• १२ वैशाख २०८१, बुधबार

औद्योगिक पर्यटन मेला सम्पन्न

blog

प्रदर्शनमा राखिएको घरेलु सामग्रीको अवलोकन गर्दै सहभागी । तस्बिर :चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको पाँचदिने औद्योगिक तथा पर्यटन मेला सम्पन्न भएको छ । घरेलु उत्पादनको प्रवर्धन, विकास तथा बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजित मेला सोमबार सम्पन्न भएको हो । 

जिल्लास्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको मेलामा ताप्लेजुङसहित पाँचथर, इलाम र तेह्रथुमका उद्यमीले सहभागिता जनाएका थिए । आफूले उत्पादन गरेका सामग्रीसहित उद्यमीले मेलामा सहभागिता जनाएका हुन् । भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी, अलैँचीको रेसाबाट उत्पादन गरिने सामग्री, अल्लो र खाँडीका कपडा, काठका ठेकी, तोङ्बा, हर्पेजस्ता घरेलु सामग्रीहरु प्रदर्शनमा राखिएका थिए । 

यस्तै बाँसजन्य उत्पादनका सामग्री, तेह्रथुमे ढाका कपडा, प्रशोधित मह, कफी, फलामका सामग्री लगायत विभिन्न ३५ वटा घरेलु उत्पादनका स्टल राखिएका थिए । खाद्य परिकार महोत्सव, घरेलु कपडाको पहिरनमा फेशन सो, चोयाको डोका, परालको गजरा बुन्ने जस्ता क्रियाकलाप मेलामा समावेश गरिएको थियो ।   

जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आर्थिक सहयोगमा आयोजित मेला घरेलु उत्पादन, प्रवर्धन र बजारीकरण गर्नलाई राम्रो प्रचारप्रसार भएको आयोजकको दावी छ । 

मेलाको उद्घाटन तथा समापनमा जिम्मेवार सरोकारवालाले मेला आयोजनाले ताप्लेजुङको मात्र नभई पूर्व क्षेत्रकै घरेलु उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिनुभएको छ । घरेलु उत्पादनको प्रवद्र्धन र विकासमा जोड दिएमा आत्मनिर्भर बन्नलाई धेरै गाह्रो नहुने सरोकारवालाको भनाइ छ । स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थको प्रयोगबाट घरेलु सामग्री उत्पादन गरिने भएकाले आयआर्जन गर्न र आत्मनिर्भर बन्नका लागि घरेलु उद्यम सहज कर्म भएको बताइएको छ । 

यता मेलामा औद्योगिक सामग्री प्रदर्शनसँग विभिन्न साङ्गीतिक, साँस्कृतिक तथा साहित्यिक गतिविधि भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । भारतीका अनुसार पाँचदिने मेलाको करिब ५० हजारले अवलोकन गरी सहभागिता जनाएका थिए ।  

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।