• ११ जेठ २०८२, आइतबार

१३औँ कान्तिपुर हाफ म्याराथन शनिबार

blog

हाफ म्याराथन बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, जेठ ११ गते । १३औँ संस्करणको कान्तिपुर खुला हाफ म्याराथन यही जेठ १७ गते शनिबार हुने भएको छ ।

‘लेट्स रन फर ग्रिनर टुमारो’ नाराका साथ सञ्चालन हुने हाफ म्याराथनसहितको स्पर्धामा चार हजार धावकको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी दिनुभयो । 

प्रतियोगितामा पुरुष/महिला खुला हाफ म्याराथन, कलेज रन सात किमि, कर्पोरेट एन्ड सेलेब रन पाँच  किमि र ह्विलचेयर रेस तीन किमिको हुनेछ ।

आठ लाख रुपियाँ पुरस्कार रासी रकेको प्रतियोगितामा हाफ म्याराथनमा पुरुष र महिला विजेताले जनही एक लाख ५० रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै उपविजेतादेखि छैटौँ स्थानसम्म आउने खेलाडीलाई क्रमश: ७५, ५०, ३०, २० र १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार, दोस्रो हुनले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपियाँ पाउनेछन् ।  हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीलाई थप २५ हजार रुपियाँ प्रदान गरिनेछ ।

पुरुषतर्फ हरिकुमार रिमालको एक घन्टा ६ मिनेट ४१ सेकेन्डको कोर्स रेकर्ड रहेको छ । महिलातर्फ कान्छीमाया कोजुको नाममा एक घन्टा १९ मिनेट २२ सेकेन्डको रेकर्ड छ ।

गत संस्करणमो पुरुषतर्फ हाफ म्याराथन आर्मीका दीपक अधिकारी र महिलामा पुलिसकी राजपुरा पछाई च्याम्पियन बन्नुभएको थियो । प्रतियोगितालाई नेपाल एथलेटिक्स सङ्घले प्राविधिक सहयोग गर्नेछ । 

हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै पुन: थापाथलीमा आएर सकिनेछ ।