• १३ असार २०८१, बिहिबार

मिटरब्याजी साहविरुद्ध राजविराजमा प्रदर्शन

blog

मिटरब्याजी रामदेव साहविरुद्ध पीडितहरुले राजविराजमा सोमबार गरेको प्रदर्शन तस्विर : माला कर्ण

माला कर्ण

कल्याणपुर, जेठ ३० गते । सप्तरीको मिटरब्याजी रामदेव साह तेलीविरुद्ध सोमबार सप्तरीको राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर साहले मिटरब्याजमा रकम असुल्नुका साथै सर्वसाधारणको जग्गासमेत कब्जा गरी शोषण गर्दैआएका पीडितहरुको आरोप छ । उजुरीको प्रहरीले वेवास्ता गर्दैआएको भन्दै पीडितहरुले न्यायका लागि प्रदर्शन गरेका हुन । 

स्थानीय शिव मन्दिर परिसरबाट निस्केको विरोध ¥याली राजविराज परिक्रमा गरेको थियो । साहलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुलाई न्याय दिलाउन प्रदर्शनकारीले माग गर्नुभएको छ । 

पीडित राधा पासवानकाअनुसार साहसँगै उनका पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै ठगी गरेको जाहेरी प्रहरीमा दिएका थिए । 

उजुरी परेपनि अनुसन्धानमा प्रहरीले आलटाल गर्दैआएको पीडितको गुनासो छ । विपन्नमाथि भएको अत्याचारबारे मिडियामा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएपनि प्रहरीले सक्रियता नदेखाएको स्थानीयको भनाई छ ।  

साहका छोरी अनुराधाकुमारी साहलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । छोरालाई यसअघि धरानबाट प्रक्राउ गरिसकेको छ । छोरीलाई आइतबार नै सप्तरी पठाएको प्रहरीले जनाएको छ । अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको थियो ।