चितवन समाचारदाता
चितवन, जेठ ९ गते । भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ । करिब १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौँ–भरतपुर परीक्षण उडान गरेको हो ।
यसअगाडि श्री एयर लायन्सले ८० सिट क्षमताको जहाजले परीक्षण उडान गरेर नियमित यात्रु ओसार्दै आएको थियो । अहिले श्री एयरको नियमित उडान हुन सकेको छैन । अहिले बुद्ध एयरले उडानको सफल परीक्षण गरेको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बुद्ध एयरका प्राविधिक, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक तथा अन्य प्राविधिकले अध्ययन गरेपछि नियमित उडानका लागि अनुमति दिने गर्दछ । वरिपरि घर तथा रुख भएका कारण ७२ सिट क्षमता भएको जहाज अवतरण र उडान गर्न समस्या हुने भन्दै उडाइएको थिएन । विमानस्थलको धावनमार्ग विस्तार गर्ने तयारी अवस्थामा रहेको छ । अहिले यो विमानस्थलमा बुद्ध एयरका ४२ सिट क्षमता भएका विमानले नियमित उडान भर्दै आएका छन् । ७२ सिट क्षमताको विमान आउन थालेपछि भाडा दर घट्ने विश्वास लिइएको छ ।