गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ११ गते । विदेशी लगानीकर्तामा नेपालको सेवा क्षेत्र बढी आकर्षणको क्षेत्रमा पर्ने पाइएको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार विदेशी लगानीकर्ताले नेपालको सेवा क्षेत्रमा लगानी गर्न सबैभन्दा धेरै प्रतिबद्धता जनाएको पाइएको हो ।
विभागको वैशाखसम्मको तथ्याङ्क अनुसार मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको हो । समीक्षा अवधिमा कुल ५७ अर्ब रुपियाँ लगानी प्रतिबद्धता आउँदा सेवा क्षेत्रमा ५३ प्रतिशत र पर्यटन क्षेत्रमा ३७ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । अन्य क्षेत्रको तुुलनामा यी क्षेत्रमा लगानीकर्ता आकर्षित पाइएको हो ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबैभन्दा धेरै सेवामूलक परियोजनामा ६६ परियोजनामार्फत २९ अर्ब ९८ करोड ७७ लाख ३० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
दोस्रोमा पर्यटन क्षेत्रमा २२३ परियोजनाका लागि २१ अर्ब ३३ करोड ७५ लाख ९० हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यस्तै उत्पादनमूलक क्षेत्रका ३९ परियोजनामा दुई अर्ब ९२ करोड करोड २० लाख ५० हजार र कृषिका १० परियोजनामा एक अर्ब ४२ करोड ६० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्क छ ।
सूचना प्रविधि क्षेत्रका २३५ परियोजनामा एक अर्ब ३१ करोड ८८ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । पूर्वाधार क्षेत्रका दुई परियोजनामा पाँच करोड र ऊर्जाको एउटा परियोजनामा दुई करोड ५५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ५७६ परियोजनामार्फत ५७ अर्ब छ करोड ७६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । ती परियोजना सञ्चालन भए १४ हजार ७१९ लाई रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको छ । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी लगानीको वातावरण सिर्जना भएकाले पनि लगानी प्रतिबद्धतामा सुधार हुँदै गएको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार वैशाखमा मात्रै ९७ उद्योग व्यवसायका लागि नौ अर्ब नौ करोड २२ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
१० महिनामा ५६२ साना उद्योग, १० वटा मझौला र चार वटा ठुला उद्योगमा विदेशी लगानी प्रतिबद्धता प्राप्त छ । मुलुकमा लगानी गर्ने भनेर ठुलो रकममा लगानी प्रतिबद्धता आए पनि सो अनुुपातमा लगानी भित्रिन सकेको छैन ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको चैतसम्म आठ अर्ब ९६ करोड रुपियाँ लगानी भित्रिएको छ । चैतसम्म ४८ अर्ब लगानीको प्रतिबद्धता आएको थियो । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ९७५ परियोजनामार्फत पाँच खर्ब ८६ अर्ब ८१ करोड १७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।