा ल्याइएको थियो तर तालमा बोट सञ्चालन हुँदा पनि मानिसको उपस्थिति भने खासै छैन । 

चन्द्रनगर गाउँपालिका–६ का स्थानीय पुनित पासवानले तालमा सञ्चालन हुने बोट बिग्रिएको लामो समयसम्म सञ्चालन नगर्दा र तालको सरसफाइसहित अन्य विकासमा ध्यान दिन नसक्दा ताल घुम्न आउनेहरू घटेका बताउनुभयो । “कोरोना सङ्क्रमणले गर्दा बीचमा ताल अवलोकनमा नै बन्देज लगाइयो, सङ्क्रमण सामान्य भएपछि पनि तालका बोटहरू मर्मत गरेर सञ्चालन गर्न वास्ता गरिएन,” पासवानले भन्नुभयो, “यसअघिका जनप्रतिनिधिले तालको विकासमा बेवास्ता गर्दा यस्तो अवस्था आएको छ । प्रदेशकै पर्यटकीय स्थल ओझेलमा परेको अवस्था छ ।” 

सुरुमा टाढा–टाढाका मानिसहरू ताल घुम्न आउँदा गाउँमा चहलपहल बढेपछि खुसी भएका स्थानीय अहिले निराश भएका छन् । सरकारले एक सय उत्कृष्ट पर्यटकीय स्थलका रूपमा नाढीमन ताललाई समेत समेटेको छ तर हिजोआज तालमा पुग्नेहरू भने नगन्य छन् । गाउँपालिकाले मर्मत गरेर तयार पारेका बोट चढ्ने मानिस नै नभएपछि प्रयोगविहीन बनेका छन् । 

५२ बिघामा फैलिएको यो ताल अहिले अतिक्रमणका कारण करिब ३२ बिघामा खुम्चिएको छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफू भर्खरै निर्वाचित भएर आएको र आगामी दिनमा तालको विकासमा लागिपर्ने बताउनुभएको छ । “अहिले बोटहरू त सञ्चालनमै छन् तर तालको अवलोकनका लागि आउनेहरू छँदै छैनन्,” गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “हामी निर्वाचित भएर आएको दुई-तीन हप्ताजति मात्रै भयो, अब तालको विकास हुने गरी काम गर्छौं ।”