पूर्वी नेपालको सप्तकोशी नदी किनारमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थल बन्दै आएको छ । जैविक विविधताले भरिपूर्ण आरक्षमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा आउने गरेका छन् । मुलुककै पहिलो रामसार क्षेत्रमा सूचीकृत आरक्षमा पाइने स्थल, जलीय र नभीय जैविक विविधता विचरण गर्न पर्यटक आउने गरेका हुन् ।
कोशी नदी उकास क्षेत्रको १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष चरा र अर्नाका लागि प्रसिद्ध मानिन्छ । दुर्लभ जङ्गली भैँसी (अर्ना) संरक्षणका लागि विसंं २०३२ मा स्थापना गरिएको आरक्षमा विश्वमै अर्ना धेरै पाइने भारतकोे काजिरङ्गापछि कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने गरेको छ । चराको स्वर्ग मानिने आरक्षमा विश्वमै दुर्लभ अवस्थामा रहेका चरासमेत देख्न सकिन्छ । विश्वमै अति दुर्लभ मानिएका देवहाँस, राजगरुड, भुँडीफोर गरुड र सिम तित्रा जस्ता सिमसार क्षेत्रमा मात्र पाइने नौ प्रजातिका चरा कोशीटप्पुमा पाइने गरेका छन् । आन्तरिक र बाह्य देशबाट बसाइँसराइ गरेर आएका चरा टप्पु क्षेत्रका सिम क्षेत्र, घाँसे मैदान र ताल, पोखरीमा विचरण गरेको दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।
कोशी र मधेश प्रदेशको सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको आरक्ष क्षेत्रको दुई तिहाइ भाग नदीतटीय जङ्गल रहेको छ । आरक्षमा खयर, साल तथा सिसौलगायतका वनस्पति प्रशस्त मात्रामा देख्न सकिन्छ । यही जङ्गल र घाँसे मैदानमा लोपोन्मुख अवस्थामा रहेका अर्ना, ५३५ प्रजातिका चरा र अन्य २० प्रकारका सानाठुला जनावर पाइन्छन् । हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावर आरक्षका जङ्गलमा सजिलै देख्न सकिन्छ । ५०२ प्रकारका सपुष्षक, ४० प्रजातिका स्तनधारी जनावर, ७७ प्रजातिका पुतली, १४१ प्रजातिका माछा, ५७ प्रजातिका ढाड नभएका जनावर, १८ प्रकारका जडीबुटी, ३३ प्रकारका डालेघाँस, २२ प्रकारका खानयोग्य वनस्पति र १२ प्रकारका उन्यु आरक्ष क्षेत्रमा पाइने आरक्ष कार्यालयले जनाएको छ । पारिस्थितिकीय र जैविक विविधताको प्रचुरताले कोशीटप्पु वन्यजन्तु आरक्षको पर्यापर्यटन व्यवसायको प्रवर्धन, विकास र विस्तारमा टेवा पु-याउँदै आएको छ ।
अर्नाको वासस्थान कोशीटप्पु
अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालको एक मात्र अर्ना पाइने स्थानका रूपमा परिचित छ । बोभिडेई परिवार अन्तर्गत पर्ने लोपोन्मुख जङ्गली भैँसीको पुख्र्याैली वासस्थान भारतको आसामस्थित काजिरङ्गा मानिन्छ । टप्पु क्षेत्रको वातावरण अर्नाका लागि अनुकूल भएकाले अर्नाको सङ्ख्या बढ्दो छ । ओसिलो घाँसे मैदान, धापिलो क्षेत्र र बाक्लो जङ्गल क्षेत्रको समतल भूभागमा पाइने अर्ना सहजै रूपमा आरक्ष क्षेत्रमा देख्न सकिने हुँदा आन्तरिक र बाह्य पर्यटक अर्ना हेर्न आउने गरेको आरक्ष कार्यालयले जनाएको छ । स्थानीय घरपालुवा भैँसीभन्दा फरक किसिमको शारीरिक संरचना भएको राँगाको भैँसीभन्दा ठाडा सिङ, खराने खैरोदेखि कालो छाला र घाँटी, मुख, आँखा र घुँडाका घेरामा सेता धर्सा भएका हुन्छन् । संरक्षण