• २० जेठ २०८२, मङ्गलबार

भारतले घटायो कच्चा खानेतेलको आयात शुल्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते । नेपालको निर्यातलाई ऐतिहासिक उचाइमा पुर्‍याएका भटमास, सूर्यमुखी र पाम तेलको कच्चा पदार्थमा भारतले आयात शुल्क घटाएको छ । शुक्रबार सूचना जारी गरेर कच्चा खानेतेलको आधारभूत आयात शुल्क १० प्रतिशतले घटाएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि यस्तो शुल्क २० प्रतिशत कायम थियो ।

घटेको भन्सार महसुल कच्चा पाम तेल, कच्चा भटमास तेल र कच्चा सूर्यमुखी तेलमा लागु हुने जनाइएको छ । यससँगै यी वस्तुको कुल भन्सार महसुल १६.५ प्रतिशत पुगेको छ जुन त्यसअघि २७.५ प्रतिशत थियो । कुल भन्सार महसुलमा आयात शुल्कसहित भारतको कृषि पूर्वाधार शुल्क र सामाजिक सुरक्षासँग सम्बन्धित थप शुल्कसमेत जोडिन्छ । 

कच्चा तेलमा आयात शुल्क घटाए पनि प्रशोधित तेलमा भने भारत सरकारले कुनै परिवर्तन नगरेको रोएटर्सले उल्लेख छ । अहिले भारतले प्रशोधित तेलमा ३५.७५ प्रतिशत आयात शुल्क लगाउँदै आएको छ । यससँगै कच्चा तेल र प्रशोधित तेलबिचको आयात शुल्कमा १९.२५ प्रतिशतको अन्तर हुने छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै यस्तो निर्णय लिएको उल्लेख गरिएको छ । 

भारत विश्वकै सबैभन्दा ठुलो वनस्पति तेलको बजार हो जसले कुल मागको ७० प्रतिशत आयातबाटै पूर्ति गर्छ । भारतले खास गरी इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट पाम तेल र अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट भटमास र सूर्यमुखी तेल आयात गर्छ । 

कच्चा भटमास र सूर्यमुखी तेलमा भारतले यसअघि लगाएको आयात शुल्क बढी हुँदा नेपाली व्यवसायीले कच्चा तेल आयात गरेर त्यसलाई प्रशोधन गरेर भारतमा निर्यात गरिरहेका थिए । नेपालले साफ्टाले दिएको सुविधा अनुसार भारतमा शून्य भन्सारको उपयोग गर्दै यी वस्तुको निर्यात गरेको थियो । 

भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को १० महिनामै नेपालले ८० अर्ब रुपियाँ बराबरको प्रशोधित भटमास र सूर्यमुखी तेल निर्यात गरेको छ । भारतले आयात शुल्क घटाएपछि भारतीय व्यवसायीले सम्बन्धित देशबाट सोझै कच्चा तेल आयात गर्ने भएकाले नेपालले अहिले लिइरहेको लाभ गुम्न सुक्ने सम्भावना रहेको व्यवसायीहरू बताउँछन् ।