• १५ असार २०८१, शनिबार

उच्च भोल्टेजकाे तारमा मान्छे चढेपछि लामाे समयदेखि ६५ मेगावाट बिजुली बन्द

blog

तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं, जेठ २८ गते । बिजुलीको उच्च भोल्टेजकाे तारमा मान्छे चढेपछि करिब सात घण्टादेखि नेपालको विद्युत प्रणाली प्रभावित भएको छ । 

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजकाे तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि समग्र विद्युत प्रणालीमै असर परेको हो । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार सात घण्टादेखि त्रिशूली–३ ‘ए’ र अर्को सानो चार पाँच मेगावाटको आयोजनाको बिजुली प्रभावित भएको छ ।

प्रवक्ता भट्टराईले भन्नुभयो, ‘‘माथिल्लो त्रिशूली–३ ‘ए’ र अर्को चार पाँच मेगावाटको सानो आयोजनाको बिजुली प्रशारण पूर्ण रुपमा प्रभावित भएको छ ।’’ 

नेपाल प्रहरीले उनको उद्धारका लागि प्रयास जारी राखेको छ । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । नेपाली सेनाको उच्च स्रोतका अनुसार उद्धारका लागि सेनाको टोलीसमेत तयारी अवस्थामा बसेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालका अनुसार उद्धारको लागि सेना तयारी अवस्थामा बसेको हो । प्रवक्ता सिल्वालले भन्नुभयो, ‘‘ककनीको घटनाबारे जानकारी प्राप्त भएको छ । उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा छ ।’’

विक शनिबार बिहान ११ बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा  हिँडिरहनुभएको छ । उहाँ परिवारसँग झगडा गरेर बजुलीको तारमा पुगेको स्थानीयले बताएका छन् । 

प्रहरी र स्थानीयले अनुरोध गरे पनि विक तारबाट तल झर्न मान्नुभएकाे छैनन् ।