• ४ जेठ २०८१, शुक्रबार

त्रिविको ताल्चा खोलियो

blog

काठमाडौँ (गोरखापत्र), जेठ २८ गते । त्रिभुवन विश्वविद्यालयमा १४० दिनदेखि लगाइएका दुईमध्ये एउटा ताला शुक्रबार खोलिएको छ । विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक छुट्टाछुट्टै ताला लगाएर आन्दोलनमा उत्रेका थिए ।

नेपाल विद्यार्थी सङ्घले शुक्रबार ताल्चा खोलेको छ । आन्दोलनका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि ठप्प भएको भन्दै सांसदहरूले समेत विरोध जनाएपछि ताल्चा खोलिएको हो । 

बिहीबार संसद्मा बोल्दै सांसदहरूले तत्काल ताला खुलाउने विषयमा पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । विशेषगरी नेकपा (एमाले)का सांसदले पाँच महिनादेखि ताल्चा लाग्दा पनि समस्या समाधानका लागि पहल नभएको भन्दै गुनासो गर्नुभएको थियो । अन्य विद्यार्थी सङ्गठनले पनि ताल्चा खुलाएर वार्ता तथा छलफलका माध्यमबाट समस्या समाधान गर्न दुवै पक्षलाई दबाब दिएका थिए । 

नेविसङ्घले गत माघ ६ देखि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको थियो । जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि आफँैले दिएको सम्बन्धन आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरिदिएको आरोप लगाउँदै उक्त सम्बन्धन यथावत् राख्नुपर्ने माग नेविसङ्घको छ । सो विद्यार्थी सङ्गठनले आर्थिक अनियमितता गर्नेलाई कानुनी कारबाही हुनुपर्ने तथा विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने पनि माग राख्दै आएको छ । 

सङ्घका अध्यक्ष दुजाङ शेर्पाले आन्दोलन तत्कालका लागि स्थगित मात्रै गरिएको बताउनुभयो । आफूहरूको मागका विषयमा अध्ययन गर्न १५ दिनभित्र उच्चस्तरीय समिति गठन नभए फेरि आन्दोलनमा उत्रने चेतावनी नेविसङ्घले दिएको छ ।