• २७ मङ्सिर २०८२, शनिबार

प्रथम आरोही हर्जोगका छोरानातिले अन्नपूर्णमा पदयात्रा गर्ने

blog

मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना र पदमार्ग । तस्बिर :ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १३ गते ।
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । अन्नपूर्ण हीरक महोत्सवका अवसर हर्जोगका छोरा माथिएस हर्जोगसहितको टोलीले पदयात्रा गर्ने भएको हो । पदयात्राका लागि उहाँहरु नेपाल आइसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो  ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ अर्थात् जेठ २०  दिन पहिलोपटक मानव पाइला परेको थियो । आठ मिटरभन्दा अग्लो हिमाल अन्नपूर्णमा पहिलो मानव पाइला परेकाले यसलाई जेठो हिमाल भनेर पनि भनिन्छ ।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा जेठ १६ देखि २१ सम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको छ । मौरिस हर्जोग पदमार्गमा जेठ १७ गते उनीहरुले पदयात्रा गर्ने हीरक महोत्सव मुल समारोह समितिका सदस्य एवम् मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो ।

नारच्याङको हुमखोलादेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरसम्म २१ किलोमिटर दूरीको पदमार्गमा जेठ १७ देखि २० गतेसम्म पदयात्रा हुने उहाँले जानकारी दिनुभयो ।

पदयात्रामा सहभागी हुन हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन, नाति सिमोन ज्याक्युस, अनुसन्धानकर्ता, पर्वतारोहीसहित १४ सदस्यीय टोली काठमाडौँ आइपुगेको पालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पदयात्रा टोली पहिलो दिन जेठ १७ मा नारच्याङ, हुमखोला हुँदै सम्धिखर्क पुग्नेछ । दोस्रो दिन जेठ १८ मा सम्धिखर्कबाट भुस्केट मेला हुँदै अन्नपूर्ण आधार शिविरमा बास बस्नेछ । तेस्रो दिन भुस्केटमा सांगीतिक कार्यक्रम, हर्जोगको योगदानबारे चर्चासहित कार्यक्रम हुनेछ ।

भोलिपल्ट जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष पुनले बताउनुभयो । आधार शिविरमा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री ओली नारच्याङको बेंसी गाउँमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । 

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार निर्माण गरेको छ । 

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।