• ११ जेठ २०८२, आइतबार

घरबेटी र डेरावालको कथा

blog

काठमाडौँ, जेठ ११ गते । काठमाडौँमा घर हुनेको आफ्नै समस्या छ तर डेरामा बस्ने डेरावालको समस्या पनि कम छैन । चलचित्र ‘के घर के डेरा : घर नं २’ घरबेटी र डेरावाल दुवैको कथा हो । चलचित्रको कथामा घर हुने र नहुने दुवैले अपनत्व महसुस गर्ने छन् । अघिल्लो चलचित्र ‘के घर के डेरा’ मा काठमाडौँमा घर हुने र डेरामा बस्नेको कथा बुनिएको थियो भने यस पटक निर्देशक दीपेन्द्र के खनालले घरबेटी र डेरावाल दुवैको समस्यालाई चलचित्रको कथामा पस्कन खोज्नुभएको छ । जीवन त जीउन तर त्यसलाई कसरी जीउने भन्ने कुराले ठुलै अर्थ राख्छ । चलचित्र ‘के घर के डेरा : घर नं २’ को कथा कहीँ न कहीँ हाम्रो दैनिक जीवनसँग मेल खाने किसिमको छ । चलचित्र काठमाडौँका घरबेटीका र त्यही डेरामा बस्ने डेरावालका समस्या देखाइएको छ । 

काठमाडौँको बबरमहलमा रहेको रौनक निवास जहाँ केही डेरावाल डेरामा बसेका छन् र आआफ्नै समस्यामा अल्झिएका छन् । साथै त्यसमा घरभेटी पनि आफ्नो समस्याबाट टाडा देखिँदैनन् । घरको नाम रौनक निवार भए पनि घरभित्रको हालत रौनक छाउने किसिमको छैन । घरभेटीका रूपमा रोनक थापा (आर्यन सिक्देल) र उनको श्रीमती श्रृचा (केकी अधिकारी) बिच बारम्बार मनमुटाव भइरहेको हुन्छ । आर्यनलाई आफ्नो बाबा हरिहर शर्माले बनाएको सपनाको घर जे जस्तो अवस्थामा पनि जोगाएर राख्नु छ भने केकीलाई कसको घर बेचेर सबै काम सल्टाउनु छ । त्यही घरमा बसेका व्यापारी प्रकाश घिमिरे र उनकी छोरी पूजा (उपासना सिंह ठकुरी) को दुखोसुखो उस्तै छ । नाकाबन्दीले प्रकाशलाई चुर्लुम ऋणमा डुबाएको छ । त्यसमाथि दिमागी बिरामी । अर्को डेरावाल दिवाकर (निश्चल बस्नेत) मिटरब्याजपीडित हुन् । कोरोनाले गर्दा उनी मिटरब्याजमा पर्छन् र उनलाई मिटरब्याजले

छाड्दैन । विभिन्न काममा हात जुटाउँदै गर्दा एक दिन समयले राजाराम भण्डारी (खगेन्द्र लामिछाने) लाई पनि रौनक निवासको डेरावाल बनाउँछ । रौनक निवासमा घरबेटीदेखि डेरावालसम्म सबैको जीवनको रौनक हराएको छ । उनीहरू आआफ्नै समस्यासँग जुधिरहेका छन् । यीमध्ये कसैले आफ्नो समस्यालाई जित्दै जान्छन् भने कोही आफैँ समस्यासँग आफैँ जुगलबन्दी गर्दै हिँड्छन् । चलचित्रको कथा यीनै कुराहरू वरपर रुमलिएको छ । 

चलचित्र घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । चलत्रिचको सुन्दर पक्ष भनेकै यसभित्र रहेका पात्रहरू एकआपसमा जोडिनु हो । प्रत्येक कलाकारले  काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई चलचित्रभित्र प्रतिनिधित्व गरेका छन् । चलचित्र एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग कसरी जोडिन्छन्, त्यो नै चलचित्रको रमाइलो पक्ष हो । चलचित्रको राम्रो पक्ष भनेको यसको कथासँगै कलाकारको अभिनय हो । खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह, सिर्जना नापित, प्रकाश घिमिरेको अभिनय देख्दा कसको अभिनय राम्रो भनेर छुट्याउन गाह्रो पर्छ । सबै कलाकारले आआफ्नो भूमिका सोचेभन्दामाथि गर्नुभएको छ । उपन्यासकार तथा कवि बुद्धिसागरको कथाले अवश्य नै दर्शकको मन जित्छ । समाजमा देखिने घरबेटी र डेरावालबिचको सम्बन्धलाई निर्देशक दीपेन्द्र के खनालले चलचित्रमा फरक ढङ्गबाट प्रस्तुत गर्नुभएको छ । सामाजिक कथावस्तु पस्कन माहिर निर्देशक खनाल यस पटक पनि दर्शकलाई भावनात्मक तवरबाट मनोरञ्जन दिन सफल हुनुभएको छ ।