गर्दा ६३ वटा अर्नाको सङ्ख्या रेकर्ड गरिएको आरक्षमा हाल पाँच सयभन्दा बढी सङ्ख्यामा अर्ना पाइन्छन् । आइयुसिएनले विश्वमै खतरामा परेको प्रजातिको रातो सूचीमा सूचीकृत गरेको अर्ना टप्पुमा सहजैसँग देख्न सकिन्छ । आरक्षबाट मुलुकका विभिन्न स्थानमा अर्नाको संरक्षणका लागि लगिए पनि प्राकृतिक वातावरण अनुकूल नहुँदा कोशीटप्पुमा जस्तो अर्नाको वृद्धि विकास नभएको बताइन्छ । आरक्षको प्रतिनिधित्व गर्दै आएको अर्नाले टप्पु क्षेत्रको पर्यटन प्रवर्धन गर्दै आएको छ ।
चराको स्वर्ग
विश्वमै सबैभन्दा बढी किसिमका चरा पाइने सूचीमा नेपाल पनि पर्दछ । नेपालभित्र पनि कोशीटप्पु वन्यजन्तु आरक्ष चरा पारखीका लागि स्वर्ग मानिन्छ । कोशीटप्पुमा आन्तरिक र बाह्य देशबाट समेत चराको अवलोकन, अध्ययन र अनुसन्धान गर्न पर्यटक आउने गरेका छन् । नेपालमा पाइने चरा मात्र नभई विदेशी चरा पनि टप्पुमा देख्न सकिने हुँदा पर्यटकको रोजाइ कोशीटप्पु वन्यजन्तु आरक्ष बन्ने गरेको छ । मौसम अनुसार आन्तरिक र बाह्य चरा बसाइँसराइ गरेर कोशीटप्पुसहित तराईका सिम क्षेत्रमा आउने गरेका छन् । चरा बसाइँ सरी आउने क्षेत्रका रूपमा आरक्ष एसिया महादेशमै प्रसिद्ध स्थल मानिन्छ । नेपालको पहाडी र हिमाली क्षेत्रदेखि हिमालपारिका देश साइबेरिया, रसिया, ताजाकिस्तान, तान्जानिया, चीनलगायतका देशबाट बसाइँ सरेर चरा आउने गरेका छन् । आरक्ष क्षेत्रभित्र चराका लागि उपयुक्त वातावरण भएकैले चरा बसाइँ सरी आउने गरेको चराविज्ञ बताउँछन् । चराविज्ञ अनिश तिम्सिनाका अनुसार नेपाल र नेपाल बाहिरबाट मौसम अनुसार बसाइँसराइ गरी १६० प्रजातिका चरा टप्पु क्षेत्रमा आउने गरेका छन् ।
विश्वमा नै दुर्लभ मानिएका चरचुरुङ्गीका प्रजाति पाइने यस आरक्षमा हाँस प्रजाति, जलचर प्रजातिलगायतका पन्छी पाइने गरेका छन् । आरक्षमा पाइने ठुलो धनेश, स्वाम्प प्याराडाइज, फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चरा अन्तर्गत पर्छन् । बिहानीपखदेखि साँझसम्म देखिने विभिन्न प्रजातिका चराको दृश्यावलोकनले आरक्ष क्षेत्रमा जोकोहीको मन लोभ्याउन सक्छ ।
लोपोन्मुख खरमजुर
विश्वमै सङ्कटापन्न अवस्थामा रहेको खरमजुर कोशीटप्पु वन्यजन्तु आरक्षमा तीन दर्जनभन्दा बढी रेकर्ड गरिएको छ । घाँसे मैदानमा आफ्नो जीवनचव्रm पूरा गर्ने विश्वकै एक दुर्लभ चरा खरमजुर नेपालमा ८० देखि एक सयको सङ्ख्यामा रहेको चराविज्ञ बताउँछन् । नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित पन्छीमा रहेको खरमजुर विश्वकै लोपोन्मुख प्रजातिमा पर्छ । चरा हेर्न आउने बाह्य पर्यटकका लागि कोशीटप्पुमा आकर्षकको केन्द्र खरमजुर पनि बन्दै आएको छ ।
आरक्ष क्षेत्रमा दुर्लभ माछा
