• ९ मंसिर २०८१, आइतबार

डियर हुम्ला

blog

वसन्ती शाही

डियर हुम्ला, तिमी त कति राम्री भइछौ । अलिकति उत्ताउली पनि भइछौ । चाउरिएका गाला पोटिला हुन थालेछन् । ढाडको पटुका पनि खुकुलो देखेँ । आङको लुगा फरक र सुकिलो भएछ, अलि नौलो पनि । नाङ्गो गोडाले जुत्ता पाएछन् । बदलिएको तिम्रो यो रूप देखेर म निकै हर्षित भएँ तर जति हुनुपर्ने हो त्यति राम्री त भएकी छैनौ । म त्यसको प्रतीक्षामा छु ।

तिम्रो सदरमुकाम पनि निकै लोभलाग्दो भएछ आजकाल । बजारलाई चिर्दै बनेको कालो पिचको चिलगाडी बस्ने मैदान, सँगै जोडिएको हेलिकप्टर बस्ने मैदान, छेवैमा खेल खेल्ने चौर र हरियो सीम, तातोपानी चिसोपानी आउने आरामदायी होटल, पश्चिमी हावालाई रोक्ने हराभरा रानीवन, अझै नौ सय फिटमाथिको रानीवनको टुप्पोमा बसेको चिरिच्याट्ट नेपाली सेनाको ब्यारेक, बजारको पुछारमा रहेको ५० शय्या पुग्न लागेको जिल्ला अस्पताल, तिमीलाई ज्ञान दिने सुन्दर शान्त मानसरोवर क्याम्पस र पारिपट्टिको शिव भगवान्को शोभायमान कल्पेश्वर मन्दिर, बजारकै सिरानमाथि नयाँ पलाउँदै गरेको सल्लाको जङ्गल अनि बस्ती र जङ्गलबीचमा चिरिएको गाडी गुड्ने बाटो । यसका अलावा परापूर्वकालदेखि नै तिमीलाई पहरा दिँदै बसेका दक्षिणतिरका सुन्दर हिमाल र तिम्रो शिरको पञ्चमुखी हिमाल । जता हावा चल्यो त्यतै ढलिमली गर्ने फल लागेका चुली, खुर्पानी, आरू र स्याउका मस्त बोट । यस्तो सुन्दरता देखेर कसको पो मन नलोभिएला र ? तिम्रो वर्णन गरी कहाँ साध्य छ डियर हुम्ला । 

आजकाल तिमीसँगको मेरो भेट अलि पातलो भएको छ । परिस्थितिबस तिमीसँगै नभए पनि तिम्रै सेरोफेरोमा अस्थायी बसाइ सरेकी छु । छिनछिनमा तिमीलाई भेट्न आउनलाई अझै पनि अवस्था सहज छैन । हिँडौँ भने टाढा छौ तिमी । मेरा गोडा पनि बलिया छैनन् । गाडी गुड्ने बाटो बनिसकेको छैन । तिमीलाई भेट्न आउनका लागि चिलगाडीबाहेक अर्काे वैकल्पिक साधन छैन । चिलगाडी चढ्न पनि थुप्रो पैसा तिर्नुपर्छ । ४० मिनेटको बाटोका लागि १२ हजार रुपियाँ तिर्नुपर्छ । तैपनि भनेको बेलामा चिलगाडीको टिकट पाइन्न । तिम्रा नेताको भनसुन भयो भने चिलगाडी चढ्न पाइन्छ नत्र त्यो पनि मुस्किल छ । अनि भन त म के गरूँ ? मेरो दुई दिनको छुट्टी त यसै सकिन्छ । 

चाडबाडमा सरकारी छुट्टी भएको बेलामा हो तिमीलाई भेट्न आउन पाउने भनेको । त्यतिबेला चिलगाडीको पूर्वतिरको काम खुल्ने रहेछ । सबै कम्पनीका चिलगाडीहरू उतै हानिँदा रहेछन् । नेपाली झन्डावाला चिलगाडीको त दर्शन पाउनै मुस्किल छ । खै कता बिलायो पत्तै भएन । अरू निजी कम्पनीका चिलगाडीहरूले उता पूर्वमा विदेशीलाई उडान भर्दा धेरै पैसा पाउँदा हुन् सायद । विदेशी पैसा कमाउँदा हुन् र पो उतै जाँदा हुन् । हुन पनि ठीकै हो, उनीहरूको पनि आफ्नै बाध्यता होला । गाह्रोसारो होला । परिस्थिति अनुकूल नहोला ।

