• ४ जेठ २०८१, शुक्रबार

युवाका लागि कृषि क्षेत्र उत्तम विकल्प

blog

युथ भिजन, १० वर्षे रणनीतिक योजना तथा राष्ट्रिय युवा नीतिका बारेमा परामर्श गोष्ठीमा सहभागी । तस्बीर ः गाेरखापत्र

गोरखापत्र समाचारदाता 

काठमाडौं, जेठ २९ गते । युवाका क्षेत्रमा भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला पक्षले सुझाव दिएका छन् । युवा नीति, युथ  भिजन र युवाका क्षेत्रमा भएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिइएको हो । 

राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) द्वारा आइतबार राजधानीमा आयोजित युथ भिजन, १० वर्षे रणनीतिक योजना तथा राष्ट्रिय युवा नीतिका बारेमा परामर्श गोष्ठीमा यस्तो सुझाव दिइएको हो । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले युवाका क्षेत्रमा भएका कार्यक्रमहरू विभिन्न मन्त्रालयमार्फत् छरिएर रहेकाले प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । युवाका लागि छुट्याइएको बजेटको पनि सदुपयोग हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘राज्यको रकम दुरुपयोग भइरहेको छ, प्रतिफल नआउनु भनेको दुरुपयोग हुनु हो नि ।’

उहाँले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेको बताउनुभयो । युवालाई उत्पादनका क्षेत्रमा जोड्नुपर्नेमा जोड दिदैँ उहाँले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको स्पष्ट पार्नुभयो । कृषि क्षेत्रमा ठूलो आयात भइरहेको अवस्था उल्लेख गर्दै उहाँले युवालाई कृषि उत्पादनमा जोड्न सक्ने विचार व्यक्त गर्नुभयो । 

युवाको विदेश पलायनलाई रोक्दै स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले देशको आवश्यकता अनुसारको जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । युवा नीति र युथ भिजनमा समयसापेक्ष परिवर्तन गर्नुपर्ने भएको पनि बताउनुभयो । 

बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले युवा नीतिअनुसारका कार्यक्रममा र कार्यक्रमको प्रभावकारी कार्यान्वनमा समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले युवालाई विभिन्न निकायबाट सीप सिकाउने काम भए पनि त्यो प्रभावकारी नबनेको तथ्य उल्लेख गर्दै तालिम र रोजगारीसँगसँगै जोडिनुपर्ने बताउनुभयो ।

उहाँले बेरोजगारीको समस्या सम्बोधन गर्न श्रम, व्यवसाय र रोजगारी सिर्जना हुनेसक्ने गरी बागमती सरकारले सार्थक नीति र कार्यक्रम ल्याउन पहल गरेको जानकारी दिनुभयो । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले धेरै नीतिगत व्यवस्था कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्नुभयो । परिषद्मार्फत् स्थानीय निर्वाचनका क्रममा युवा नेतृत्वको लागि पहल गरिएको उल्लेख गर्दै सोहीअनुसारको उपलब्धि हासिल भएको बताउनुभयो । तीन तहका सरकारबीचमा युवामैत्री शासन बनाउन र युवालाई स्वदेशमै रहेर काम  गर्ने वातावरणका लागि आफूले प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।