• ४ साउन २०८१, शुक्रबार

बाँदर आतङ्कले किसान विस्थापित : विपत् घोषणाको तयारी

blog

बैतडीको दोगडाकेदारका बाँदरपीडित किसान जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि ।फाइल तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, जेठ ३१ गते । भारतबाट हुल बाँधेर आउने बाँदरले हैरानी खेलाएपछि बैतडीका किसान गाउँ छाडेरै हिँडेका छन् । बाँदर नियन्त्रणमा सरोकार निकायले पनि खासै चासो नदिएको गुनासो किसानको छ । दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका बाँदर पीडित गाउँका किसान विस्थापित भएपछि ती गाउँका विद्यालयसमेत खारेजीमा परेका छन् ।

विद्यार्थी सङ्ख्या नपुग्दा दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय अन्यत्र गाभिएका छन् । बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरासमेत बाँदरले खोेसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटाको पूरै परिवार भारत पलायन भएका छन् ।

बाँदर आतङ्कले कोही तराई झरे । कोही मजदुरी गर्न पाखा बारी त्यसै छाडेर भारत हिँडे । कतै जान नसकेका किसान बाँदर नियन्त्रण गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएर बसेका छन् । बैतडीको दोगडाकेदार–४ का बासिन्दाले जङ्गली जनावर नियन्त्रण र खाद्यान्न माग गर्दै पटक–पटक वडा कार्यालयदेखि जिप्रका कार्यालयमा धर्ना दिइसकेका छन् । दोगडाकेदारका किसान माघदेखि आन्दोलित बनेका छन् । उनीहरूले वडा कार्यालयमा तालाबन्दीसमेत गरिसकेका छन् यद्यपि समस्या सम्बोधन कतैबाट हुन नसकेको किसानको गुनासो छ ।

बाँदरका कारण दशरथचन्द नगरपालिकाका धौल्याली, साङ्डी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँबाट किसान विस्थापित भएका छन् । बाँदरले गाउँमा आतङ्क मच्चाउन थालेपछि दशरथचन्द नगरपालिका–५, ६, ८ र १० नम्बर वडाका किसान तराई झरेका छन् ।

बाँदरकै कारण बैतडीको दोगडाकेदार गाउँपालिका–४ का किसानले बाँदरका कारण खेतीपाती गर्न छोडेको स्थानीय हरिशरण भट्टले बताउनुभयो । दोगडाकेदार गाउँपालिका–४ का बाँदर पीडित किसान इन्द्रदेव भट्टले भन्नुभयो, “बीउ बराबर पनि अन्न नपाउने भएपछि किन खेती गर्ने ? बजारबाट ल्याएको खाद्यान्न पनि बाँदरको झुण्डले घरभित्रबाटै झम्टेर लैजान थालेपछि उठिबास हुने अवस्था आएको छ ।” 

बाँदर आतङ्कले गाउँले विस्थापित भएपछि दरशथचन्द नगरपालिका–८ मा रहेको रणशैनी आधारभूत विद्यालय अर्को गाउँमा रहेको जगदम्बा माध्यमिक विद्यालय रानीबुङ्गामा गाभिएको छ । कैलपाल आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले बाँदर आतङ्कले गाउँले विस्थापित भएपछि विद्यार्थी सङ्ख्या कम भएकाले विद्यालय बन्दको अवस्थामा पुगेको बताउनुभयो ।

विद्यार्थी सङ्ख्या नपुगेपछि ज्ञानेश्वर आधारभूत विद्यालय पनि दानेश्वर माविमा गाभिएको छ । गाउँमा रहेको विद्यालय अपायक पर्ने ठाउँमा गाभिएपछि स्थानीय साङ्डी गाउँका १५ जना विद्यार्थी सीमापारि भारतीय विद्यालय जाने गरेको स्थानीयवासी रघुवीर थापाले बताउनुभयो । 

विद्यालयमा विद्यार्थी सङ्ख्या नपुगेपछि दशरथचन्द नगरपालिका–१० को रणसैनी आधारभूत विद्यालय रातामाटा, शान्ति आधारभूत विद्यालय तिरखडेनी र ज्ञानेश्वर आधारभूत विद्यालय भटाला र वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय नकतडी बन्द भएका छन् । ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम र शिक्षक सङ्ख्या बढी भएपछि अन्यन्त्र गाभिएको दशरथचन्द नगरपालिका शिक्षा शाखाका कर्मचारी मोहन नाथले बताउनुभयो । दशरथचन्द नगरपालिकामा सामाजिक तथा विपत् शाखाका विनोद चन्दले भन्नुभयो, “दशरथचन्द नगरपालिकामा बाँदर आतङ्क विपत्कै रूपमा देखिएको छ । बाँदर आतङ्कलाई पनि विपत्को योजनामा समेट्ने तयारी भइरहेको छ ।”