काठमाडौँ, असार २ गते । गोरखापत्र संस्थानमा कार्यरत वरिष्ठ कम्प्युटर अधिकृत अमिरमैया रञ्जितले उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएकाले उहाँको बिदाइ गरिएको छ ।
उहाँ २०४७ भदौ २९ गते संस्थान सेवामा प्रवेश गर्नुभएको र सोमबार उमेर हद ५८ वर्ष पुगेकाले उहाँको बिदाइ गरिएको हो । उहाँले संस्थानमा ३४ वर्ष ९ महिना तीन दिन सेवा गर्नुभएको छ ।
संस्थानमा आयोजित बिदाइ कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उहाँलाई सम्मान पत्र, मायाको चिनोसहित सम्मानित गर्नुभयो । कार्यकारी अध्यक्ष सुवेदीले रञ्जित कामप्रति लगाव र अभिरुचि राख्ने कर्मचारी भएको भन्दै प्रशंसा गर्नुभयो ।
दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले राइजिङ नेपालको पृष्ठ डिजाइनमा रञ्जितले देखाउनु भएको कार्यकुशलता सराहनीय रहेको छ, आगामी दिन सुखी रहुन भनी शुभकामना दिनुभयो ।
यसैगरी, सामान्य प्रशासन तथा सूचना प्रविधि विभाग प्रमुख रेखादेवी श्रेष्ठ र कर्मचारी प्रशासन प्रमुख नरेन्द्र श्रेष्ठले रञ्जितसँग काम गर्दाको अनुभव सुनाउनुभयो ।
सेवा निवृत्त रञ्जितले जोश, जाँगर र काम गर्ने इच्छा हुँदा हुँदै बिदा हुनु परेको उल्लेख गर्दै भावी दिनमा संस्थानको अझ प्रगति भएको देख्न चाहेको बताउनु भयो ।
बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्ले, डिजिटल प्रमुख नारदमुनि गौतम, गोरखापत्र अनलाइनका निमित्त सम्पादक तथा सञ्चालक समितिका सदस्य लोकबहादुर चौधरी, योजना विभागका प्रमुख भगीरथ बस्नेत, मुद्रण विभाग प्रमुख ओम भुसाल, अर्थ विभाग प्रमुख राजुकुमार महत, व्यापार विभाग प्रमुख गङ्गबहादुर पन्थीलगायत सहभागी हुनुहुन्थ्यो । सहभागीहरूले रञ्जितको भावी जीवन स्वस्थ र समृद्ध रहोस भनी कामना गर्नुभयो ।