• ११ जेठ २०८२, आइतबार

म्यानमारमा युद्धविरामको म्याद थपगर्न मलेसियाको आग्रह

blog

क्वालालम्पुर, जेठ ११ गते । म्यानमारमा भूकम्पपछिको युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको भए तापनि मे महिनाको अन्त्यमा समाप्त हुने गरी युद्धविरामको समयावधि थप र विस्तार गर्न मलेसियाले आइतबार आह्वान गरेको छ ।

गत मार्चको अन्त्यमा गएको विनाशकारी भूकम्पमा परी करिब तीन हजार ८०० जनाको मृत्यु र दशौँ हजार घरबारविहीन भएपछि सत्तारुढ सैन्य जुन्टाले सुरुमा बहुपक्षीय गृहयुद्धमा युद्धविरामको घोषणा गरेको थियो ।

युद्धविराम यसअघि पनि लम्ब्याइएको थियो यद्यपि, द्वन्द्व अनुगमनकर्ताहरूले जुन्टाको नियमित हवाई आक्रमणसहित लडाइँ जारी रहेको बताएका छन् । 

“आइतबार क्षेत्रीय विदेशमन्त्रीहरूको बैठकमा मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले ‘हाल प्रभावित क्षेत्रभन्दा बाहिर युद्धविरामको विस्तार गर्ने प्रस्ताव गर्नुभएको छ,” एक विज्ञप्तिमा भनिएको छ ।

“हामी म्यानमारका सरोकारवालाहरूलाई शत्रुता अन्त्य गर्न, युद्धविरामको विस्तार गर्न, पुनरुत्थानका लागि लामो र कठिन मार्गलाई सहज बनाउन र म्यानमारका जनताको पीडा कम गर्न आह्वान गर्दछौं,” मोहम्मदले आफ्नो प्रारम्भिक भनाइमा उल्लेख गर्नुभयो ।

मलेसियाले हाल १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को आलोपालो अध्यक्षता सम्हाल्दै आएको छ ।

सन् २०२१ को फेब्रुअरीमा म्यानमारले नागरिक नेतृ आङ सान सुकीलाई सत्ताच्युत गरेपछि म्यानमारको द्वन्द्व अन्त्यका लागि यस समूहले अहिलेसम्म निष्फल कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ ।

आसियानले सन् २०२१ को अप्रिलमा जुन्तालगायत सबै समूहका नेताहरूबिच सहमति भएको पाँचबुँदे शान्ति योजना कार्यान्वयन गर्न सङ्घर्ष गरिरहेको छ ।

शान्ति सम्झौतामा प्रगति हुन नसकेको भन्दै जुन्टाका अधिकारीहरूलाई आसियान शिखर सम्मेलनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत अप्रिलमा बैंककमा म्यानमारका जुन्टा नेता मिन आङ ह्लाइङलाई भेटेर युद्धविरामको सम्मान गर्न आग्रह गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र द्वन्द्व अनुगमनकर्ताहरूले युद्धविरामका बावजुद जुन्टाले हवाई आक्रमणको अभियान जारी राखेको बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मे महिनाको मध्यतिर जुन्ताले सागाइङ क्षेत्रमा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको एक विद्यालयमा गरेको हवाई आक्रमणमा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।

थुप्रै कू विरोधी र जातीय सशस्त्र समूहहरूले शत्रुता रोक्न आ–आफ्नो प्रतिज्ञा गरेका छन् । तर पूर्वी म्यानमारका केही बासिन्दाले भने छिमेकी मुलुक थाइल्यान्डतर्फको आकर्षक व्यापारिक मार्गमा रहेको जुन्ताको कब्जामा रहेका सहरलाई कूविरोधी फौजले घेराहालेपछि आफूहरु विस्थापित भएको बताएका छन् ।

म्यानमारको जुन्टा प्रशासनले यस वर्षको अन्त्यतिर निर्वाचन गर्ने घोषणा गरेको छ । तर म्यानमारको विपक्षी ‘राष्ट्रिय सहमतिको सरकार’ले जनता र राजनीतिक दललाई सैन्य सरकारले आयोजना गर्ने कुनै पनि निर्वाचन बहिष्कार गर्न आग्रह गरेको छ ।

अनवरले जुन्टा प्रमुख ह्लाइङसँग अप्रिलमा भएको भेटपछि आसियानले ‘चिन्ता’ व्यक्त गरेको र ‘निष्पक्ष र स्वतन्त्र निर्वाचन’ सुनिश्चित गर्न बिस्तारै सहमति निर्माण गर्न चाहेको बताएका थिए । रासस/एएफपी