• ३१ वैशाख २०८१, सोमबार

उच्च पदस्थको खाता निगरानीमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २७ गते । नेपाल राष्ट्र बैङ्कले उच्च पदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैङ्क खाता निगरानी गर्न निर्देशन दिएको छ । बैङ्क तथा वित्तीय संस्थालाई दिइएको उक्त निर्देशनमा निगरानीका क्रममा शङ्कास्पद देखिएका ती व्यक्तिको बैङ्क खाताबारे जानकारी राष्ट्र बैङ्कलाई दिनसमेत भनिएको छ ।

राष्ट्र बैङ्कले एकीकृत परिपत्र–२०७८ मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नेसम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

संशोधित व्यवस्थामा ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापकीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतका न्यायाधीश वा सोभन्दा माथिल्लो तहका न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरका राजनीतिक दलका केन्द्रीय पदाधिकारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्ता जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

यस्ता व्यक्तिको खातामा निगरानी गर्न र शङ्कास्पद देखिएमा जानकारी गराउन राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसैगरी कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिन सक्ने अधिकारीको खातासमेत निगरानीमा राख्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।