राष्ट्रकवि माधव घिमिरे मूलतः कवि हुन् । विसं १९९२ असोज १६ को गोरखापत्रमा माधव घिमिरेको ‘ज्ञानपुष्प’ शीर्षकको कविता प्रकाशन भएको थियो । यही कविता प्रकाशनसँगै उनको साहित्यिक यात्रा प्रारम्भ भएको थियो । घिमिरेले कविता, खण्डकाव्य, बालकविता, गीत, गीतिनाटक, निबन्ध, कथा आदि साहित्यका विभिन्न विधामा कलम चलाएर विशिष्टता हासिल गरेका छन् । बहुमुखी प्रतिभाका धनी घिमिरेले १४ वर्षको उमेरदेखि २०७७ साल भदौ २ सम्म नेपाली साहित्यको निरन्तर सेवा गरेर विशिष्ट योगदान दिएको पाइन्छ । उनका ‘नवमञ्जरी’ (१९९४), ‘चैत–वैशाख’ (२०६०) कवितासङ्ग्रह, ‘पापिनी आमा’ (२०१३), ‘गौरी’ (२०१५), ‘राष्ट्रनिर्माता’ (२०२३), ‘धर्तीमाता’ (२०३०), ‘इन्द्रकुमारी’ (२०५७),
‘बोराको पर्दा’ (२०५७), ‘गौँथली र गधम्मे’ (२०५७) खण्डकाव्यहरू, ‘घामपानी’ (२०१०), ‘बाललहरी’ (२०२६), ‘सुखपङ्खी चरी’ (२०५३), बालकवितासङ्ग्रह, ‘नयाँ नेपाल’ (२०१३), ‘किन्नर–किन्नरी’ (२०३३) गीतसङ्ग्रहरू, ‘शकुन्तला’ (२०३८), ‘मालती मङ्गले’ (२०३९),
‘विषकन्या’ (२०५०), ‘अश्वस्थामा’ (२०५३), ‘हिमालपारि हिमालवारि’ (२०५४), ‘देउकी’ (२०५५) र ‘बालकुमारी’ (२०६१) गीतिनाटकहरू,
‘आफ्नो बाँसुरी आफ्नै गीत’ (२०३०), ‘चारुचर्चा’ (२०५०) निबन्धसङ्ग्रह, ‘मनाचिन्ते मुरली’ (२०५७), कथासङ्ग्रह र ‘नाथानन्द’ (२००२), ‘देवी स्तुति’ (२०५९) अनूदित कृति जस्ता अनेकौँ कालजयी कृतिद्वारा नेपाली साहित्य भण्डार भरिपूर्ण छ ।
घिमिरे मूलतः कविता, गीतिनाटककार, गीतकार र निबन्धकार हुन् तर कविताको मध्यम आकार मानिने खण्डकाव्यका क्षेत्रमा खण्डकाव्यकार घिमिरेको विशिष्ट योगदान रहिआएको देखिन्छ । खण्डकाव्यकार घिमिरेका विभिन्न खण्डकाव्यमध्ये ‘राजेश्वरी’, ‘गौरी’, ‘राष्ट्रनिर्माता’ र ‘धर्तीमाता’, ‘पापिनी आमा’ हुन् । ती सबै खण्डकाव्यमा कवि घिमिरेको खण्डकाव्यकारिता विशिष्ट प्रकारको रहेको देखिन्छ । विसं २०१७ मा प्रकाशित ‘राजेश्वरी’ खण्डकाव्यले भने अद्वितीय विशिष्टता ग्रहण गरेको छ । राजेश्वरी नेपालका राजा रणबहादुर शाहकी जेठी रानी हुन् । उनको जन्म गुल्मीको राजकुलमा भएको थियो । प्राणपति परायण तर सधैँ पतिबाट उपेक्षिता सन्तानहीना थिइन् । गीर्वाणकी धर्मकी आमा उदार हृदय भएकी तर दरबारिया षड्यन्त्रले हेलम्बुमा बस्न बाध्य पारिएकी थिइनर । नेपालको सुनौला सपना देखे पनि २५ वर्षको कलिलो उमेरमा लोग्नेसँगै सती जान बाध्य भएकी नेपालकी राजमाता राजेश्वरीको जीवनशैली सरल भएर पनि जटिल र मार्मिक छ ।
