काठमाडौँ, जेठ २३ गते । कुमार कट्टेल (जिग्री) निर्देशित चलचित्र चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्ष फागुन १४ गते प्रदर्शन भएको चलचित्रले काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एक सय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले मन पराएको प्रतिक्रिया दिनुभयो । चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामालगायतको अभिनय रहेको छ । यसै गरी उहाँले ‘लाज शरणम् २’ निर्माणको तयारीभइरहेको जानकारी दिनुभयो ।