बैङ्कको किस्ता तिर्नु, कर्मचारी पाल्नु, उड्नका लागि तेल किन्नु, कार्यालय चलाएको भाडा तिर्नु, राति सुतेको भाडा तिर्नु, मर्मत सम्भार गर्नुजस्ता धेरै समस्या कम्पनीका पनि छन् होला । यो समयमा चिलगाडीको पश्चिममा भन्दा पूर्वमा बढी कमाइ हुँदो हो । सायद त्यही कमाइको लोभले उतै हानिँदा हुन् चिलगाडी । त्यसैले त्यो समयमा तिमीलाई भेट्न आउन मलाई गाह्रो । मन नभएर कहाँ हो 

र ? आउन मन हुँदाहुँदै पनि मन मार्न बाध्य हुन्छु म । सुर्खेतको गर्मीले निस्केका पसिना सुकाउने तिम्रो खुुला वातानुकूलित वातावरणमा आउन कसलाई मन नहुँदो हो र ?

खैर जहाँ भए पनि म त तिम्रो प्रगतिमा रमाउने, भलो चिताउने मान्छे । तिम्रो चौतर्फी विकास होस् भन्ने चाहने मान्छे । तिम्रो झिनो परिवर्तनले पनि प्रफुल्लित हुने मान्छे । प्रत्यक्ष तिमीसँग भेट्न नपाए पनि तिम्रो हालखबर त म लिई नै रहेको हुन्छु । तिम्रो सञ्चोविसञ्चो सबै कुराको जानकारी रहन्छ मलाई । तिम्रो खुसीमा हाँस्छु र तिम्रा दुःखमा रुन्छु पनि । तिमीमाथि कतै अत्याचार भयो भने साह्रै बेचैन हुन्छु । तिमीले भात खान नपाउँदा, चाडबाडमा नयाँ लुगा फेर्न नपाउँदा, बालबच्चालाई उच्च शिक्षा दिन नपाउँदा, खडेरीमा पर्दा, वर्षात्मा पर्दा, बाढीपहिरोमा पर्दा मलाई साह्रै पीडा हुन्छ । तिमी भोकै भएको समाचार आउँदा मन रुन्छ । तिम्राबारेमा लेखिएका नकारात्मक समाचारले मेरो मन कुड्याउँछ । तिम्रा फोहोरी तस्बिर र नकारात्मक समाचार अरूका कमाइखाने अस्त्र बनेको म सहन सक्तिनँ । तिमीलाई के थाहा, यहाँ त तिम्रा बालबालिकाको नाकको सिँगान र तिम्रा फुटेका पैतालाको व्यापार हुन्छ । त्यसैले तिमी यी सबै कुरामा सचेत हुनैपर्छ, डियर हुम्ला । 

आज म खुसी छु । किनभने तिम्रा बालबालिकाले पढेर योग्यताको प्रमाणपत्र बोकेका छन् । लोकसेवा लड्नका लागि फाराम पनि भरेका छन् । लोकसेवा पास नगरी जागिर खान पाइन्न भन्ने थाहा पाएका छन् । आफ्नै खुट्टामा उभिन चाहन्छन् । तिम्रा बच्चा सेना प्रहरीको भर्नामा प्रतिस्पर्धा गरी नाम निकालिरहेका छन् । व्यापार, व्यवसाय गरी पैसा कमाउन सक्ने भएका छन् । सदरमुकामबाट गाउँको घरसम्म जान हेलिकप्टर चढ्न सक्ने भएका छन् । तिम्रा छोरी अहिले सेनाको प्रतिस्पर्धामा नाम निकाल्न सफल भएका छन् । बैङ्कमा हाकिम भएका छन् । उद्योगी, व्यापारी भएका छन् । संसद्मा गएर तिमीमाथि परेको अन्यायका लागि बोल्ने भएका छन् । राजनीतिक चुनावमा पुरुषसँग प्रतिस्पर्धामा जितेका छन् । विदेशीसँग खेल खेल्न सक्ने भएका छन् । कुनै पनि कुरामा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । यो नै तिम्रो प्रगति हो । तिम्रो जित हो । मैले मात्र नभई सबैले गर्व गर्ने किसिमको प्रगति हो, डियर हुम्ला ।

