काठमाडौं, जेठ ९ गते । जल तथा मौसम पूर्वानुमान विभागले यस वर्षको मनसुनमा देशभर न्यूनतम र अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेकोे आङ्कलन गरेको छ ।
विभागले जेठ १८ गतेदेखि असोज १४ गतेसम्म चार महिनाको गरिएको मनसुन ऋतुको हावापानी आङ्कलन अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ ।
यसैगरी, मधेश प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको तथा देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको छ ।
बढ्दो न्यूनतम तापक्रम :
देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा गएको जेठ १ गते यस वर्षकै उच्च ४१ दशमलव ४ डिग्री तापक्रम मापन भएको थियो ।
विभागका जलवायु विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार पछिल्लो समय सन् २०२० यता न्यूनतम र अधिकतम दुवै तापक्रम बढ्दै गएको अवस्था छ । अधिकतम तापक्रमभन्दा न्यूनतम तापक्रम लगातार बढ्दै गएको उहाँको भनाइ छ ।
मौसमविद् हुमागाईँले भन्नुभयो, “सन् २०२० पछि नियमित रुपमा न्यूनतम तापक्रम बढीरहेको देखिन्छ । यो जलवायु परिवर्तनकै असर हुन सक्छ । किनभने जाडोयाम, मनसुन, प्रि–मनसुन प्राय सबै सिजनमा न्यूनतम तापक्रम बढिरहेको छ ।”
उहाँले मौसमको प्रवृत्ति विश्लेषण (ट्रेण्ड एनालाइसिस) हेर्दा पनि नेपालको तापक्रम बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अधिकतम तापक्रम पनि प्रत्येक दशक शून्य दशमलव पाँच डिग्री अनि न्यूनतम प्रत्येक दशक शून्य दशमलव दुई डिग्री बढीरहेको नै छ ।”
त्यसो त, विभागले यो मनसुनमा खासगरी, कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ । यसबाहेक, देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छ ।
मौसम पूर्वानुमान महाशाखाका मौैसमविद् रोजन लामिछानेले मार्चदेखि सेप्टेम्बरसम्म तापक्रम बढ्ने नै मौसम रहेको भन्नुहुँदै पानी नपरेको अवस्थामा तापक्रम प्रणाली बढी सक्रिय हुने बताउनुभयो ।
मौसमविद् लामिछानेले भन्नुभयो, “अहिले नेपालको गर्मी मौसम नै हो । यो मार्चदेखि सेप्टेम्बरसम्मको समयमा तापक्रम बढ्ने समय नै हो । घाम लागेको अथवा पानी नपरेको अवस्थामा तापक्रम प्रणाली धेरै सक्रिय हुन्छ । दिनभरी घाम मजाले लाग्यो भने तराईमा मात्र नभएर पहाडमा पनि यो अवस्था रहन्छ ।”
पहाडमा बढ्दै गर्मी :
अधिकतम तापक्रम ४० डिग्री पुगेको अवस्थामा हावा समेत तातो हुने र यसले मानिसको स्वास्थ्य र जनजीविकामा समेत असर पार्न सक्छ । यस वर्ष नेपालगञ्जसहित भैरहवा, धनगढी लगायतका क्षेत्रमा अधिकतम तापक्रम भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “नेपालगञ्जमा मात्रै नभएर भैरहवा आसपासका क्षेत्रहरु धनगढीमा पनि ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । अघिल्लो वर्ष पनि एकदमै तापक्रम बढिरहेको अवस्था थियो र अहिले पनि तापक्रम केही समययता बढेको अवस्था छ । तराईमा मात्र नभएर पहाडमा पनि बढिरहेको छ ।”
पहाडमा स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण यो वर्ष त्यति धेरै तापक्रम बढ्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “विशेषगरी, पहाडमा स्थानीय वायु र विभिन्न जलवाष्पयुक्त वायु बंगालको खाडीबाट आएको हुनाले यो वर्ष त्यति धेरै तापक्रम बढ्न पाएको अवस्था छैन । कहिलेकाही तातो दिनको अवस्था भइरहेको छ । पूर्वी तराईका क्षेत्रमा त्यति धेरै तापक्रम बढेको अवस्था देखिँदैन ।” गर्मीयाममा स्वभाविकरुपमा गर्मी बढ्ने भएता पनि मनसुनसँगै वर्षा हुने उहाँको भनाइ छ ।
मौसम परिवर्तनको कारण के ?
नेपालको मौसम परिवर्तन एवम् न्यूनतम तापक्रम बढ्दै जानुको कारण के हो भन्ने जिज्ञासामा मौसमविद् हुमागाईँले यसको प्राकृतिक र मानवीय दुवै कारण रहेको बताउनुभयो । प्राकृतिक कारणले तत्काल एवम् द्रूत गतिमा जलवायु परिवर्तन नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “प्राकृतिक कारण भनेको पृथ्वी कति अक्षमा ढल्केको छ, त्यो परिवर्तन हुन्छ । त्यसपछि, सूर्यलाई कसरी घुमिरहेको छ, त्यो बाटो परिवर्तन हुन्छ, सोलार कन्स्ट्यान्ट भन्छौं हामी । सूर्यबाट कस्तो तातोपना आइरहेको छ, यो सबैमा निर्भर हुन्छ । यो एकदमै ढिला प्रक्रिया हो । यसले दू्रतगतिमा जलवायु परिवर्तन गराउँदैन ।”
उहाँले जलवायु परविर्तनको अर्को कारण मानव सिर्जित समस्या रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानव सिर्जित समस्या भनेको जस्तै मान्छेले गर्ने व्यवहार, गतिविधि हो । त्यसमा हामीले कार्बन उत्सर्जनलाई लिन सक्छौं । अहिले कार्बन डाओअक्साइड वायुमण्डलमा जति छ र जति बढ्दै गयो त्यति नै तातोपना बढ्दै जान्छ । वनजङ्गल, समुद्रको पानीले सीमित मात्रामा कार्बनडा ओअक्साइड सोच्न सक्छ । मान्छेले सिर्जना गरेको कार्बन डाओअक्साइड सोसेर नभ्याउने खालको छ ।”
उहाँले समुद्री सतहको तापक्रमलगायत मौसमी प्रणालीका कारण जलवायु परिवर्तन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ऋतुगत जलवायुलाई प्रभाव पार्ने तत्वहरु हुन्छन् । जस्तै, उत्तरी गोलार्धमा हिऊँ कति पर्छ ? त्यसपछि प्रशान्त महासागर, हिन्द महासागरमा समुद्री सतहको तापक्रम कस्तो हुन्छ ? भन्ने कुराहरुले पनि ऋतुगत जलवायुलाई प्रभाव पार्छ ।”
विभागले यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ । देशका विभिन्न स्थानमा ५५ प्रतिशतदेखि ६५ प्रतिशत, ४५ प्रतिशतदेखि ५५ प्रतिशत र ३५ प्रतिशतदेखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको आङ्कलन गरिएको छ ।