• १८ असार २०८१, मङ्गलबार

हावाहुरीबाट केराखेतीमा क्षति, १६ हजार बोट नष्ट

blog

हावाहुरीले ढालेर नष्ट पारेको केरा खेती । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, जेठ २९ गते । पश्चिम नेपालको बाँके–बर्दियामा शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीबाट फलफूलमा ठूलो क्षति पुगेको छ । अत्यधिक तीव्र गतिमा आएको हावा हुरीबाट दुबै जिल्लाका केरा र आँप खेतीलाई ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । 

ज्ञान केन्द्र नेपालगञ्जका अनुसार नेपाल कृषि विकास फार्मको बर्दिया गुलरिया र बाँकेको कोहलपुरस्थित केरा खेतीमा हावाहुरीले ठूलो नोक्सानी पुगेको छ । दुबै जिल्लामा गरिएको सो फार्मको करिब १६ हजारभन्दा बढी केराका बोटहरु ढलेर नष्ट भएको छ । त्यसमा लागेको तयार हुनै थालेको केरा नष्ट भएको जानकारी आएको केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो । 

बाँके र बर्दियामा १० विघा जग्गामा गरिएको केरा खेतीको आधाभन्दा बढी बोटहरु हावाहुरीले ढालेर नष्ट पार्दा करिब २० लाख रुपियाँको क्षति भएको जानकारी आएको जनाउँदै सो बारेमा थप अपडेट आउने क्रममा रहेको बताउनुभयो । 

नेपाल कृषि विकास फार्मका प्रमुख देवेन्द्र अधिकारीले बर्दिया र बाँकेमा गरिएको केराखेतीमा ठूलो क्षति पुगेको जनाउँदै बर्दियामा मात्रै १२ हजार केराका बोट नष्ट भएको जानकारी दिनुभयो । बाँकेमा पनि ४ हजार जति बोट ढलेर नष्ट भएको उहाँको भनाई छ । 

गतवर्ष पनि यसैबेला सोही प्रकारले हावाहुरीबाट क्षति भएको जनाउँदै यस पटक राम्रो आम्दानी होला र गत वर्षको घाटा समेत पूरा होला भन्ने आशमा रहेकोबेला यस पटक गत वर्षभन्दा बढी क्षति भएर सोही नियति भोग्नुपरेको बताउनुभयो । 

१० बिघा खेतमा लगाइएको केरा तीन महिनामा नै विक्रीका लागि तयार हुँदैगरेको अवस्थामा हावाहुरीले ढालेपछि क्षति पुगेको जनाउँदै अधिकारीले ३० लाख लगानीमा विस्तार गरिएको केराखेतीमा आधाभन्दा बढी बोट क्षतिग्रस्त भएको बताउनुभयो । 

सोही प्रकारले बाँके र बर्दिया जिल्लामा पाक्नै लागेका ठूलो सङ्ख्याका आँपलाई पनि हावाहुरीले झारेर क्षति पुगेको जानकारी किसानबाट आइरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । 

आँप र केरालगायत अन्य खेतीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिएको जनाउँदै केन्द्र नेपालगञ्जका प्रमुख ढकालले केही दिनमै क्षतिको यकिन विवरण प्राप्त हुने बताउनुभयो ।