• ६ जेठ २०८१, आइतबार

परिचयपत्रलाई विवरण टिपाउनै सकस

blog

बनेपा समाचारदाता 

बनेपा, असार १ गते । काभ्रेको तेमाल गाउँपालिका–४ की पासाङ तामाङ मङ्गलबार बिहान ४ बजे धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन (फोटो खिचाउन) लाइनमा बस्नुभयो । बिहान ४ बजे राष्ट्रिय परिचयपत्रको फोटो खिच्न आउनुभएकी पासाङले बिहान ९ बजे फोटो खिच्ने टोकन पाउनुभएकाे हो । 

“बिहान ३ बजे काठमाडौँ बौद्धबाट दाइसँग परिचयपत्रको फोटो खिच्न धुलिखेल आइपुगेको हुँ” उहाँले थप्नुभयो । उहाँले सोमबार कार्यालयमा आउँदा भोलि बिहानै आएर लाइन बस्नु भनेकोले मङ्गलबार बिहान ४ बजे नै आएर लाइन लागेको बताउनुभयो । यस्तै नमोबुद्ध नगरपालिका–७, चरङ्गेफेदीका विजय श्रेष्ठ पनि मङ्गलबार बिहान ४ः३० बजे कार्यालयमा राष्ट्रिय परिचयपत्रको फोटो खिच्न आएको बताउनुभयो । उहाँले सोमबार आउँदा टोकन सकिएको र पालो नआएकोले मङ्गलबार परिचयपत्रको फोटो खिच्न आएको बताउनुभयो । 

“गाउँमा टोली जाँदा छोराको नागरिकता बनाएको थिएन, अहिले राहदानी बनाउनका लागि परिचयपत्र अनिवार्य भएकोले राहदानी बनाउनका लागि परिचयपत्रको फोटो खिच्न बिहानै आएका हौँ,” विजयका बुवा श्रीकृष्ण श्रेष्ठले बताउनुभयो । 

कार्यालयमा रहेका कर्मचारी र स्रोत साधनबाट दैनिक ८० जनाको मात्रै विवरण भरेर फोटो खिच्न सकिने क्षमता भए पनि सयभन्दा बढीको सङ्ख्यामा परिचयपत्रको फोटो खिच्न आउने भएकोले कार्यालयका बिहान ४÷५ बजेदेखि नै लाइन बस्न भीड लाग्ने गर्दछ । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहको निर्वाचन तथा एसईई परीक्षा सकिएकोले परीक्षा सकेको बच्चासँगै आमा, बाबुसमेत राष्ट्रिय परिचयपत्रको फोटो खिच्न कार्यालयमा आउने क्रम बढेकोले फोटो खिच्न आउने सेवाग्राहीको भीड बढेको बताउनुभयो । 

“हामीसँग दुई जना कर्मचारी, दुईवटा कम्प्युटर र क्यामरा रहेकोले दैनिक ८० जनाको मात्रै फोटो खिच्न सकिने क्षमता छ तर अहिले पनि हाम्रा कर्मचारीले खाजापानी नभनी काम गरिरहनुभएको छ,” प्रजिअ पाण्डेले थप्नुभयो । उहाँले कहिलेकाहीँ १२० जनाको फोटो खिचिएको बताउनुभयो । 

प्रजिअ पाण्डेले कार्यालयका राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराउन आउनेको सङ्ख्या बढेका कारण स्थानीय तहलाई छुट्टाछुट्टै बार तोक्ने तयारी गरिएको बताउनुभयो ।