तिमी त छोरीलाई घरभन्दा बाहिर जानु प-यो भने रोक लगाउँथ्यौ । स्कुल जान हुन्न भन्थ्यौ । छोरीले पढ्न हुन्न भन्थ्यौ । छोरीले घरको काम सिक्नुपर्छ नत्र अर्काको घरमा गाह्रो हुन्छ भन्थ्यौ । मर्दसँग बोल्दा आँखा तल झुकाएर बोल भन्थ्यौ । मर्दले खेल्ने खेल नखेल भन्थ्यौ । परपुरुषसँग नबोल भन्थ्यौ । कतै जाँदा भाइलाई साथी लिएर जाऊ भन्थ्यौ । हातमा बाला र खुट्टामा कल्ली लगाएर बस भन्थ्यौ । खुट्टा छोप्ने गुन्यू लगाएर बस भन्थ्यौ । टाउका उघारो नराख भन्थ्यौ । छुई हुँदा बाहिरै कसैलाई नछोएर बस भन्थ्यौ । भाँडा धुन सिक, घाँस दाउरा गर्न सिक, खाना पकाउन सिक, लुगा धुन सिक, घरव्यवहार सम्हाल्न सिक भन्थ्यौ । त्यो त तिमीले पनि सिकेकी थियौ हैन र ? खै त तिमी बाहिरी दुनियाँसँग लडेर आफ्नो अधिकार लिन सफल भएकी ? त्यही सीपले मात्रै तिमीलाई सुखी र बाहिरी दुनियाँसँग मुकाबिला गर्न सक्ने बनायो त ? तर जमाना फेरियो । साथसाथै तिमी पनि फेरिनु जरुरी नै भइसक्यो, डियर हुम्ला । केही हदसम्म फेरिएकी पनि छौ । 

आजकाल त छोरीलाई माग्न आउने ज्वाइँले नै तिमीलाई सोध्छ, तिम्री छोरीले कति पढेकी छे ? कहाँ काम गर्छे ? के विषय लिएर पढेकी छे ? कति प्रतिशत ल्याएर पास भएकी छे ? सायद यो सुनेर तिमीलाई लाज लाग्न थाल्यो होला आजकाल । अनि त तिमी विवश भएर छोरीलाई स्कुल पठायौ । स्कुल जान रोकी रोकी एक माना दूध दिने गाई पाल्नुभन्दा पढाइलेखाइ गरेर सक्षम बनायो भने छोरी दुई माना दूध किनेर खुवाउन सक्ने क्षमतावान हुन्छे भन्ने बल्ल थाहा पाइछौ । छोरीले पनि बाहिरी दुनियाँसँग मुकाबिला गर्न सक्छ भन्ने बुझिछौ । तिमीले छोरीलाई पढायो भने डाक्टर्नी नभएर डाक्टर, मास्टर्नी नभएर मास्टर, हाकिम्नी नभएर हाकिम बन्न सक्छे भन्ने बल्ल थाहा पायौ । क्या बात डियर हुम्ला, यो देखेर मलाई खुसी लाग्यो । ढिलै भए पनि चेतना आएछ, तिमीलाई साधुवाद ।  सहरका अङ्ग्रेजी बोल्ने स्कुलमा छोरालाई पढायौ । राम्रै ग¥यौ तर त्यो अङ्ग्रेजी पढेको छोरो उतै सहरिया भयो । अङ्ग्रेजी पढेकी बुहारी बिहे ग-यो । तिमीलाई आखिर गाउँकै स्कुलमा पढेकी छोरी नै काम लाग्ने भई । तिम्रो वंश तिम्रो छोराले धाने पनि तिम्रो मुखमा पानी भने छोरीले नै दिने भई हैन त ? अझै पनि ख्याल गर । तिम्री छोरी छुई हुँदा गोठमा नराख । छुई हुँदा छोए कसैलाई पनि केही हुन्न । यो हुनु भनेको सृष्टि हुनलाई सक्षम हुनु हो । फूल फुल्नलाई कोपिला निस्किनुजस्तै हो । तिमी कमजोर नबन । तिमी भनेको सुनको थाली हो, त्यसमा भीख माग्नतिर नलाग । बलियो बन । अझै सक्षम बन ।