गुल्मीको धुलामा, वसन्तपुरको दरबारमा काशीको तीर्थस्थलमा र हेलम्बुको एकान्तमा छरिएका राजेश्वरीको चित्रगाथा विद्वान्हरूका कलममा, जनसाधारणका लोकगीतमा र गाइनेका कर्खामा बाँधिएका छन् । महान् र मार्मिक नभईकन कुनै चरित्रले यसरी जनताको हृदयसम्म जरा हाल्दैनन् भनी खण्डकाव्यकार घिमिरेले राजेश्वरीका सम्बन्धमा आफ्नो भनाइ राखेको पाइन्छ । अतीतको पुण्य गाथालाई खण्डकाव्यकार घिमिरेले नेवारीमा चर्चित लोकगीत ‘सती विज्याय माला’ लाई आधार बनाएर राजेश्वरी हेलम्बुमा निर्वासित भएदेखि बागमतीमा सती गएसम्मको मर्ममधुर जीवनको शेष अंशसँग सम्बन्ध राखेको खण्डकाव्यकार घिमिरेले उल्लेख गरेको पाइन्छ । इतिहासका अन्य कुरालाई केवल चरित्र नायिकाको स्वभाव र प्रवृत्तिका निम्ति उपयोग गरेको कुरा खण्डकाव्यकार घिमिरेले राजेश्वरीको भूमिका उल्लेख गरेका छन् । राजेश्वरीको सम्पूर्ण जीवन देखाउने आफ्नो उद्देश्य नभएको उल्लेख गर्दै घिमिरेले यस खण्डकाव्यमा राजेश्वरीलाई हेलम्बुमै एकाङ्गी जीवन बिताउन किन दिइएन भन्ने प्रश्न गरेका छन् । घिमिरेको दृष्टिमा सृष्टिको माधुर्यले मानिसलाई एकान्तमा पनि घेरेको हुन्छ । हिमालका फूलहरू आफैँ परिपूर्ण भएर फुल्छन् । सृष्टिको स्वभाव नै यस्तै हुन्छ । यस सुन्दर संसारमा मानिस सधैँ बाँच्न चाहन्छ । किनभने मानिसको जीवन कर्मको निम्ति, प्रेमको निम्ति आखिर जीवनकै निम्ति हो । तसर्थ, जीवनमा मानिसले प्रेम चाहन्छ । प्रेम पाइँदैन भने पनि मानिसले आफ्नो कर्तव्य गरि नै रहनु पर्छ भन्ने मान्यता खण्डकाव्यकार घिमिरेले यस खण्डकाव्यमा प्रस्तुत गरेका छन् । मानिसले आफ्नो जीवनमा कर्म नपाए पनि जीवनकै निम्ति जीवन मानिसले बिताउन सक्नु पर्छ । किनभने जीवनबाहिर मानिसले केही सोच्न र गर्न सक्दैन । मानिसको जीवनलाई लिने अधिकार जीवन दिनेलाई मात्र हुन्छ तर अरूलाई हुँदैन । ‘राजेश्वरी’ खण्डकाव्यमा निष्ठुरहरूले हेलम्बुमा एकाङ्गी जीवन बिताइरहेकी राजेश्वरीलाई अपहरण गरेर वैशाखको टन्टलापुर घाममा बागमती किनारको चितामा लिई जबरजस्त जलाउँछन् । यही अमानवीय प्रवृत्ति र असभ्यतामाथि खण्डकाव्यकार घिमिरेले व्यङ्ग्य प्रहार गरेका छन् । खण्डकाव्यको इतिहासमा घिमिरेको यो कालजयी खण्डकाव्य हो । विभिन्न अलङ्कार प्रयोग गरेर लेखिएको यो खण्डकाव्यले नेपाली जनमानसको मार्मिक जीवनको सेरोफेरोलाई प्रस्तुत गरेको छ ।
खण्डकाव्यकार माधव घिमिरे नेपाली खण्डकाव्यका क्षेत्रका एक सशक्त प्रतिभा हुन् । उनका नौ वटा खण्डकाव्यमध्ये ‘राजेश्वरी’ खण्डकाव्यमा खण्डकाव्यकार घिमिरेले नेपालको इतिहासमा नारीवर्गले भोग्नु परेका वास्तविक पीडाहरूको उजागर गर्ने सन्दर्भमा खण्डकाव्यको शीर्षक ‘राजेश्वरी’ चयन गरेका छन् । राजेश्वरी कसैको आँखामा राखे पनि नबिझाउने सबै नेपाली जनताका लोकप्रिय रानी थिइन् तर लोग्ने र सौताको षड्यन्त्रकी सिकार बनेर हेलम्बुमा फ्याँकिएकी थिइन् । यी निर्दोष रानीलाई निष्ठुरहरूले दरबारमा बस्न त दिएनन् तर दरबारबाट निकालेर वनबास जाँदा पनि उनलाई बाँच्न दिएनन् । यही सन्दर्भलाई जोडेर खण्डकाव्यकार घिमिरे भन्छन्–
