बोमलाल गिरी
नवलपुर, जेठ १८ गते। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र देवचुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा आठ जना घाइते भएका छन्।
गैँडाकोट–८ विजयचोकमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दाङबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ४ ख. ५०५० नम्बरको माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार घाइते गोर्खा पालुङटार नगरपालिका–७ का ४२ वर्षीया शान्ता विक र ४५ वर्षीय कमल विक, दाङ तुलसीपूर उपमहानगर–१ का ३७ वर्षीय कृष्णकुमार नेपाल र ५० वर्षीय धर्मराज केसी तथा दाङको घोराही नगरपालिका–५ का ५० वर्षीया गीता वलीको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
त्यस्तै नवलपुरको मध्यविन्दु–९ का २१ वर्षीय सुवास श्रेष्ठ र २२ वर्षीया रेजिना श्रेष्ठको स्थानीय सामुदायिक मेडिकलमा उपचार भइरहेको छ। यस्तै नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा भारतीय कारले मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालक घाइते भएका छन्।
प्रगति टोलबाट प्रगतिनगर चोक तर्फ आँउदै गरेको लु. ६२ प. ८६१२ नम्बरको मोटर साइकललाई दलदलेबाट कावासोती तर्फ जाँदै गरेको युपी ९३ एफ २०२१ नम्बरको भारतीय कारले ठक्कर दिँदा देवचुली–१३ का ६८ वर्षीय चुडामणि पौडेल घाइते हुनुभएको हो। उहाँलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।