काठमाडौँ, जेठ २८ गते । एकातिर आयात र मुद्रास्फीतिमा भइरहेको निरन्तर वृद्धि र अर्कोतिर वैदेशिक आयमा तात्त्विक सुधार नहुँदा विदेशी मुद्राको सञ्चिति निरन्तर चापमा परेको छ । यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थिति अहिलेसम्मकै उच्च घाटामा पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कअनुसार वैशाखसम्म मुलुकसँग ११ खर्ब ४६ अर्ब ८८ करोड रुपियाँको विदेशी मुद्रा सञ्चिति छ । यो गत असार मसान्तको तुलनामा १८ प्रतिशतले कम हो । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपियाँ विदेशी मुद्राको सञ्चिति थियो ।
चालू आर्थिक वर्षको नौ महिना (चैत)कै तुलनामा पनि वैशाखमा विदेशी मुद्रा सञ्चिति करिब २१ अर्ब रुपियाँले कम हो । अमेरिकी डलरमा नेपालको विदेशी मुद्राको सञ्चिति झन् कमजोर छ । असारको तुलनामा २१.१ प्रतिशतले सञ्चिति कम भई वैशाखसम्म नौ अर्ब २८ करोड डलर पुगेको छ । चैतको तुलनामा वैशाखमा ३३ करोड डलरले सञ्चिति घटेको छ ।
वैशाखसम्म नेपालसँग उपलब्ध विदेशी मुद्राको सञ्चितिले ६.५७ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने राष्ट्र बैङ्कको तथ्याङ्क छ । सामान्यतया छ महिनाभन्दा कमको विदेशी सञ्चितिलाई जोखिमपूर्ण मानिन्छ । विदेशी मुद्राको सञ्चिति घट्दा नेपालले वस्तु तथा सेवा आयात गर्न पुग्ने समय पनि घटिरहेको छ । चैतसम्म नेपालसँग रहेको सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने अवस्था थियो ।
आयात बढिरहँदा नेपालको विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि सरकारले पछिल्लो समय कतिपय वस्तुको आयातमै प्रतिबन्ध लगाएको छ, जसको असर आयातको मासिक वृद्धिदर सामान्य भए पनि घटेको छ ।
चालू खाता घाटा उच्च
समीक्षा अवधिसम्म मुलुकको चालू खाता ऐतिहासिक रूपमै उच्च घाटामा रहेको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म नेपालको चालू खाता पाँच खर्ब ४७ अर्ब ३६ करोड रुपियाँले घाटामा छ । अघिल्लो वैशाखसम्म यस्तो घाटा दुई खर्ब ५१ अर्ब २९ करोड रुपियाँले घाटामा थियो ।
एक वर्षकै अवधिमा चालू खाता तीन खर्ब रुपियाँले घाटामा गएको हो । चालू खातामा नेपालले विदेशबाट प्राप्त गरेको आम्दानी र नेपालबाट बाहिरिएको रकमको गणना गरिन्छ । प्राप्त हुने आम्दानी बढी भए नाफा हुन्छ भने बाहिरिने रकम बढी भए चालू खाता घाटामा हुन्छ । त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब रुपियाँले घाटामा पुगेको छ । अघिल्लो वैशाखमा शोधनान्तर स्थिति सात अर्ब ७५ करोड रुपियाँले नाफामा थियो ।
उकालो लाग्दै महँगी
विश्वव्यापी रूपमै बढेको महँगीको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ । वैशाखसम्म नेपालको मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति दर ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य राखेको थियो । अघिल्लो वैशाखमा मुद्रास्फीति ३.६५ प्रतिशत थियो ।
आयातमा बाहिरियो १६ खर्ब
वैशाखसम्म नेपालबाट आयातबापत १६ खर्ब चार अर्ब रुपियाँ बाहिरिएको छ, जुन अघिल्लो वैशाखको तुलनामा २८ प्रतिशतले बढी हो । अर्कोतिर नेपालले निर्यातबापत एक खर्ब ७३ अर्ब रुपियाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको वैशाखको तुलनामा ५९.८ प्रतिशतले बढी हो । निर्यातको तुलनामा आयात १४ खर्ब रुपियाँभन्दा बढी छ ।
विप्रेषणको वृद्धिदर घट्यो
चालू आर्थिक वर्षको १० महिनामा आठ खर्ब ११ अर्ब ७९ करोड रुपियाँ बराबरको विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको १० महिना (वैशाख)को तुलनामा विप्रेषण आप्रवाह ० दशमलव २ प्रतिशतले मात्रै वृद्धि भएको हो । यस्तो वृद्धिदर अघिल्लो आर्थिक वर्षको वैशाखमा १९.२ प्रतिशत थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आएर छ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
श्रम स्वीकृति बढ्यो
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५४.० प्रतिशतले घटेको थियो ।