मान्छेबाट नकाट्, सुख–दुःखको यौटा पनि यो क्षण
सारा सृष्टि सिँगार्छ इन्द्रधनुको यौटै पनि यो कण ।
(घिमिरे, २०५० ः ४०)
राजेश्वरी नारी पीडाको प्रतिनिधि नारी पात्र हुन् । नारीको महिमागान पूर्वीय र पश्चिमी मुलुकमा र देवलोक एवं मानव लोकमा जे जति गरे पनि यथार्थमा नारीवर्गले भोग्दै आएका पीडा अनन्त छन् । विभिन्न कालखण्डमा नारी पीडाका सुसेलीहरू प्रस्फुटित भइरहन्छन् तर तिनलाई बुझ्ने र ग्रहण गर्ने मानव चेतना आज संसारभरि थोरै भेटिन्छन् । पश्चिमी सभ्यताभन्दा पूर्वीय सभ्यतामा यद्यपि नारीको स्थान उच्च छ भनिए पनि यथार्थमा निम्नस्तरका पीडाहरू नारीवर्गले घर, समाज आदि विभिन्न क्षेत्रमा भोग्दै आएका छन् । यही वास्तविकतालाई जनसमक्ष प्रस्तुत गर्ने उद्देश्यले खण्डकाव्यकार घिमिरेले आफ्ना विभिन्न खण्डकाव्यमा नारीलाई प्रमुख पात्र बनाएको पाइन्छ । ‘गौरी’, ‘पापिनी आमा’, ‘इन्द्रकुमारी’ जस्ता खण्डकाव्यमा खण्डकाव्यकार घिमिरेले नारीका पीडालाई ध्वनित गरेका छन् ।
‘धर्तीमाता’ खण्डकाव्यमा भने प्रकृतिलाई मानवीकरण गरी कविले धर्तीलाई पनि आमा समान मानेका छन् । नारी पीडाको चरम उत्कर्षका रूपमा खण्डकाव्यकार घिमिरेले ‘राजेश्वरी’ खण्डकाव्य रचना गरेका छन् । यो खण्डकाव्यमा एउटा असहाय नारी; जसले बाँच्दासम्म लोग्ने र सौताको अत्याचार सहनु प¥यो । आफूलाई माया नगरेर घरबाट निकाला गर्ने निष्ठुर लोग्ने (रणबहादुर शाह) मरेपछि उनैका लागि जबरजस्ती सती जानु परेको अत्यन्त पीडादायी कथा यस काव्यमा प्रस्तुत गरिएको छ । राजेश्वरीको विरह वेदनाले जुनसुकै पाठकलाई द्रविभूत बनाइदिन्छ । खण्डकाव्यकार घिमिरेको अर्को नाम करुण रस हो । उनका गीत र कविताले मानिसलाई आँसुको सागरमा डुबाइदिन्छन् । अझ संस्कृत साहित्यका महाकवि कालीदासले झैँ मन्दाव्रmान्ता छन्दलाई नचाउन सक्ने क्षमता नेपाली साहित्यमा माधव घिमिरेभन्दा अरू कसैले प्राप्त गर्न सकेका छैनन् । घिमिरे रसवादी कवि हुन् । उनको करुण रसले सबैलाई रुवाउँछ । जसरी आफ्नी धर्मपत्नी गौरीको स्वर्गारोहणका कारण खण्डकाव्यकार घिमिरेले गौरी शोककाव्य रचना गरी सबैलाई रुवाए; त्यसै गरी राजेश्वरी ऐतिहासिक खण्डकाव्यको रचना गरी उनले सबैलाई रुवाएका छन् ।
