• ६ जेठ २०८१, आइतबार

आश्रम र आँखा अस्पताल निरीक्षण

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ ३१ गते । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले हेटौँडा सामुदायिक आँखा अस्पताल र मानवसेवा आश्रमको निरीक्षण गर्नुभएको छ ।बागमती प्रदेश सरकारले बागमती प्रदेशमा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी हेटौँडामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका शाह र डङ्गोलले सोमबार अस्पताल र आश्रमको अवलोकन गर्नुभएको हो ।

समुदायस्तरमा मकवानपुरमा सञ्चालित देशकै नमुना कार्यक्रममा पर्ने सामुदायिक अस्पताल र आश्रमको सञ्चालन र व्यवस्थापनको बारेमा महानगरप्रमुख शाहले जानकारी लिनुभएको थियो । 

अस्पतालको गतिविधि बारेमा जानकारी लिँदै अस्पताल सञ्चालनको मोडल, अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापन, अस्पतालमा निःशुल्क सेवा लिनेको कसरी पहिचान गर्ने र खर्च व्यवस्थापनलगायतका बारेमा उहाँले जिज्ञाशा राख्नुभएको थियो ।  

नेपाल आँखा कार्यक्रम कार्यकारी सदस्य सिद्धीलाल श्रेष्ठ र आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले अस्पतालको गतिविधि र समग्र व्यवस्थापनसँगै अस्पतालका अवसर र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालले दैनिक तीन सय जनाको आँखा उपचारसँगै मोतीबिन्दुको निःशुल्क शल्यक्रियासमेत गर्दै आएको छ ।

यसैगरी महानगरप्रमुख शाह र उपप्रमुख डङ्गोलले मानवसेवा आश्रमको मुख्य कार्यालय अवलोकन गर्दै आश्रमले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी लिनुभएको छ । समुदायस्तरबाट सञ्चालित आश्रममा बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन आश्रित रहेका छन् । 

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले काठमाडौँ महानगरपालिकामा रहनुभएका सहयोगापेक्षी सडकआश्रित मानवलाई उद्धार गरी काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण एवं घोषणा गर्ने प्रस्ताव गरेको भन्दै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त समाज निर्माणमा भएका प्रयास र योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोल हेटौँडा सामुदायिक आँखा अस्पतालका गतिविधिका बारेमा जानकारी लिँदै ।