थाङपाल (सिन्धुपाल्चोक), जेठ ११ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रदिप अधिकारीको नेतृत्वका १६ जना कलाकारले सिन्धुपाल्चोकलाई क्यान्भासमा कैद गरेका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकको तीन दिने आयोजना गरेको ‘पाँचपोखरी चित्रकला पर्यटन प्रवर्धन कार्यशाला’ मा १६ जना कलाकारले थाङपाललाई क्यान्भासमा कैद गरेका हुन् ।
देशका युवा तथा नामुद कलाकारहरुको उपस्थितिले कला कार्यशाला अझ वैचारिक र विषयका हिसावले सांस्कृतिक र प्राकृतिक बनेको थियो ।
कार्यशालामा अग्रज कलाकार राजन काफ्लेले समसामयिक शैलीमा गाउँको वास्तुकला र जीवनलाई चित्रण गर्नुभयो । केशव राज खनाल, दिवेशमान प्रधान, प्रितम थापा, राजेन्द्र कुँवर, सिकेन्दर चौधरी, राजिना गुरुङ, सुष्मा श्रेष्ठलगायतले प्रकृतिलाई क्यान्भासमा ल्याउनुभयो भने रामनारायण महतो, मनरा प्रजापतिले दैनिक जीवन र लामा गुरुकोे चित्र कोर्नुभयो ।
गाउँपालिका अध्यक्ष टासी लामाले कलाको संरक्षणमा गाउँपालिका सधैँ अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले गाउँपालिकालाई पर्यटनको केन्द्र बनाउन लागिपरेको बताउनुभयो । पालिकाका वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले पर्यटन प्रवर्धनमा चित्रकला कार्यशालाले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।
बिहीबार सम्पन्न समापन समारोहमा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले यस किसिमका कार्यशालाले सामाजिक चेतनासँगै स्थानीयको जीवनस्तर उकास्न मद्दत पुर्याउने बताउनुभयो । उहाँले गाउँपालिकाको प्रकृति, संस्कृतिलगायतको चित्रण यस कार्यशालामा सिर्जना गरिने कलाकृतिमा देख्न पाइने विचार व्यक्त गर्नुभयो । उहाँले स्थानीयको आर्थिक समृद्धि पर्यटनबाट सम्भव भएकाले ललितकलार्मीहरूले पनि यस कार्यक्रममार्फत योगदान दिने धारणा राख्नुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले कलाकारहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै कलाकारको सहयोगले पालिकाको निर्माणाधिन संग्रहालयले पूर्णता पाउने र आगामी दिनमा पनि कलाको कार्यक्रलाई निरन्तरता दिने बताउनुभयो ।