• १८ असार २०८१, मङ्गलबार

गुल्मी जिससका लागि गठबन्धन र एमालेको उम्मेदवारी दर्ता

blog

जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै । तस्बिर ः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, जेठ ३० गते । असार १ गते हुने जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ–आफ्नो पार्टीको उम्मेदवारी दर्ता गराएका हुन् । यस जिल्लामा जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि सत्ता गठबन्धन र नेकपा (एमाले) ले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएको छ । 

जसमा सत्ता गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुख पदका लागि नेपाली काँग्रेसका द्रोणबहादुर खत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । खत्री स्थानीय तहको निर्वाचनमा चन्द्रकोट गाउँपालिका वडा नम्बर–३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चन्द्रकोट गाउँपालिकाको पूर्व अध्यक्षसमेत रहनुभएका खत्रीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले जिल्ला समन्वय समितिको प्रमुख पदको उम्मेदवारका लागि  निर्णय गरेको थियो । 

सत्ता गठबन्धनका जिल्लास्थित शीर्ष नेताहरुको सहमति अनुसार खत्रीले जिल्ला समन्वय समितिको प्रमुखका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । सत्ता गठबन्धनबाटै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का तेजेन्द्र सलामीले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्थानीय तहको निर्वाचनमा कालीगण्डकी गाउँपालिका वडा नम्बर–६ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

गठबन्धनबाट सदस्यहरुमा नेपाली काँग्रेसबाट महेश्वर भण्डारी, शेरबहादुर विश्वकर्मा, सुनिता जिसि, शेरबहादुर कुँवर, वीरबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट  सावित्रा पाण्डे भण्डारी र राष्ट्रिय जनमोर्चाबाट नरमाया रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नेकपा (एमाले) बाट जिल्ला समन्वय समितिको प्रमुखमा युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको हो । न्यौपानले स्थानीय तह निर्वाचनमा सत्यवती गाउँपालिका वडा नम्बर–६ बाट विजयी हुनुभएको थियो । उपप्रमुखमा रमादेवी पुनले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले स्थानीय तह निर्वाचनमा चन्द्रकोट गाउँपालिका–५ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

सदस्य पदमा पीताम्बर अर्याल, कृष्णप्रसाद भण्डारी, ज्ञानप्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थीले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा जिल्ला समन्वय समितिका लागि मतदाता संख्या २४ रहेको छ ।