खण्डकाव्यकार घिमिरे शास्त्रीय छन्दमा कविता रच्ने कवि भएको हुँदा प्रस्तुत राजेश्वरी खण्डकाव्यमा पनि घिमिरेले शास्त्रीय छन्द प्रयोग गरेका छन् । तसर्थ, लयविधानका दृष्टिले यो काव्य अत्यन्त सुन्दर छ । समान वर्ण, मात्रा, गति, यति, लय, अनुतान, आरोह, अवरोह आदि लयविधान अन्तर्गत पर्छन् । यस दृष्टिले हेर्दा यस खण्डकाव्यमा खण्डकाव्यकार घिमिरेले शार्दूलविव्रmीडित, शिखरिणी छन्द प्रयोग गरेका छन् । त्यसैले पनि लयविधानका दृष्टिले यो खण्डकाव्य अत्यन्त उत्कृष्ट छ । खण्डकाव्यमा खण्डकार घिमिरेले लयविधानको नियमलाई ठिक ठिक प्रकारले पालना गरेका छन् ।
कविता वा काव्यमा पनि कविले काव्यको सौन्दर्य बढाउन विभिन्न अलङ्कार प्रयोग गरेको पाइन्छ । शब्दका तहमा देखिने अलङ्कारलाई शब्दालङ्कार भनिन्छ । अर्थका तहमा देखिने अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । यमक, रूपक र श्लेष गरी शब्दालङ्कार तीन प्रकारका हुन्छन् तर अर्थालङ्कार धेरै हुन्छन् । शब्दालङ्कारका दृष्टिले हेर्दा ‘राजेश्वरी’ खण्डकाव्यको सुरुदेखि अन्त्यसम्मका प्रत्येक पाउमा अन्त्यानुप्रसाद मिलेको छ । त्यसैले शब्दालङ्कारका दृष्टिले यो काव्य अत्यन्त सुन्दर छ ।
संवाद खण्डकाव्यको महŒवपूर्ण तŒव हो । संवादकै कारणले काव्य वा खण्डकाव्य जीवन्त बन्दछ । ‘राजेश्वरी’ खण्डकाव्यमा संवाद योजनालाई नियाल्दा अत्यन्त उत्कृष्ट संवादको प्रयोग गरिएको छ । यसरी प्रस्तुत खण्डकाव्यमा खण्डकाव्यकार घिमिरेले रानी राजेश्वरी र राजदूतहरूका बिच जीवन्त संवादको प्रयोग गरेका छन् । संवादको दृष्टिले हेर्दा पनि यो खण्डकाव्य विशिष्ट प्रकारको मानिन्छ ।
विरह र वेदनाका गायक कवि घिमिरेले आफ्ना सबै जसो कृतिमा मानवीय पीडा र प्रेमका कुरा लेखेका छन् । ‘राजेश्वरी’ खण्डकाव्यले पनि मानवतावादको उच्च वकालत गरेको छ । राजेश्वरी गुल्मीको राज खानदानमा जन्मिएकी राजकन्या हुन् तर उनको विवाह सन्की राजा रणबहादुर शाहसँग भएको थियो । यसका कारण उनले धेरै दुःख भोग्नु प-यो । सौताहरू र लोग्नेकै षड्यन्त्रमा घरनिकाला बन्नु प¥यो । अन्तिममा वनबासिनीसमेत बन्नु प-यो तर वनबासमा पनि उनलाई निष्ठुरहरूले बाँच्न दिएनन् । जबरजस्ती जिउँदै निर्मोही लोग्नेसँग सती जान बाध्य बनाए ।
प्रस्तुत खण्डकाव्यले नारीहरू प्रेम, करुणा र पीडाका सागर हुन् । उनको सहनशीलता, धैर्य र शालीनता सबैका लागि जीवन जिउने प्रेरणास्रोत बन्दछ भन्ने मूल सन्देश राजेश्वरीको सङ्घर्षशील जीवनबाट पाउन सकिन्छ । निष्कर्षमा भन्नु पर्दा आजको २१ औँ शताब्दीमा पनि नारी पीडाका स्वरूपहरू उत्तिकै प्रखर बन्दै आएका छन् । मानवता नै यस खण्डकाव्यको मूल सन्देश हो । छन्द, अलङ्कार आदि विभिन्न दृष्टिले सर्वोत्तम खण्डकाव्यकार घिमिरेको यो प्रसिद्ध खण्डकाव्य हो ।