कोशीटप्पु वन्यजन्तु आरक्ष नदीतटीय क्षेत्रमा पर्ने भएकाले आरक्षको अर्काे आकर्षणको केन्द्र सप्तकोशी नदीका माछा पनि हुन् । सिम क्षेत्र र टप्पु क्षेत्रभित्र रहेका नदी, ताल, तलाउमा विभिन्न प्रजातिका माछा देख्न सकिन्छ । कोशीटप्पु वन्यजन्तु आरक्षको रेकर्ड अनुसार १४१ प्रजातिका माछा टप्पु क्षेत्रका नदी तलाउमा पाइन्छन् । आरक्ष क्षेत्रभित्र पर्ने नदी तलाउमा लोपोन्मुख प्रजातिका रैथाने माछा पाइने कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादव बताउनुहुन्छ । काटी, बेलौना, कोसियालगायतका माछाका प्रजाति आरक्ष क्षेत्रमा नदी तलाउमा पाइन्छन् । सङ्कटापन्न अवस्थामा रहेका सोँस (डल्फिन) सप्तकोशी नदीमा पाइने गरेको छ । स्वच्छ पानीको जलकुण्डमा बस्न रुचाउने सोँस नेपालका कोशी, कर्णाली र नारायणी नदीमा मात्रै पाइन्छन् । दुर्लभ गङ्गेटिक प्रजातिको सोँस नेपाललगायत भारतको गङ्गा नदी, पाकिस्तानको सिन्ध नदी र दक्षिण अफ्रिकाको ब्राजिलमा रहेको अमेजन नदीमा पाइने बताइन्छ । गर्मी समयमा पानीभित्रै बस्ने डल्फिनलाई साँझ र बिहानको समयमा पानीमा विचरण गरेको देख्न सकिन्छ । नेपालका नदीमा कम हुँदै गएको सोँस हेर्न र यसबारे अध्ययन अनुसन्धान गर्नका लागि टप्पु क्षेत्रमा मानिस आउने गरेका छन् ।
सङ्कटापन्न मलाहा बिरालो
विश्वमका थोरै मुलुकमा मात्रै पाइने मलाहा (पानी बिरालो) कोशीटप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइन्छ । आरक्ष क्षेत्रभित्र सिम क्षेत्रनजिक जङ्गल, नदीतटीय घाँसे मैदान, पोखरी, नदीको किनार, तलाउ वरिपरिको क्षेत्रमा पाइने मलाहा बिरालो पनि विश्वमै सङ्कटापन्न अवस्थामा रहेको छ । नदीतटीय क्षेत्रमा मात्रै पाइने दुर्लभ पानी बिरालो नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष, रामधुनीको सुनसरीखोला क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल र बारा जिल्लालगायतका सिम क्षेत्रतिर न्यून सङ्ख्यामा पाइन्छ । पारिस्थितिक प्रणालीमा मलाहा बिरालो महìवपूर्ण भूमिका खेल्ने संरक्षणकर्मी बताउँछन् ।
माटेखैरो रङको भुत्लामा ससाना कालो थोप्लाले भरिएको यो बिरालोको टाउको डल्लो, खुट्टा छोटा भए पनि शरीर ठुलो देखिन्छ । मोटो पुच्छर र बाक्लो रौँ हुने भएकाले सामान्य रूपमा पौडनसमेत सक्ने पानी बिरालोको आँखा धेरै चम्किलो हुने हँुदा यसले अँध्यारोमा खोला, पोखरी, सिम क्षेत्र र नदी क्षेत्रका माछाको सिकार गर्ने गरेको छ । मलाहा बिरालोलाई आइयुसिएनको रातो सूचीमा, विश्वव्यापी रूपमा संवेदनशील सूचीमा र नेपालमा सङ्कटापन्न सूचीमा सूचीकृत गरिएको छ । बिरालो अवलोकन, अध्ययन र अनुसन्धान गर्न पर्यटक र अध्येता कोशीटप्पु आउने गरेका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षको अधिकांश क्षेत्र सिम क्षेत्रमा पर्दछ । सिमसार क्षेत्रकै कारण टप्पु क्षेत्रमा जैविक विविधता, चव्रmीय पारिस्थितिक पद्धति पाइने गरेको छ । कोशी नदीतटीय क्षेत्रमा रहेको आरक्ष सिम क्षेत्र भएकाले जनावर र चराको वासस्थानका लागि यहाँको वातावरण अनुकूल रहेको चराविज्ञ डा. हेमसागर बराल बताउनुहुन्छ । जमिन र पानीको वातावरण मिलेको आरक्षमा सप्तकोशी नदीसहित ठुला पोखरी, तलाउ, ताल, दह, दोभान र जलाशय रहेका छन् । रामसार सूचीमा सूचीकृत भएको नेपालकै पहिलो सिमसार क्षेत्र आरक्षमा दुई सयभन्दा बढी तालतलैया छन् । सिम क्षेत्रले जैविक विविधताको संरक्षण, जलवायु सन्तुलन राख्नुका साथै मानव जीवनमा महìवपूर्ण भूमिका खेल्ने बताइन्छ । आरक्षका जैविक र अजैविक तìवको संरक्षण गर्न सबै सरोकारवालाको ध्यान पुग्न आवश्यक छ ।