• १६ चैत २०८०, शुक्रबार

करको दर घटाउने प्रतिबद्धता

blog

पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सम्मान तथा अन्तत्र्रिmया कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यसहितका जनप्रतिनिधि । तस्बिर : सन्तोष सुवेदी

कास्की समाचारदाता

कास्की, जेठ २७ गते  । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, रूपा गाउँपालिका प्रमुख नवराज ओझा, माछापुच्छे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षलाई सम्मान गरेको छ । 

कास्कीका सबै पालिकाका प्रमुख र उपप्रमुख तथा पोखराका ३३ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेन्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । 

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वकार्यसमिति सदस्यसमेत रहनुभएका पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा महानगरको सबैभन्दा ठूलो चुनौती नै सुशासन कायम गर्नु रहेको बताउनुभयो । उहाँले आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने र सुशासनका सबै सूचकाङ्क पालना गरिने जानकारी दिनुभयो ।

करका दर अव्यावहारिक र चर्को भएको भन्ने व्यवसायीको गुनासो सुनेपछि उहाँले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजस्वको दायरा बढाउँछौँ, जग्गाको मूल्याङ्कनमा पुनर्विचार गरिन्छ तर करको दर घटाएपछि राजस्व बढाउने ठाउँ देखाउने काममा निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।” उहाँले नागरिकको दैनिक जीवन सजिलो र सस्तो बनाउने योजना रहेको बताउँदै चुनावी उपक्रममा गरिएका प्रतिबद्धता पूरा गरिने जिकिर गर्नुभयो । 

पोखराको ट्राफिक व्यवस्थापनको योजना बनिरहेको सुनाउँदै उहाँले वरपरका गाउँपालिकाको विकासमा पनि महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही वर्षयता पोखरा महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध तथा दातासँगको सम्बन्ध खासै राम्रो नभएको जिकिर गर्दै उहाँले १२ देशका राजदूत पोखरा आउँदै गरेको जानकारी दिनुभयो । उहाँले तालचोकदेखि बेगनाससम्मको नमुना सडकको टेन्डर खोल्ने तयारी भएको बताउनुभयो ।

मादी गाउँपालिकाका प्रमुख देवीजङ्ग गुरुङले मादीले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको बताउनुभयो । उहाँले सो क्षेत्रका व्यवसायीलाई कृषि र पर्यटनमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा ठूलो व्यवसाय हुने सम्भावना अझै बनेको छैन । कृषि र पर्यटनमा भने सम्भावना छ, आउनुहोस् लगानी गर्नुहोेस्, हामी सघाउँछौंँ ।”  रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैङ्क स्थापना गरेको र त्यही बैङ्कमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी निजी जग्गा भाडामा उपलब्ध गराउँछौँ, पाँचवटा बैङ्कसँग ऋण सम्झौता गरेका छौँ, पुँजी पनि दिन्छौँ र उत्पादित सामान बजारसम्म पु-याउन सघाउँछौँ ।” 

पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरामा बनाउने भनिएको चक्रपथलाई नै ट्राम चल्ने खालको बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ट्राम भनेको सहरी क्षेत्रमा चल्ने रेल नै हो । सङ्घीय सरकारको बजेट वक्तव्यमा पोखरासहितका नगरमा ट्राम सञ्चालनको सम्भाव्यता खोजिनुपर्छ ।” मादी कोरिडरले सो क्षेत्रको सम्भावनाको ढोका खोल्ने भएकाले कोरिडर निर्माणमा सहजीकरण गर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गर्नुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माण, कृषिको व्यावसायीकरणमा लाग्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । फुटपाथको अनधिकृत व्यवसाय रोकिनुपर्ने, ट्राफिक व्यवस्थापन हुनुपर्ने, महानगरले प्रविधिमा आधारित रहेर नागरिकलाई सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।