रामकृष्ण बोहरा
बागलुङ, जेठ ५ गते । बाङेचौर खेल मैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।
२५ स्वर्ण, ६ रजत र १० कांस्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड जितेको हो । खेलमा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।
यस्तै, ११ स्वर्ण, १५ रजत र ९ कांस्य पदक जितेर २५ अंक जोडेको बडिगाड गाउँपालिका प्रतियोगिताको उपविजेता बनेको छ । २४ अंक जोडेर जैमिनी नगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । जैमिनीले ७ स्वर्ण, १० रजत र ७ कांस्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय सचिव राजेश बास्कोटाले जानकारी दिनुभयो ।
जिल्लाका दशवटै पालिकामा खेल सम्पन्न भएपनि जिल्ला स्तरीय प्रतियोगितामा बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम सहभागि थिए । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउनेछन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्टका खेल भएका थिए ।
प्रतियोगितामा काठेखोला र गलकोट नगरपालिकाले समान २० अंक जोडेर चौथो भए । काठेखोलाले ३ स्वर्ण, ४ रजत र १३ कांस्य पदक जित्दा गलकोट नगरपालिकाले ५ स्वर्ण, ५ रजत र कांस्य पदक जित्न सफल भयो । प्रतियोगिता ढोरपाटन नगरपालिकाले एउटा पनि स्वर्ण पदक जित्न सकेन । ढोरपाटनले कराँतेमा १ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जित्यो ।
प्रतियोगिताको आर्कषक खेलका रुपमा रहेको भलिबल खेलमा गलकोट र जैमिनीले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताको विजेता टोली बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले शिल्ड प्रदान गर्नुभएको थियो । बजेट अभाव झेलिरहेको खेलकुद विकास समितिले बागलुङका स्थानीय तहहरुको सहकार्यमा प्रतियोगिता गरेको हो ।