• १७ कात्तिक २०८१, शनिबार

ज्येष्ठ नागरिकको जीवनस्तर

blog

विश्वमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढ्दै जाँदा विभिन्न प्रकारका दुव्र्यवहारबाट पीडित हुनेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । यो अवस्थालाई मनन गरी यसलाई कम गर्ने र जनचेतना जगाउने उद्देश्यले सन् २००६ देखि अमेरिकास्थित इन्टरनेसनल नेटवर्क फर इल्डर एब्युस नामक संस्थाले हरेक वर्ष जुन १५ लाई ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहारका विरुद्ध विश्व जनचेतना दिवस मनाउन सुरु गरेको थियो । 

ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस, जुन १५ को विश्वव्यापी महत्त्व र आवश्यकतालाई मनन गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१२ देखि यो दिवसलाई मान्यता दिएको थियो । त्यसैले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका विरुद्ध विश्व जनचेतना दिवसको रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । अन्य मुलुकमा जस्तै नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । 

विश्व स्वास्थ्य सङ्गठनको परिभाषाअनुसार, ज्येष्ठ नागरिक (६० वर्ष माथिको उमेर) माथि हुने दुव्र्यवहार भन्नाले आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षतिलाई जनाउँछ । ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार पारिवारिक हिंसाचक्रको एक हिस्सा पनि हुन सक्दछ । 

सारांशमा ६० वर्ष माथिका व्यक्तिहरूका लागि उनीहरूको जीवनस्तर अनुरूप अमिल्दो व्यवहार वा बूढापाकाको आदर सम्मान गर्ने सामान्य सिद्धान्तको विपरीत हुने व्यवहार नै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१७ मा २८ वटा देशहरूलाई समावेश गरी ५२ वटा फरक विधिबाट दुव्र्यवहारसम्बन्धी अध्ययन गरेको थियो । सोअनुसार प्रत्येक ६ जना ६० वर्ष माथिका नागरिकमध्येमा  एकजना व्यक्ति कुनै न कुनै प्रकारको दुव्र्यवहारबाट पीडित भएको पाइयो । यो एउटा सामाजिक समस्याको रूपमा रहेको छ । 

सामान्यतयाः ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारहरू पाँच प्रकारका हुन्छन् । आय आार्जन वा धन सम्पत्तिको विषयलाई लिएर ज्येष्ठ नागरिकमाथि गरिने नराम्रा व्यवहारहरूलाई आर्थिक दुव्र्यवहार भनिन्छ । ज्येष्ठ नागरिकहरूमाथि कुटपिट गर्ने अथवा शरीरलाई असर गर्ने खालका दुव्र्यवहार शारीरिक दुव्र्यवहारको रूपमा लिइन्छ । ज्येष्ठ नागरिकहरूको गास, बास र कपासको साथै अन्य आवश्यकता पूरा नगरिदिने घरबाट निकालिदिने वा बेवास्ता गर्ने खालको व्यवहारहरू हेला गरेको समूहभित्र पर्दछन् ।

शरीर नछोइकन, धनमालको क्षति नगरिकन, पीडितसँग सोझै नबोलिकन, यस्तो इसारा गर्नु, व्यवहार गर्नु या परिस्थितिको सिर्जना गर्नु जसबाट लक्षित व्यक्तिलाई तनाव होस्, मानसिक पीडा होस्, अप्ठ्यारो परोस्लाई मानसिक दुव्र्यवहार भनिन्छ । ज्येष्ठ नागरिकहरूको इच्छा विपरीत जबर्रजस्ती उनीहरूलाई यौन सम्बन्धित कार्यमा लगाउनु वा यस्ता कार्यमा लाग्न बाध्य बनाउनुलाई यौन दुव्र्यवहार भनिन्छ । 

विश्व समुदायमा बढ्दै गइरहेको ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका घटनाहरू एकदमै कम मात्र बाहिर आउँदछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारसम्बन्धी विश्वको तथ्याङ्क हेर्दा प्रत्येक २४ घटनामा एक घटना मात्र बाहिर आउँदछ । नेपालमा पनि यही खाले अवस्था रहेको छ । पारिवारिक इज्जतको डर, उजुरी गर्ने उपयुक्त निकायको अभाव र आफ्नो हक अधिकारबारे अज्ञानताको कारणले गर्दा आफू दुव्र्यवहारमा परेको घटना बाहिर ल्याउन र स्वीकार्न ज्येष्ठ नागरिकहरू हिचकिचाउने गर्दछन् । 

नेपालमा ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारसँग सम्बन्धित तथ्याङ्कको कमीलाई पूर्ति गर्ने उद्देश्यले एजिङ नेपाल नामक संस्थाले काम गर्दै आइरहेको छ । यस संस्थाले विभिन्न राष्ट्रिय दैनिक पत्रिका, अनलाइन पत्रिका र पुलिस रिपोर्टको आधारमा ज्येष्ठ नागरिकमाथि भएका दुव्र्यवहारको तथ्याङ्क सङ्कलन गर्ने गर्दछ । यस संस्थामा प्राप्त तथ्याङ्कअनुसार, विगत दस वर्षयता दुई हजार १२ जना ज्येष्ठ नागरिक विभिन्न प्रकारका दुव्र्यवहारबाट पीडित भएका थिए भने दुव्र्यवहारबाट एक हजार ६५० जनाले ज्यान गुमाएका थिए । 

