• ३० जेठ २०८२, शुक्रबार

सञ्चारकर्मीले विभेद अन्त्यका लागि कलम चलाउनुपर्छ : मन्त्री लेखी

blog

कार्यक्रममा उपस्थित मधेश प्रदेशका सरकार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलगायत गोरखापत्र संस्थाका पदाधिकारी। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर (धनुषा), जेठ २९ गते। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभयो। बिहीबार धनुषाको ढल्केबरमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेश प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुई दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री लेखीले यो कुरा बताउनुभयो। 

उहाँले टेलिभिजन, रेडियो र प्रदेश समाचार समितिको स्थापना गर्ने तयारीसमेत अघि बढाइएको बताउँदै त्यसबाट प्रदेशका करिब ५० देखि ६० जनासम्म सञ्चारकर्मीलाई रोजगारीको अवसर प्राप्त हुने जानकारी दिनुभयो। 

मन्त्री लेखीले सञ्चारकर्मी र सञ्चार क्षेत्रको अभिवृद्धिका लागि मन्त्रालयलले प्रदेशका आठवटै जिल्लामा रहेका नेपाल पत्रकार महासङ्घका शाखालाई १० लाख रुपियाँका दरले उपलब्ध गराउने योजनासमेत अघि बढाइएको उल्लेख गर्नुभयो। उहाँले सञ्चार महोत्सव, कार्यशाला गोष्ठी तथा पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम मन्त्रालयमार्फत नियमित रूपमा सञ्चालन गर्ने  स्पष्ट पार्नुभयो।

सञ्चार क्षेत्रमा प्रदेश सरकारले सुरु गर्न लागेको यस्ता संस्थागत संरचनालाई लिएर कतिपय स्थानबाट असन्तुष्टि व्यक्त भएको बताउँदै मन्त्री लेखीले आगामी बजेटमा समेत कार्यक्रमलाई समावेश गरिएको जानकारी दिनुभयो। 


सङ्घीय लोकतान्त्रिक गणतन्त्रले विविधतामा रहेको नेपाली समाजका सबै नागरिकको अधिकार सुनिश्चित गर्ने प्रणाली भएको उल्लेख गर्दै मन्त्री लेखीले सञ्चारकर्मीले अझ जिम्मेवार भएर समाजमा रहेका विभेद र विभाजनको अन्त्यका लागि कलम चलाउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “हामी छिटपुट रूपमा व्यवस्थाविरुद्ध गतिविधि देखिरहेका छौं। यसको जिम्मेवारी लिनुपर्छ। हाम्रो व्यवहार, जीवनशैली र कार्यशैलीले ठुलो अर्थ राख्छ।” उहाँले प्रदेश सरकारबाट सञ्चारकर्मीले पाइरहेको सेवा सुविधाभन्दा अझ बढी र दीर्घकालीन योजना ल्याउन लागेको पनि जानकारी दिनुभयो।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले यस्ता कार्यक्रमले गोरखापत्र परिवारलाई थप ऊर्जा र हौसला मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “गोरखापत्र पत्रकारिताको पाठशाला हो। यसको गरिमा अझ बढाउने गरी प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै गोरखापत्रलाई जनमुखी, अनुसन्धानमुखी र जिम्मेवार पत्रिकाका रूपमा विस्तार गर्दै लैजाने योजनामा छौं।” अध्यक्ष सुवेदीले गोरखापत्रलाई सार्वजनिक सेवा पत्रकारिताको अवधारणाअनुसार अघि बढाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो। 

त्यस्तै, कार्यक्रममा गोरखापत्र संस्थानका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र केवल सूचना दिने माध्यम मात्र नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवाज भएको बताउनुभयो। प्रदेशका सवाल, नागरिकका अधिकार र जनजीवनका विविध आयामलाई समेटेर समाचार सम्प्रषेण गर्दै आएको उहाँले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “गोरखापत्रलाई डिजिटल माध्यममा समेत सशक्त बनाउँदै स्मार्ट पत्रिका बनाउने अभियानमा अघि बढिरहेको छ। नीति विश्लेषण, गहिरो रचनात्मक लेखन र समाज रूपान्तरणमा योगदान दिने सामग्रीलाई प्राथमिकता दिइने छ।”


आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाले प्राधिकरणले सञ्चार संस्थालाई जीवित राख्नका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो बजेट सीमित भए पनि रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई समान रूपमा वितरण गर्दै आएका छौं। दुई दिनसम्म चलेको उक्त कार्यक्रममा गोरखापत्र संस्थानका समाचारदाताको उल्लेखनीय सहभागिता रहेको थियो।