काठमाडौँ, वैशाख ३१ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेता खनालले बुद्ध दर्शनको गहन अध्ययन गरी त्यसभित्रका सकारात्मक र सान्दर्भिक पक्षलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतमा हुने परिवर्तन, लैङ्गिक समानता, छुवाछुत तथा उच्च र निचको वर्णवादी सिद्धान्त, सामूहिकताको सिद्धान्तजस्ता नीति र सिद्धान्तले समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
बौद्ध दर्शनका अध्येतासमेत रहनुभएका नेता खनालले विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धप्रति सम्मान र श्रद्धा अर्पण गर्दै सम्पूर्ण बौद्धजनलाई शान्ति, सद्भाव र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले किरात समुदायको उभौली पर्वको अवसरमा पनि सम्पूर्ण नेपालीलाई सुख शान्ति तथा समृद्धिको शुभकामना प्रकट गर्नुभयो । रासस