• १८ जेठ २०८२, आइतबार

सन्दर्भ : विश्व धूमपानरहित दिवस

यता चुरोटको सर्को उता बिरामीको लर्को

blog

काठमाडौँ, जेठ १७ गते । स्वास्थ्य मन्त्रालय अन्तर्गतको भक्तपुर क्यान्सर अस्पतालका सबै वार्डमा प्रायः सधैँ बिरामीको भिड लाग्ने गरेको छ । शुक्रबार पनि अस्पतालको ओपिडी टिकट काट्ने लामदेखि विभिन्न वार्ड, फार्मेसी, प्रयोगशाला, विपन्न नागरिक शाखा र सामाजिक सुरक्षा रहेको कोठामा बिरामीको भिड देख्न सकिन्थ्यो । 

यसै दिन तीनकुनेस्थित एक कलेजनजिकै रहेको रेस्टुरेन्टमा कलेजको पोसाकमै विद्यार्थीले चुरोट तानिरहेका देखिन्थे । पछिल्लो समय विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीमा सुर्तीजन्य पदार्थको लत लागेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा युवापुस्तामा धूमपानको लत लाग्नु भविष्यका लागि ठुलो चिन्ताको विषय रहेको बताउनुहुन्छ । “सानो उमेरदेखि धूमपानमा लत लाग्नु देशका लागि ठुलो चुनौती हो,” सचिव डा. देवकोटाले भन्नुभयो, “सुर्तीजन्य पदार्थ नियन्त्रणमा सबै पक्ष लागेर युवापुस्तामा सुर्तीजन्य पदार्थ दुरुत्साहित गर्नु पर्छ ।” सचिव देवकोटाले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर लागेका बिरामीको भिडले गर्दा नेपालमा क्यान्सरको भयावह स्थिति रहेको छ भनेर आकलन गर्न सकिन्छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालको ओपिडीमा दैनिक पाँच सय बिरामी आउने गरे पनि २५ देखि ३० जनासम्मलाई क्यान्सर रोग हुने गरेको जानकारी दिनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले मृत्यु हुने गरेको छ । यस्तै प्रत्येक घण्टा चार जनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारणले हुन्छ । नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । भक्तपुरमा मात्रै गत तीन वर्षमा एक हजार नौ सय जनालाई फोक्सोको क्यान्सर देखिएको छ । अस्पतालको रेकर्ड अनुसार तीन वर्षमा १४ हजार २५० जनालाई क्यान्सर देखिएको छ । अस्पतालका निर्देशक डा. चालिसेले नेपालमा क्यान्सर रोगी बढ्नुका कारण सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न नसक्नु मुख्य कारणका रूपमा देखापरेको बताउनुभयो । 

स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार चुरोटको खुद्रा मूल्यमा १० प्रतिशत वृद्धि गर्दा उच्च आय भएका देशमा लगभग ४ प्रतिशत कम र मध्यम आय भएका देशमा ६ देखि ८ प्रतिशतले चुरोटको खपत घटेको छ । नेपालमा सबैभन्दा धेरै बिक्री हुने चुरोटको बजार मूल्य ३२० रुपियाँ छ भने भारतमा समान गुणस्तरको चुरोटको मूल्य ५४४ रुपियाँ पर्छ । 

भुटानमा विगत १० वर्षदेखि सुर्तीजन्य पदार्थमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । एक्सन नेपालका कार्यकारी निर्देशक आनन्दबहादुर चन्द सुर्तीजन्य कर बढाउनाले तुलनात्मक रूपमा गरिब मानिसलाई महँगो धूमपान गर्ने बानी त्याग्न मद्दत गर्ने बताउनुहुन्छ । उहाँले बजेटमार्फत सरकारले ३ प्रतिशत मात्रै कर वृद्धि गरेको जानकारी दिँदै विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार ७५ प्रतिशत कर वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्ती सेवन गर्नेको तथ्याङ्क बढिरहेको सन्दर्भमा जुनसुकै उपाय अपनाएर भए पनि सुर्तीजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गर्नुपर्ने बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भए पनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले नसर्ने रोगको प्रकोप बढिरहेकाले यसलाई रोकथाम गर्नुपर्ने भन्दै सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सुर्तीजन्य बनेका ऐन, कानुनलाई कडाइसाथ लागु गर्नुपर्ने बताउनुभयो । 

यसैबिच शनिबार विश्व धूमपानरहित दिवस मनाइँदै छ । नेपालमा स्वास्थ्य मन्त्रालय तथा अन्य सङ्घ संस्थाले धूमपानविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व धुमपानरहित दिवस मनाइँदै छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।