गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैङ्कले नयाँ गभर्नर पाएको तेस्रो दिनमा लगानीकर्ता वाणिज्य बैङ्क समूहमा तानिएका छन् । साताको अन्तिम दिन वाणिज्य बैङ्क समूहको सूचक सबैभन्दा बढीले उकालो लागेको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ र अर्को एकमा नकारात्मक सर्किट लागेको छ ।
नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पुँजी बजार सुधारका लागि उपयुक्त नीति अवलम्बन गरिने बताएपछि बजारमा उत्साहित बनेको लगानीकर्ता बताउँछन् । बैङ्क तथा वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गरिदिने अभिव्यक्ति आइरहँदा बजारमा सुधार आएको हो ।
एक सातामा आउन लागेको नयाँ बजेट तथा छिट्टै आउँदै गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षालाई लगानीकर्ताले अपेक्षासाथ हेरिरहेका छन् ।
सुधारको लय समाएको सेयर बजार साताको अन्तिम दिन पनि दोहोरो अङ्कले उकालो लागेर बन्द भएको छ । नेप्से परिसूचक सत्ताइस सयको विन्दु पछ्याएको छ भने परिसूचकलाई साथ दिंँदै कारोबार रकम पनि १० अर्बनजिक पुगेको छ ।
बिहीबार नेप्से १९.०४ अङ्कले उकालो लाग्दा परिसूचक २६८८.५५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.०८ अङ्कले उकालो लागेर ४५७.९३ को विन्दुमा पुगेको छ । समग्रमा साताको अन्तिम दिनको नेप्से ०.७१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.५७ प्रतिशतले माथि लागेको छ ।
बिहीबार ३१४ कम्पनीको दुई करोड २३ लाख ९६ हजार २३९ कित्ता सेयर ८६ हजार ६८५ पटक खरिद बिक्री हुँदा नौ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । साताको अन्तिम दिन ६९ करोड एक लाख ७२ हजार ३२५ रुपियाँ बराबरको सेयर कारोबार भएर ङादी ग्रुप पावर लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।
अन्तिम दिन कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये बैङ्किङ, लघुवित्त र म्युचुअल फन्डबाहेक बाँकी नौ उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बिमाको परिसूचक भने स्थिर रहेको छ ।