• ११ जेठ २०८२, आइतबार

नेपाल एपीएफ स्कुल कीर्तिपुर र नगरपालिकाको सहकार्यमा विद्यार्थीलाई विपद् उद्धार तालिम

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र केसी र कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बानियाँलगायत । तस्बिरः एपीएफ

काठमाडौँ, जेठ ११ गते। नेपाल एपीएफ स्कुल कीर्तिपुर र कीर्तिपुर नगरपालिकाको सहकार्यमा विद्यार्थी स्वयंसेवक विपद् उद्धार तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ। एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र केसीको प्रमुख आतिथ्यतामा विद्यार्थी स्वयम्सेवक विपद् उद्धार तालिमको प्रवचन कार्यक्रम आइतबार सम्पन्न भएको हो।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालय समादेशक एसएसपी केसीले धरातलीय हिसाबले नेपाल जोखिममा रहेको र विपद्को विषयमा सबैले जानकारी राखे क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो।  ‘‘धरातलीय हिसाबले नेपाल जोखिममा छ। काठमाडौँ उपत्यका अझ जोखिममा छ। भूकम्प, अतिवर्षा, बाढी र पहिरोजस्तो विपद्को विषयमा सम्पूर्ण जानकारी सबैले राखेमा क्षति कम गर्न सकिन्छ’’, उहाँले भन्नुभयो।

एसएसपी केसीले विपद् उद्धारका लागि दक्ष जनशक्ति भएपनि कम भएकाले समुदायस्तरमा सचेतनाको आवश्यक भएकोमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘विपद् उद्धारको जनशक्ति भएपनि पर्याप्त छैन। प्रत्येक पालिका र वडाका सामुदायिक विद्यालयमा तालिम गराएर प्रशिक्षित गराउनु आवश्यक छ।’’ उहाँले विद्यालय र नगरपालिकाको सहकार्यमा भएको तालिमले मुलुकभर सन्देश दिनसकोस् भन्ने शुभकामना दिनुभयो। यो तालिमबाट विद्यार्थीले सीपसँगै समाजप्रतिको दायित्त्व र जिम्मेवारी बोध गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बानियाँले विद्यार्थीलाई विपद् उद्धारका लागि सक्षम बनाउने विद्यालयको कदमको प्रशंसा गर्नुभयो। उहाँले  तालिममा सहभागी विद्यार्थीले विपद् उद्धारमा आफ्नो सुरक्षा पहिलो हो भन्ने कुरा प्रशिक्षकबाट सिक्ने विश्वास व्यक्त गर्नुभयो। 


कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक भवराज कटवालले विपद् उद्धार तालिमको प्रथम प्रवचन कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँले नेपाल प्राकृतिक विपद्को दृष्टिले विश्वमै जोखिमपूर्ण मानिएको जानकारीसमेत गराउनुभयो। 

‘‘भौगोलिक अवस्थितिका कारणले नेपाल विश्वको भूकम्पीय गतिविधि हुने राष्ट्रमध्ये ११ औँ स्थानमा पर्दछ। जलवायु परिवर्तन हुने राष्ट्रमध्ये चौथो र बढी पहिरो जोखिम हुने राष्ट्रमध्ये ३० औँ स्थानमा पर्न आउँछ। विश्वका महानगरमध्ये प्राकृतिक प्रकोपको जोखिमका आधारमा काठमाडौँ सहर २१ औँं स्थानमा पर्दछ’’, उहाँले विश्वमै नेपालको विपद् अवस्थाबारे जानकारी गराउँदै भन्नुभयो, ‘‘त्यसैले हाम्रो जस्तो मुलुकमा विपद्को समयमा उद्धार कार्यमा खटिनु हामी सबै जिम्मेवार नागरिकको कर्तव्य हो।’’ 

उहाँले एपीएफ स्कुलले विद्यालय स्तरमै विपद् व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गराउनुका साथै उद्धार कार्यमा स्थानीय स्रोत र साधनको पहिचान गर्दै विद्यार्थीलाई प्रशिक्षित गर्नु आवश्यक ठानेको प्रष्ट पार्नुभयो। 

विद्यार्थीलाई प्रमुख प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी नायव उपरीक्षक भवराज कटवालले प्रशिक्षण दिनुहुनेछ। प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी नायव निरीक्षक अमृतकुमार मगर, सशस्त्र प्रहरी हवल्दार दीपेन्द्र लामा तामाङ, सुधीर चन्द र सशस्त्र प्रहरी जवान गणेश बुढाथोकीले विद्यार्थीलाई विपद् उद्धार र व्यवस्थापनको सीप सिकाउनु हुनेछ। 

विद्यार्थी स्वयम्सेवक विपद् उद्धार तालिमको प्रथम प्रवचन कार्यक्रममा एपीएफ स्कुलका प्रधानाचार्य युवराज पराजुली, प्रशिक्षक, विद्यालयका शिक्षक, सशस्त्र प्रहरीका सिनियर र जुनियर अधिकृत र प्रशिक्षार्थी सहभागी थिए। एपीएफ स्कुल कीर्तिपुरमा आयोजित कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक पशुपति अर्यालले गर्नुभएको थियो।


प्रशिक्षणमा एपीएफ स्कुलसँगै कीर्तिपुर नगरपालिकाका सामुदायिक विद्यालय मंगल, जनसेवा, बालकुमारी, विश्व राष्ट्रिय, श्री वैष्णवी, कीर्तिपुर, गोरखनाथ, आदित्य र टौदह राष्ट्रिय माविको कक्षा ९ देखि १२ सम्मका ३० जना विद्यार्थी सहभागी छन् । तालिम १२ दिनसम्म चल्नेछ।