संस्थामा उपलब्ध तथ्याङ्कहरूलाई विश्लेषण गर्दा महिलाको तुलनामा पुरुषहरूमा बढी दुव्र्यवहार हुने गरेको पाइयो । दुव्र्यवहारबाट मृत्यु हुनेमा पनि महिलाभन्दा पुरुष बढी भएको पाइयो । भावनात्मक तथा मानसिक दुव्र्यवहारमा तथ्याङ्क थोरै छन् ।

किनकी यस्ता दुव्र्यवहारको उजुरी नै एकदम कम हुन्छ । मद्यपान सेवन गरेका परिवारका सदस्यले, ज्येष्ठ नागरिकमाथि धेरै दुव्र्यवहार गर्ने गरेको पाइयो । परिवारमा बसेको ज्येष्ठ नागरिकमाथि धेरै दुव्र्यवहार गर्ने गरेको पाइयो । नजिकैको नातागोता (छोरा, श्रीमान् बुहारी र जुवाइँ) बाट बढी दुव्र्यवहार हुने गरेको देखियो । 

गाउँ घरको तुलनामा सहरी क्षेत्रमा भएका दुव्र्यवहारका घटनाहरू बढी मात्रामा समावेश भएको पाइयो । उमेर समूहअनुसार हेर्दा ६०–६५ वर्षका ज्येष्ठ नागरिकहरू बढी प्रभावित भएको पाइयो । दुव्र्यवहारका कुल तथ्याङ्कमध्ये ७५ प्रतिशत तथ्याङ्क पुलिस रिपोर्टबाट प्राप्त भएको थियो । दुव्र्यवहार गर्नेमा अधिकांश पुरुष र त्यसमा पनि २०–३० वर्षका रहेको पाइयो । 

नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारको कुरा गर्दा न्यायमा पहुँचको कुरा पहिले आउँदछ । जुन कानुनी पहँुच गाउँपालिका र नगरपालिकामा मात्र सीमित छ । त्योभन्दा माथिल्लो निकायमा उजुरी दिने निकाय छैन । अर्को कुरा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार गर्नेलाई कुनै कडा सजाय तोकिएको छैन । यसैगरी, ज्येष्ठ नागरिकहरू दुव्र्यवहारमा पर्नुमा अन्य कारणहरू पनि छन् । जस्तो उनीहरूले आफ्नो सम्पत्ति आफ्नै लागि प्रयोग गर्न सक्ने अवस्था छैन । 

अर्थात् बेचबिखन वा खरिद गर्नु परेमा परिवारको अन्य सदस्यलाई साक्षी राख्नुपर्ने हुन्छ । आफ्नो आवश्यकता र इच्छाअनुसारको काम गर्न नपाउने अवस्था छ । उमेर हदका कारण बैङ्कबाट ऋण झिक्न र बीमा गर्न सहज परिस्थिति छैन । ज्येष्ठ नागरिकका विषय सेवा प्रदायक सङ्घ संस्थाको प्राथमिकतामा एकदमै न्यून मात्रामा पर्ने गर्दछन् ।

ज्येष्ठ नागरिक मैत्री शिक्षा तथा तालिमका लागि कार्यक्रम र सङ्घ संस्थाको अभाव रहेको छ । ज्येष्ठ नागरिकका पीर मर्का, अन्याय र अत्याचारलाई न्यायिक दृष्टिले भन्दा कल्याणकारी दृष्टिले हेर्ने गरिन्छ । उमेर बढ्दै जाँदा भएका अधिकारबाट पनि वञ्चित हुँदै जाने परिस्थिति बढ्दै गइरहेको छ । 

ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहार रोक्नु हामी सबैको कर्तव्य हो । यसका लागि सरकारी तहदेखि व्यक्तिगत तहसम्मका नीतिनियम निर्माण साथै शिक्षा र तालिमको आवश्यकता पर्दछ । उजुरी लिने र समस्या समाधान गर्ने निकायहरूको माथिल्लो तहसम्म व्यवस्था हुनुपर्दछ । 

यदि कहीँकतै दुव्र्यवहार भएमा त्यस्ता घटनाहरूलाई बाहिर ल्याउनु पर्दछ ताकी दोषीले सजाय र पीडितले न्याय पाउन सकुन् । ज्येष्ठ नागरिकको सीप, दक्षता र अनुभवको उपयोग हुने खालका नीति तथा कार्यक्रम निर्माण गर्नुपर्दछ । 

सञ्चार माध्यमहरूले पनि यस्ता विषयमाथि कार्यक्रम निर्माण गर्नु पर्दछ । पाठ्यपुस्तक तथा शैक्षिक कार्यक्रमहरूमा ज्येष्ठ नागरिकका विषयलाई समावेश गरिनु पर्दछ । आज ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार रोक्नका लागि काम गर्नु भनेको भोलि आउने पुस्ताका लागि सुरक्षित बुढ्यौली निर्माण गर्नु हो । त्यसैले सामाजिक समस्याको रूपमा विकसित हुँदै आइरहेको ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार रोक्नका लागि सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।

Author

पवित्रा अधिकारी