• २० असार २०८१, बिहिबार

चितुवाको आक्रमणबाट १२ जनाको मृत्यु, अझै रोकिएन बन्दीपुरमा आतङ्क

blog

बन्दीपुर–१ को बोडिश्वाँरा चितुवाले मान्छेलाई आक्रमण गरेपछि जम्मा भएका स्थानीय । तस्बिर:अमरराज नहर्की

तनहुँ, असार १ गते । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । पाँच वर्षको अवधिमा मात्र जिल्लामा चितुवाकै आक्रमणबाट १२ जनाको मृत्यु भई सकेको छ । यता चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि बन्दीपुरका बासिन्दा त्रसित भएका हुन् । 

चितुवा दिउँसै बस्तीमा पसेर मानिसलाई आक्रमण गर्ने क्रम नरोकिएपछि बन्दीपुरका बासिन्दा आतङ्कित बनेका छन् । चितुवा प्रभावित बासिन्दा दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएको छ । विसंं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

यता मङ्गलबार दिउँसो सवा ४ बजे चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षको छोरा सुप्रिप रिलामी मगरको आक्रमण गरेर मारेपछि स्थानीय वासिन्दा झन् डराएका छन् । नरभक्षी चितुवाले दिउँसै बस्तीमा आएर आक्रमण गर्ने गरेकोले आतङ्कित बनेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । फेरी आक्रमण गर्ने डरले त्रसित भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ । ‘हिङ्स्रक चितुवा घरी घरी बस्तीमा आईरहेकोले स्थानीय बासिन्दा त्रसित भएका छन्’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । 

आईतबार विहान वडा नं. १ को बाघदलेमा बस्ने बर्ष ३४ को हिमलाल गरन्जा मगर आफ्नै घरको पिढीमा सुतिरहेको अवस्थामा आक्रमण गरेर घाईते बनाएको थियो । वडा नम्बर ४ को टावर बस्ने सन्तोष थापाको ८ वर्षकी छोरी रियाना थापालाई शनिबार साँझ ८ः३० बजे घरमै आएर चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।  ति दुई मात्रै नभई आसपासको वस्तीमा पुन:  चितुवा आउने गरेकाले नरभक्षी चितुवालाई नियन्त्रणमा लिनु पर्ने माग स्थानीय वासिन्दाको रहेको उहाँले जानकारी दिनुभयो । 

हाल चितुवाले बच्चा हुर्काउने बेला भएकोले आहार जङ्गलमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हुनसक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । साथै काफ्ले चितुवा बुढो भएर दाँत नङ्ग्राहरु भाँचिदै गएका र शिकार गर्न नसक्दा मान्छेको बच्चालाई आक्रमण गरेको हुन सक्ने बताउनुभयो । डिभिजन वन कार्यालयले एक सूचना जारी गरी बालबालिकालाई एक्लैदुक्लै नछाड्न, घर वरीपरीको झाडी फाड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

वनमा चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा मानिसले मारेर खाईदिँदा लोप हुँदै गएकोले आहारा नहुँदा  चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको सहायक डिभिजन वन अधिकृत काशीराम पण्डित बताउनुहुन्छ । 

Author

अमरराज नहर्की