अस्मिता पोखरेल
धादिङबेँसी, जेठ १८ गते । धादिङबेँसीमा भएको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ । धादिङ जिल्ला क्रिकेट सङ्घले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले हात पारेको हो ।
धादिङबेँसीस्थित खुलामञ्चमा भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधि हात पारेको हो ।
नीलकण्ठका ओपनिङ ब्याट्म्यान सुसान रेग्मी र सन्दिप श्रेष्ठको सतकीय साझेदारीमा नीलकण्ठ नगरपालिकाले निर्धारित १५ ओभरमा १ सय ५१ रन बनाएको थियो । १ सय ५२ रनको टार्गेट लिएर ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजित भएको हो ।
उपाधि जितेसँगै नीलकण्ठले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बेनिघाट रोराङले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
त्यस्तै प्रतियोगीताभरकै उत्कृष्ट खेलाडीको रूपमा सन्दीप श्रेष्ठ, उदयीमान खेलाडीको उपाधी बेनिघाट रोराङ गाउँपालिका १२ वर्षीय खेलाडी अनमोल पाण्डेले पाएका छन् ।
प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं. ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट सङ्घको तर्फबाट सम्मान गरिएको थियो ।